सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई ‘घर पठाउने’ प्रदेश अध्यक्ष थापाको चेतावनी

२०७८ जेठ १२, ०९:१६ कमल सावद

धनगढीः नेकपा एमालेको स्थायी कमिटीले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। तर त्यसको ठीक उल्टो नेकपा एमाले सुदूरपश्चिम संसदीयले सरकारबाट नबाहिरिने निर्णय गरेपछि यहाँको राजनीतिमा तरंग उत्पन्न भएको छ।

संसदीय दलले बुधबार आधिकारिक पार्टीको पत्र नआएको भन्दै समर्थन फिर्ता नलिने निर्णय गरेपछि सुदूरपश्चिमको राजनीतिले थप नयाँ मोड लिएको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता प्रकाश शाहले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकिने बताए।

र्टीको निर्णय सामाजिक सञ्जालमा मात्रै देखेको तर हालसम्म आफूहरु कहाँ नपुगेको र अहिलेको समयमा कोरोना महामारीसँग जुध्न सरकारले आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा रहेकोले सरकारमै रहने प्रतिक्रिया शाहले दिए।

मन्त्री शाहले भने, “सुदूरपश्चिम प्रदेश सभा, नेकपा एमाले संसदीय दलको बैठक सम्पन्न गरेका छौ। संसदीय दलको बैठकमा उपस्थित सम्पूर्ण माननीय सदस्य ज्यूहरुले प्रदेश सरकारको प्रभावकारिता, प्रदेश सरकारको समग्र कामको समीक्षा र प्रदेश सरकारले लिनुपर्ने साहसी निर्णय तथा कदमका बारेमा सुझावसहित सबैले छलफल गरेका छौ। दोस्रो कुरा कोरोना महामारीमा थप प्रदेश सरकारले प्रभावकारी काम गरोस। देखिने गरी काम गरोस भनेर महत्वपूर्ण सुझाव दिएका छौ।”

माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समथर्न फिर्ता नलिने निर्णय गरेसँगै नेकपा एमाले सुदूरपश्चिमभित्र थप राजनीतिक संकट चुलिएको हो। 

संसदीय दलको निर्णयपछि नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापा निकै आक्रोश पोखेका छन्।

यदि आधिकारिक पत्र नआउँदै समर्थन फिर्ता नलिने निर्णय गरिएको हो भने त्यो झुठको खेती भएको उनको भनाइ छ।

उनले दिनेशखबरसँग भने, “त्यो हास्यस्पद कुरा हो। लजास्पद कुरा हो। त्यो झुठको खेती चल्दैन अब। बहुमत भएपछि देखाए भैगो नि। अल्पमत–बहुमत भए निर्णय गरुन् न।

अल्पमत बहुमत हुनका लागि पनि त पहिला एमाले हुनु पर्यो नि। अहिले त एमाले उनीहरु हुन की होइनन् ? एमाले हुन भने त एमालेभित्रको निर्णय हुन्छ। तर एमालेको नेतृत्वमा सरकार बनाउने भन्या छ।

त्यस्का लागि हामीले समर्थन फिर्ता लिएका छौ। त्यसका लागि मन्त्रीहरुलाई फिर्ता बोलाएका छौ। अनि एमालेको नेतृत्वमा सरकार बनाउनेमा एमालेलाई किन आपत्ति ?” 

त्यस्तै, संसदीय दलका नेता शाहलाई इंगित गर्दै अध्यक्ष थापाले अगाडि थपे, “ठीक छ त, घर गएर रहन्छ की, एमाले भएर रहन्छ ?” 

उनले एमाले स्थायी कमिटिको निर्देशनको पालना नगर्ने सुदूरपश्चिम प्रदेश संसदीय दललाई कारबाही गर्ने चेतावनी समेत दिएका हुन्। नेकपा एमालेको विधान अनुसार कारबाही गरिने उनको भनाइ छ।

संसदीय दलको आठौँ बैठकमा निर्णय भएको वा नभएको सर्वप्रथम हेर्ने बताए। उनले भने, “प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका छौ। हामीले सवैभन्दा पहिले फिर्ता लिएपछि मुख्यमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनुपर्ला नि ?”

नेकपा एमालेकै नेतृत्वमा प्रदेश सरकार बनाउन पार्टीले समर्थन फिर्ता लिने निर्णय लिएको समेत उनको भनाइ थियो।

एमालेका २५ जना प्रदेश सभा सदस्य रहेकोमा ६ जना मात्र प्रधानमन्त्री केपी ओली समूहमा खुलेका छन्। बाँकी माधव नेपाल समूहमा देखिन्छन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस