सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा बिरामीको तुलनामा अक्सिजन सिलिण्डर संख्या अझै अपुग

भ्रामक सूचनाले सिलिण्डर घरमा राख्ने प्रवृत्ति बढ्यो

२०७८ जेठ ५, ०६:५५ नारायण अवस्थी

सेती प्रादेशिक अस्पतालमा कोभिड भएर उपचार गराउन आउने बिरामीको तुलनामा अक्सिजनको उपलब्धता निकै कम रहेको अस्पतालले जनाएको छ।

अस्पतालमा अक्सिजनको आपूर्ति नियमित रुपमा हुन नसक्दा अभावको सामना गर्नुपरेको भएपनि अहिलेसम्म अक्सिजन नै नपाएर कुनैपनि बिरामीको ज्यान भने नगएको दाबी गरिएको अस्पतालले दाबी गरेको छ। तर समय समयमा अस्पतालमा अक्सिजन सक्कियो भन्ने किसिमका भ्रामक प्रचारले बिरामी र आफन्तहरुले आतङ्कित हुनु परेको गुनासो गरेका छन्। हल्लाकै कारण सर्वसाधारणले व्यक्तिगत रुपमा सिलिण्डर घरमा राख्ने प्रवृत्ति बढ्दा सिलिण्डरको अभावसँगै अक्सिजन माग्नेको यहाँको एक मात्र उद्योगमा सर्वसाधारणको भिड लाग्ने गरेको छ।

केही दिन अगाडि सेतीमा अक्सिजन सिद्धियो एक मात्रै अक्सिजन उद्योग पनि बन्द भयो भन्ने सामाजिक सञ्जालको भ्रामक सूचनाले धनगढीको सेतीलगायत बिभिन्न अस्पतालमा भएका बिरामीले आतङ्कको सामना गर्नु परेको थियो। तर त्यो दिन सेतीमा रहेका बिरामीले अक्सिजन पाइरहेका थिए। सेती अस्पतालले अहिले  ३ सय ३५ सिलिण्डरबाट बिरामीलाई अक्सिजनको व्यवस्था मिलाइ रहेको जनाएको छ। 
अस्पतालमा दैनिक ६० सिलिण्डर अक्सिजन आफ्नै प्लान्टबाट उत्पादन भइरहेको छ। अस्पतालमा अहिले १ सय ३० सिलिण्डर अक्सिजन एक पटकमा प्रयोग गर्नुपर्दा अक्सिजन आपूर्तिको चक्र मिलाउन अहिले मौज्दात रहेको सिलिण्डरको संख्या भने कम रहेको बताइएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डक्टर हेमराज पाण्डेले भने, “हामीसँग सिलिण्डरको अभाव छ। एक पटकमा जति सिलिण्डर प्रयोगमा आउँछन् त्यसको तीन गुणा बढी सिलिण्डर भए अक्सिजनको आपूर्ति सहज हुने थियो। अहिले अस्पतालमा अक्सिजन भरेर ल्याउन समस्या छ। धनगढीको उद्योगले पनि सम्झौता अनुसार अक्सिजन दिन सकेको छैन भने नेपालगञ्जबाट पनि आउन सकेको छैन। त्यसैले समस्या भइरहेको छ।” 
अस्पतालसँग अहिले साढे तीन सय मात्रै अक्सिजन सिलिण्डर छन्।  सिलिण्डर भरेर ल्याउन पनि समय लाग्ने गरेको र कहिले भने रित्तै पनि फर्काउने गरेको कारण अक्सिजन व्यवस्थापनमा समस्या भएको अस्पतालले बताउने गरेको छ।

सेती प्रादेशिक अस्पतालले कोभिड बिरामीको उपचार गर्न शय्या समेत थप गरेको जनाएको छ। अहिले अस्पतालको सर्जिकल वार्डमा समेत कोभिडका बिरामी राख्ने गरिएको छ। मंगलबार सेती प्रादेशिक अस्पतालमा १ सय २२ जना कोभिडको बिरामीको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिनेशखबरलाई बताए।

सेती प्रादेशिक अस्पतालमा अक्सिजनको आपूर्ति नियमित हुन नसक्दा एकै सिलिण्डरबाट ३ जनालाई अक्सिजन बाडेर दिनु परिरहेको अस्पतालले जनाएको छ। सेती अस्पतालले उपचार गर्न आएका कसैलाई पनि अक्सिजन नभएको भन्दै फिर्ता नगरेको दाबी गरेको छ।

“अक्सिजनको अहिले देखिएको अभाव टार्न अक्सिजन कन्सन्ट्रेटरको जोहो हुन सके पनि धेरै सहज हुने छ। तर दीर्घकालका लागि अक्सिजन प्लान्ट जडानमा नै ध्यान दिन आवश्यक छ।” मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डेले भने।

प्रदेशको एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सेती अस्पतालमा बिरामीको अत्यधिक चाप हुने गरेको छ। तर अस्पतालले दैनिक रुपमा त्यहाँ उपचाररत बिरामीको संख्या र स्थितिबारे सार्वजनिक सूचना प्रवाह गर्न नसक्दा अनावश्यक हल्लाका कारण सर्वसाधारणमा त्रासको बाताबरण बन्ने गरेको छ।

अस्पतालले भने हरेक दिन अस्पतालमा उपचाररत बिरामीको अवस्था र संख्या बारे सार्वजनिक गरिने बताएको छ भने अस्पतालमा अक्सिजनको आपूर्तिका लागि समेत सबै पक्षबाट सहयोग हुनुपर्ने बताएको छ।

 
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस