सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाभाइरसको तेस्रो लहर आउने विज्ञहरूको चेतावनी

२०७८ जेठ १२, १२:०० सरेन जैरू

धनगढीः कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त पारिरहेका बेला अब तेस्रो लहर आउने विज्ञहरूले चेतावनी दिएका छन्। 

सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसबाट विश्वसँगै नेपाल पनि नराम्ररी प्रभावित भएको छ। कोरोना महामारीको पहिलो लहर सकिएसँगै अहिले नेपाल र सुदूरपश्चिम प्रदेश दोस्रो लहरको चपेटामा नराम्रोसँग परेको छ। 

सुदूरपश्चिम प्रदेशमा औषतमा दैनिक १० जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाइरहेका छन् भने, दिनहुँ सयौँ संक्रमित थपिने क्रम जारी छ। यसैबीच कोरोना भाइरसको तेस्रो लहर आउने चेतावनी विज्ञहरूले दिइसकेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले पहिलो लहरमा गरिएका लापरवाहीले दोस्रो लहर आएको र सोही लापरवारी फेरी गरिए वा खोप लगाउनमा ढिलाई गरिए तेस्रो लहर आउने सम्भावना रहेको बताए। 

कोरोना भाइरसको पहिलो लहरले वृद्धवृद्धाहरूलाई प्रभावित पारेको थियो भने, दोस्रो लहरमा युवा तथा गरिखाने वर्गहरू बढी प्रभावित भइरहेका छन्। मृत्यु दर पनि युवा वर्गकै धेरै देखिएको छ। 

अब आउने तेस्रो लहरबाट भने बालबालिकालाई धेरै प्रभाव पर्ने विज्ञहरूको अनुमान छ। 

बालबालिकाहरूमा खोप नलाइने भएकाले यो लहरमा उनीहरूलाई बढी जोखिम हुन सक्ने डाक्टर पुनको भनाइ छ।

सुदूरपश्चिम प्रदेशमा कोरोनाको दोस्रो लहर सुरू भएर दैनिक मृत्यु दर र संक्रमण दरसमेत बढिरहेका बेला नियन्त्रणमा प्रदेश सरकारको भूमिका प्रभावकारी देखिएको छैन। यही बेला तेस्रो लहर आए कोरोना नियन्त्रणमा प्रदेश सरकारलाई हम्मे–हम्मे नै पर्ने देखिन्छ। 

विज्ञहरूले कोरोनाको तेस्रो लहर आउने बताएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी थाल्न सुझाएका छन्। तर कोरोनाको जारी दोस्रो लहरमा समेत चित्त बिझ्दो काम गर्न नसकेको प्रदेश सरकारसँग भने तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि कुनै योजना छैन। 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले तेस्रो लहर आएपछि त्यसको व्यवस्थापनतर्फ ध्यान दिने बताए।

'अहिले हामी दोस्रो लहरमा छौँ, दोस्रो लहर रोकथाम तथा नियन्त्रणमा लागिपरेका छौँ।' उनले भने, 'तेस्रो लहर आएपछि त्यसको रोकथामका लागि काम गर्छौँ।' 
कोरोना भाइरसको व्यवहार झन शक्तिशाली भएर नयाँ लहरको रूपमा आउने विज्ञहरूले विश्लेषण गरेका छन्। 

तसर्थ कोरोना भाइरसको प्रभावकारी नियन्त्रणको लागि सबै नागरिकहरूलाई छिटोभन्दा छिटो खोप लगाउनुपर्ने विज्ञहरूको सुझाव छ।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस