सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीलाई अस्पताल शय्याको लागि ठाउँ खोज्नै धौधौ, निर्माधिन भवन १ वर्षदेखि अलपत्र !

२०७८ जेठ ८, १२:२१ कमल सावद

धनगढीः कोरोना संक्रमितहरुको उपचारका लागि शय्या अभाव झेलिरहेको सेती प्रादेशिक अस्पतालमा १ निर्माधिन भवन भने लामो समयदेखि अलपत्र परेको छ।

संघीय सरकारको १८ करोड ७४ लाख बजेटमा संघीय सहरी विकास तथा भवन निर्माण विभागले अस्पतालको प्रसुती सेवाको लागि निर्माण थालेको भवन अलपत्र परेको हो।

२०७४ कार्तिक २८ गते निर्माणको सम्झौता भएको भवन अझै निर्माण पुरा नभएको हो। तर सरोकारवाला निकाय भने बेखबर भएको पाइएको छ। 

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिएपछि अहिले आकस्मिक कक्ष, अर्थो कक्ष तथा अस्पतालको प्रांगणमा समेत संक्रमितको उपचार थालिएको छ। सेती प्रादेशिक अस्पताल प्रशसनका अनुसार शुक्रबार दिउँसोसम्म १ सय ८ जना संक्रमितको उपचार हुँदैछ। बुधबार र विहिबारको तुलनाको संक्रमितको संख्या कम भएपनि अस्पतालको लागि भवन अभाव छ। तर अस्पताल प्रशासनसँगै जोडिएको निर्माणधिन एक भवन निर्माण कार्य भने अलपत्र रहेको छ।

निरीह अस्पताल प्रशासन
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भवन निर्माणको काम गत वर्षको वैशाखमा सक्नुपर्ने भएपनि अहिलेसम्म नसकिएको बताए। उनले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवाका लागि नयाँ भवन निर्माण थालिएको भएपनि पूर्ण नभएकाले व्यवस्थापनमा कठिनाइ भएको बताए। 

“कोरोना संक्रमितले अस्पताल भरिएको छ। अस्थायी कोरोना अस्पताल भरिएपछि आकस्मिक कक्षसँग वार्डहरुमा पनि संक्रमितको उपचार हुँदैछ। प्रसुती सेवाका लागि ६० भन्दा बढी शय्याहरु प्रयोगमा छन्। नयाँ भवन निर्माण सकिएको भए प्रसुती सेवा त्यहाँबाट दिने थियौ। थप ६० शय्या खाली हुने थिए,” उनले भने।  

गैरजिम्मेवार शहरी विकास तथा भवन निर्माण विभाग
संघीय सरकारले शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाईमार्फत १८ करोड ७४ लाखमा रबिना एण्ड थेगिम जेभीसँग ठेक्का सम्झौता गरेको छ। तर निर्माणको ठेक्का पाएको सो निर्माण कम्पनीले काम छोडेर अधुराे भवन अलपत्र पारेको छ।

गत वर्ष चैत महिनादेखि निषेधाज्ञा जारी गरिएको भन्दै ६ महिना समय थप माग गरिएको छ। तर म्याद थपको आधिकारिक पत्र नआएको बताइएको छ। 

शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई धनगढी प्रमुख सनिल शाहीले निर्माण कम्पनीको समय अवधि गत वर्षको वैशाखमा सकिएको बताए।

“कोरोना संक्रमणको त्रासपछि गरिएको निषेधाज्ञाका कारण काम गर्न नपाएको भन्दै ६ महिना समय थपका लागि पत्र केन्द्र पठाइएको छ। तर अझै समय थप गरिएको पत्र आएको छैन। उहाँहरुले ६ महिना थपका लागि समय माग गर्नु भएको थियो। हामीले माथि पठाएका हौ। तर अझसम्म पत्र आएको छैन। गत वर्षको वैशाखमा सक्नु पर्ने काम अझै सकिएको छैन्। हामीले उहाँहरुलाई भनिरहेका छौ,” उनले भने। 

निर्माधिन भवनको झ्याल–ढोका, रंगरोगन, विद्युत, अक्सिज पाइप जडान लगायतको काम बाँकी छ। शय्यालगायतका अन्य आवश्यक उपकरणका लागि भने समस्या नहुने अस्पताल प्रशासन बताएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस