सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना (कविता)

२०७८ जेठ ५, ०२:००

प्रिय कोरोना,
तिम्रो आगमनले यति बेला
मान्छेलाई जीवन प्यारो बनाइदिएको छ।
र, मृत्यु सस्तो बनाइदिएको छ।

अर्थात,
जीवनबोध।
यतिबेला तिमीलाई 
सारा जगत्ले श्राप दिईरहेको छ,
म तिमीलाई बधाई दिन आइपुगेँ।
तिम्रो उपस्थिति अस्वभाविक थिएन। 
न त तिम्रो जन्म कुनै देवी, देवताले गरेका हुन्।
मान्छेकै कुकृत्यबाट तिम्रो जन्म भयो,
मान्छेकै सुकृत्यबाट तिम्रो मृत्यु हुनेछ।
म विश्वस्त छु।


तिम्रो आगमनले सर्वत्र सन्त्रास थोपरियो,
तर, तिमीले गतिलो पाठ सिकाइरहेका छौ,
तिमीले यो पुस्तालाई गम्भीर चोट दियौ
तर, तिम्रो गुण सयौँ पुस्ताले विर्सने छैन।
तीन पुस्तालाई पुग्ने कमाए पछि
चौथो पुस्ताको लागि कमाउन खोज्नेहरू
यतिबेला मानवीयता पढ्दै छन्,
मानवीयता बुझ्दै छन्।
जीवन बुझ्दै छन्, जीवन पढ्दै छन्। 
तर यो शिक्षा निकै मूल्यवान भयो।

–प्रकाश समीर
अध्यक्ष, गोधूलि साहित्य प्रतिष्ठान, काठमाडौँ

 

कमेन्ट लोड गर्नुस