सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोनाको बढ्दो ग्राफः वैशाख महिनामा संक्रमणसँगै मृत्युदर पनि उकालो

अबको डेढ महिना संक्रमण दर अझै बढ्नसक्ने चेतावनी

२०७८ जेठ २, ०२:०३ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशमा वैशाख महिनामा ११ हजार २५० संक्रमित थपिएका छन्। 

प्रदेशको स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कअनुसार वैशाखमा मात्र २४३ जनाको मृत्यु भएको छ भने, १ हजार ७९७ जना निको भएर घर फर्किएका छन्। 

प्रदेशभरीका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९ हजार ५६४ जना र प्रदेशका ४ वटा सीमानाकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६८६ जनामा संक्रमण पुस्टि भएको हो। 

संक्रमण दर र मृत्यु दर सातापिच्छे बढ्दो क्रममा 
वैशाख महिनामा संक्रमण दरभन्दा निको हुने दर निकै थोरै रहेको छ। त्यस्तै मृत्यु दर भने निरन्तर उकालो लागिरहेको छ। सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणसँगै मृत्युदरको ग्राफ निरन्तर उकालो लागिरहेको छ। 

पहिलो साता

वैशाखको पहिलो साता प्रदेशभर जम्मा ६९९ नमूना मात्र परीक्षण गरिएको थियो। तीमध्ये २१० जनामा संक्रमण पुस्टि भएको थियो। पहिलो साता ११ जना संक्रमित निको भएका थिए भने, १ जनाले ज्यान गुमाएका थिए। वैशाखको सुरूवातमा प्रदेशमा कोरोनाले भयावह रूप लिएको थिएन। पहिलो साता संक्रमण दर ३० प्रतिशत थियो। सन्चो हुने दर ५ प्रतिशत थियो भने, मृत्यु दर ० दशमलव ५ प्रतिशत थियो।

दोस्रो साता

वैशाखको दोस्रो साता संक्रमण दर ६ प्रतिशतले बढेको छ। निको हुने दर १५ प्रतिशतले बढेको पाइएको छ। त्यस्तै मृत्यु दर पनि शुन्य दशमलव ३ प्रतिशतले बढेको छ। दोस्रो साता २ हजार ४७ नमूना परीक्षण गरियो, तीमध्ये ७३९ जनामा संक्रमण पुस्टि भएको थियो। १४६ जना संक्रमित निको भएका थिए भने, ६ जनाले ज्यान गुमाएका थिए। दोस्रो साता संक्रमण दर ३६ प्रतिशत थियो। सन्चो हुने दरसमेत बढेर २० प्रतिशत पुग्यो भने, मृत्यु दर पनि बढेर शुन्य दशमलव ८ प्रतिशत पुग्यो।

तेस्रो साता निषेधाज्ञा लागु, स्थिति झन भयावह

कोरोना भाइरस भयावह रूपमा फैलिएपछि सुदूरपश्चिमका अधिकांश स्थानहरूमा वैशाखको तेस्रो सातादेखि निषेधाज्ञा जारी गरिएको थियो। तर तेस्रो साताको सुरुवातदेखि नै कोरोनाको ग्राफ झनझन बढेको पाइएको छ। 

वैशाखको तेस्रो साता ४ हजार ४९८ नमूना परीक्षण गर्दा १ हजार ९५० जनामा संक्रमण पुस्टि भयो। १७५ जना संक्रमित निको भए, भने ज्यान गुमाउनेको संख्या बढेर ५३ पुग्यो। तोस्रो साता संक्रमण दर ३६ प्रतिशत बढेर ४३ प्रतिशत पुग्यो। सन्चो हुने दर भने २० प्रतिशत घटेर ९ प्रतिशतमा झरÞ्यो। त्यस्तै मृत्यु दर शुन्य दशमलव ८ प्रतिशतबाट बढेर ३ प्रतिशतमा पुग्यो। तेस्रो सातादेखि प्रदेशमा कोरोनाले भयावह रूप लिएको हो। यो अवधिमा प्रदेशका सरकारी तथा निजी अस्पतालहरू कोरोना संक्रमितले भरिए। अक्सिजनको चरम अभाव भयो र मृत्यु दरसमेत असामान्य रूपमा बढ्यो।  

अन्तिम साता

त्यसैगरी अन्तिम साता अर्थात् १० दिनको अवधिमा सुदूरपश्चिममा १३ हजार ४५३ जनाको परीक्षण गर्दा ६ हजार ६६५ जनामा संक्रमण देखियो। १ हजार ४६५ जना निकै भए। त्यस्तै मृत्यु दर बढेर १८३ पुग्यो।

कोरोना विकराल रूपमा फैलिएपछि यो अवधिमा परीक्षणको दायरा बढाइएको देखिन्छ। 
अन्तिम साता संक्रमण दर ४३ प्रतिशत बढेर ५० प्रतिशत पुग्यो। सन्चो हुने दर भने ९ प्रतिशतबाट बढेर २२ प्रतिशत पुग्यो। त्यस्तै मृत्यु दर अन्तिम साता पनि ३ प्रतिशतमा यथावत रहेको छ। 

संक्रमण दर र मृत्यु दर बढ्नुको कारण

सुदूरपश्चिम प्रदेशमा वैशाख महिनामा कोरोनाको ग्राफ तीव्र गतिमा उकालो लागिरहेको छ। कोरोना संक्रमितहरूको सम्पर्क खोजी नहुनु र निषेधाज्ञाको प्रभावकारी पालना नहुनुले संक्रमण दर बढेको पाइएको हो।

त्यस्तै जटिल समस्या देखिएपछि मात्र अस्पताल जाने र प्रदेशमा कोरोना उपचारको लागि अतिआवश्यक मानिएको अक्सिजनको चरम अभावले गर्दा मृत्यु दर बढेको हो। 

अबको डेढ महिना स्थिति चिन्ताजनक हुने

चैत महिनाको तुलनामा वैशाखमा कोरोना भाइरस ग्राफ निरन्तर उकालो लागेको देखिन्छ। यो अवस्था आगामी डेढ महिनासम्म रहने चिकित्सकहरूको अनुमान छ। सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजन दत्त शर्मा पौड्यालले जेठको अन्तिम साता वा असारको पहिलो सातासम्म कोरोना उच्चतम बिन्दुमा पुग्नसक्ने बताएका छन्। 

सीमानाकाबाट पनि जोखिम उत्तिकै

छिमेकी भारतमा पनि कोरोना भयावह रूपमा फैलिएको छ। वैशाख महिनामा मात्र भारतका विभिन्न राज्यहरूबाट सुदूरपश्चिमका विभिन्न नाका हुँदै ३५ हजार १७० जना नेपालीहरू भित्रिएका छन्। तीमध्ये झण्डै ४० प्रतिशतको मात्र अर्थात् १४ हजार २५८ जनाको मात्र परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ हजार ६८६ अर्थात् १२ प्रतिशतमा कोरोना संक्रमण पुस्टि भएको छ। 

त्यस्तै नाकाबाट भित्रिएको मध्ये २० हजार ९१२ जना बिना परीक्षण सोझै सुदूरका गाउँगाउँ पुगेका छन्। १२ प्रतिशतको दरले परीक्षण नगरिएका २० हजार ९१२ जनामध्ये झण्डै २ हजार ५ सय संक्रमित सोझै गाउँगाउँ पुगेका हुन्। उनीहरूलाई स्थानीय पालिकाहरूले क्वारेन्टिनमा राख्ने व्यवस्था नगर्दा संक्रमण झनै बढेको हो। तर प्रदेशमा आइसोलेशन, होल्डिङ्ग सेन्टर र क्वारेन्टिन बनाउनेतर्फ तीनै तहका सरकार बेपरवाह देखिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत पछिल्लो समय भारतसँगै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका देशहरूमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको बताएको छ।

सुदूरपश्चिममा कोरोना संक्रमितहरू दैनिक रूपमा बढिरहेका छन्। सयौँ सुदूरवासीले ज्यान गुमाइरहेको छन्। अस्पतालहरू भरिएका छन्। संक्रमितहरूको लागि अत्यावश्यक मानिएको अक्सिजनको चरम अभाव छ। तर सुदूरपश्चिम प्रदेश सरकार भने कान तेल हालेर सुतेको छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस