१ लाख जनसंख्या अझै खोपको पहुँच बाहिर, ११ हजारले दोस्रो डोज पाउनै बाँकी
धनगढी उप-महानगरपालिकामा कोभिड विरुद्धको खोप
धनगढीः धनगढी उप–महानगरपालिकामा मात्र १ लाख बढी जनसंख्याले कोरोना भाइरस विरुद्धको खोप पाउन बाँकी रहेको छ।
उप–महानगरपालिकाभित्र १ लाख ८६ हजार २ सय ५० जम्मा जनसंख्या रहेकोमा कोरोना भाइरस विरुद्धको खोप लागउनु पर्ने जनसंख्या १ लाख १९ हजार ९ सय ६५ जना छन्। उनीहरु मध्ये १ लाख ७ हजार ९ सय ६५ जनाले कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेको हो।
धनगढी उप–महानगरपालिकाभित्रका १२ हजारलाई मात्र कोभिसिल्ड खोपको पहिलो मात्रा (डोज) लगाइएको छ। उनीहरुमा पनि ११ हजारलाई दोस्रो मात्रा (डोज) लगाउनै बाँकी छ। धनगढी उप–महानगरपालिकाभित्रका ५५ वर्षमाथिका नागरिक, स्वास्थ्यकर्मी, कर्मचारी लगायत १२ हजारले मात्र पहिलो मात्राको खोप लगाएका थिए। दोस्रो मात्राको खोप अझै नआएको उप–महानगरपालिकाका सिनियर अहेव लक्ष्मीराज उपाध्यायले बताए।
उनका अनुसार अन्य नागरिकलाई कोभिड खोप लगाउने कुनै योजना उप–महानगरपालिकासँग छैन्।
“खोपसम्म हाम्रो पहुँच पनि छैन्। खरिद गर्न समेत पाउँदैनौं। स्वास्थ्य मन्त्रालयले पठाए लगाउने हो। नत्र कहाँबाट लगाउला ? उप–महानगरपालिकामा समेत यस्को बिषयमा छलफल भएको छैन”, उनले दिनेश खबरसँग भने।
नेपाल सरकारले ४ दशमलव २० डलर अर्थात ४ सय ९१ रुपैयाँ ४ पैसामा कोभिसिल्ड खोपको एक मात्रा खरिद गरेको थियो। तर अब खोप उत्पादक कम्पनीले ५ दशमलव ५० डलर अर्थात ६ सय ४३ दशमलव ५ रुपैयाँ प्रति मात्रा पर्ने बताइएको छ। प्रति मात्रा ६ सय ४३ दशमलव ५ रुपैयाँ पर्ने देखिएकाले धनगढी उप–महानगरपालिकाभित्रका बाँकी जनसंख्यालाई कोभिसिल्ड खोप लगाउन झण्डै १४ करोड नेपाली रुपैयाँ आवश्यक पर्ने देखिन्छ।
१ लाख ७ हजार ९ सय ६५ जनालाई पहिलो मात्राको खोप खरिदका लागि ६ करोड ९४ लाख ७५ हजार आवश्यक पर्ने देखिएकोमा दोस्रो मात्रासम्मका लागि १३ करोड ८९ लाख ५० हजार आवश्यक पर्ने देखिएको हो।