सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा २ गाउँपालिकाबीचको विवादले सुदूरपश्चिम सरकारको खानेपानी योजना प्रभावित

२०७८ जेठ ११, ११:३७ नारायण अवस्थी

बैतडी जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण गरिने भनिएको एक खानेपानी योजना निर्माणको कार्य प्रभावित भएको छ।

स्थानीय बासीबीच तथा जिल्लास्थित सुर्नाया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाबीच विवाद चुलिँदा ७० लाख बजेट रहेको धरमघर कमेडापानी लिफ्ट खानेपानी योजना निर्माणको कार्य प्रभावित भएको हो। दोगडाकेदार गाउँपालिकाको कारण आफ्नै वडामा भएको पानीको मुहान प्रयोग गर्नबाट बन्चित हुने अवस्था आएको गुनासो सुर्नाया गाउँपालिका वडा नम्बर ३ का स्थानीयले पोखेका छन्।

बैतडी जिल्लाको सुर्नाया गाउँपालिका वडा नम्बर  ३ मा धरमघर कमेडापानी लिफ्ट खानेपानी योजना सम्पन्न गर्न गत आर्थिक वर्षमा प्रदेश सरकारले ८० लाख बजेट बिनियोजन गरेको थियो। गत वर्ष सो ठाउँमा योजना परेको स्थानीयले समेत थाहा पाएनन्। गत वर्ष काम  हुन नसकेको त्यो ठाउँका लागि  चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले ७० लाख बजेट छुट्याएको छ। तर उपभोक्ता समिति गठन गरेर काम गर्न सम्झौता हुन नपाउँदै दोगडाकेदार गाउँपालिका वडा नम्बर  ३ र ७ का स्थानीयसहित गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बिरोध गर्दा आफ्नै वडामा भएको पानीको मुहान प्रयोग गर्नबाट बन्चित हुने अवस्था आएको सुर्नाया गाउँपालिका वडा नम्बर ३ का स्थानीयले गुनासो गरेका छन्।

“गत वर्ष पनि प्रदेश सरकारले दिएको बजेट फिर्ता भएको हो। हाम्रो गाउँमा खोपानीको निकै समस्या छ। पानीको मुहान पनि हाम्रो वडामा नै छ। जुन ठाउँबाट हामीले पानी लिने भनेका छौँ। त्यहीबाट दोगडाकेदारमा सात ओटा मुहानबाट पानी लगेका छन्। गत वर्ष पनि त्यो मुहानबाट पानी लग्न खोजेका थिए। हामीले रोकेका हौँ। अहिले हामीले काम गर्न सम्झौता गर्न नपाउँदै विरोध गरेर हाम्रो शुद्ध पानी प्रयोग गर्ने अधिकार नै हनन् गर्न खोजिएको छ।” सुर्नाया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष समेत रहेका उपभोक्ता डिलाराम भटट्ले दिनेशखबरसँग भने।

“स्थानीय शासन ऐन अनुुसार पनि प्राकृतिक स्रोत उपभोगको पहलो अधिकार स्थानीय समुदायको हुन्छ भन्ने छ तर यहाँ जसको दल र बल छ उसकै भनेको हुने अवस्था छ।” अध्यक्ष भट्टले गुनासो पोखे।

पानीको मुहान सुर्नाया गाउँपालिकामा भएपनि त्यो मुहानदेखि केही तलबाट २०३६ सालमै दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ३ र ७ का करिव एक हजार परिवारको लागि पानी लगिएको दोगडाकेदार गाउँपालकाका अध्यक्ष चक्र कार्कीले दाबी गरेका छन्। “तल्लो मुहानहरु सुक्ने गरी माथिबाट पानी लैजानुुस् भनेर सहमति दिन सकिदैँन। तीन चार खानेपानी योजना सुक्ने गरी र हजारबढी उपभोक्तालाई समस्या हुनेगरी सहमति मैले दिन सक्दैन।” दोगडाकेदार गाउँपालिकाका अध्यक्ष कार्कीले भने।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले सो योजनाको लागि चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने गरी ७० लाख बजेट निकासा दिएको थियो। त्यो योजनाको बैशाख १७ गते प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले शिलान्यास समेत गरेका थिए। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका डिभिजन प्रमुख कृष्ण बहादुर बोगटीका अनुसार सो खानेपानी आयोजनाको २०७५ मा सर्वे भएको हो। जसको निर्माणको लागि गत आर्थिक वर्ष २०७६÷०७७  मा पनि ८० लाख बजेट बिनियोजन भएको थियो। गत आर्थिक वर्षमा सो बजेटबाट केहीको निर्माण सामग्री खरिद गरिएको भएपनि बाँकी रकम फिर्ता भएको डिभिजन प्रमुख बोगटीले बताउँछन्। पानीको मुहानको प्रयोगका विषयमा स्थानीय बासी र स्थानीय सरकारकाबीच समझदारी हुन नसक्दा योजना अगाडि बढाउन सम्झौता गर्न नसकिएको डिभिजन प्रमुख बोगटीको बताउँछन्।

सुर्नाया गाउँपालिका वडा नम्बर ३ का स्थानीयले भने सुर्नाया गाउँपालिकाले आवश्यक पहल नगर्दा र दोगडाकेदार गाउँपालिकाले अनावश्यक बखेडा निकाल्दा आफ्नै वडामा भएको पानीको मुहान प्रयोग गर्न नपाउने अवस्था आएको भन्दै आक्रोश पोखेका छन्। खानेपानी उपभोक्ता समितिका सदस्य समेत रहेका स्थानीय ओमप्रकाश भट्टले प्राविधिक टोली र जिल्ला समन्वय समितिले गरेको अध्ययनले पानीको मुहान प्रयोग गर्दा त्योभन्दा तलका कुनै पनि मुहानमा समस्या नहुने प्रतिवेदन दिएको  भएपनि खानेपानी कार्यालयले योजनाको काम अगाडि बढाउन सम्झौता गर्न आलटाल गरेको आरोप लागाउँछन्। उनले भने, “हाम्रो खानेपानीको योजनामा अबरोध गर्ने काम नरोकेमा अन्य मुहानबाट दोगडाकेदारमा पानी लैजान रोक्ने तयारी गरेका छौँ।”

धरमघर कमेडापानी खानेपानी योजनाका उपभोक्ताहरुले भने प्रदेश सरकार नै योजना अगाडि बढाउन अनिच्छुक भएकोले सम्झौता नै रोकिएको गुनासो गर्छन। तर खानेपानी कार्यालयले भने विवादको निरुपण स्थानीय तहमा नै नहुँदासम्म काम गर्ने वातावारण बन्न नसक्ने बताउँछ। स्थानीय तहमा मध्यमार्गी उपाय निकाल्न नसके यो वर्ष पनि धरमघर कमेडापानी खानेपानी योजनाको बजेट फिर्ता हुने देखिएको छ भने प्रदेश सरकारका योजना छनौटको औचित्यमाथि समेत प्रश्न चिन्ह खडा हुने भएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस