सुदूर नेपाललाई विश्वसँग जोड्दै

काेभिड फोकल मन्त्री भट्टकै क्षेत्रमा अक्सिजन अभाव, कहाँ छन् उनी ?

महामारीको चंगुलमा सुदूरपश्चिम

२०७८ वैशाख ३१, ०४:०२

वीरेन्द्र भट्ट

धनगढीः गोदावरी नगरपालिका अत्तरियाका ४३ वर्षीय एक पुरुष कोरोना संक्रमित भएर सास फेर्न समस्या भएपछि पाँच दिन अघि सेती प्रादेशिक अस्पताल धनगढी पुगे। अस्पताल पुगेको दुई घण्टा भइसक्दा पनि बेड नपाएर एम्बेलेन्समै छट्पटिनु पर्‍यो। सेतीको इमर्जेन्सी वार्डमा ४९ वर्षीय महिलाको अक्सिन अभावका कारण मृत्यु भएपछि त्यही बेडमा ती पुरुषलाई राखियो।

अक्सिन अभावकै कारण ती महिलाको मृत्युपछि बेड त पाइयो तर अक्सिन र डाक्टर नहुँदा संक्रमित पुरुषको सास छिटोछिटो बढ्दै गइरहेको थियो। आफन्तहरुले चिकित्सक खोज्न पटक–पटक तलमाथि गर्दै थिए। केही समयपछि चिकित्सकले अक्सिजन नभएको बताए। सकिन्छ भने कतैबाट जोहो गर्नु भनेपछि आफन्त झन आत्तिए। सबैतिर हारगुहार गरेपछि लामो समयपछि आधा सिलिण्डर अक्सिजन पाइयो। तर त्यति अक्सिनले उनको ज्यान जोगाउन सकिने अवस्था थिएन्।

दुई सिलिण्डर चाहिनेमा आधा अक्सिन भएको सिलिण्डर मात्र उपलब्ध हुँदा ती संक्रमितलाई बचाउन निकै समस्या भयो। आधा अक्सिनको सिलिण्डर जसरी सकिदैँ गयो त्यसै गरी विरामीको अवस्था पनि गम्भीर बन्दै गयो। सिलिण्डरबाट अक्सिजन आउन छोडेसँगै ती परुषको पनि त्यसै गरी सास बन्द हुँदै गयो र अक्सिजन रित्तिएसँगै उनको प्राण गयो।    

यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो। अक्सिजन अभावकै कारण यतिबेला सुदूरपश्चिमका अस्पतालहरूले समेत थप कोरोनाभाइरस संक्रमितको उपचार गर्न नसकिने बताउँदै आएका छन्। उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको गृह क्षेत्रमै अक्सिजनको हाहाकार हुँदा संक्रमितहरुले एकपछि अर्को ज्यान गुमाइरहेका छन्। 

अहिले यहाँका विभिन्न सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढेको छ। यहाँका निजी अस्पताल सञ्चालकहरुले अक्सिजन अभाव रहेकोले बिरामी भर्ना गर्न नसक्ने भन्दै यसअघि नै विज्ञप्ति जारी गरिसकेका छन्। अक्सिजनको आपुर्ति व्यवस्था नै कमजोर देखिएपछि मर्नेको संख्या डर लाग्दो रुपमा बढेको स्वास्थ्य विभागका पुर्व महानिर्देशक डाक्टर लक्ष्मीराज पाठक बताउँछन्।

आपुर्तिमन्त्रीकै क्षेत्रमा यस्तो भयावह अवस्था छ, जनताको लाशमाथि राजनीति भइरहेको संक्रमितका आफन्तहरुको गुनासो छ। उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिम प्रदेशका लागि कोभिड–१९ फोकल मन्त्री पनि हुन्। तर बेड, अक्सिन र समयमा उपचार नपाएर एक महिनाको अवधिमा दर्जनौ संक्रमितले ज्यान गुमाइसकेका छन्। अहिले सुदूरपश्चिममा दैनिक ५ सय सिलिण्डर अक्सिनको माग भइरहेकोमा आपुर्ति ५०  प्रतिशत पनि भइरहेको छैन, सेती प्रादेशिक अस्पतालका आइसीयु इन्चार्ज डक्टर कपिल गौतमले भने। १५ बेड क्षमताको आइसीयु सेतीमा मात्र छ, यस्तो अवस्थामा विरामीलाई चाहेर पनि बचाउन सकिने अवस्था छैन, उनले भने।  

सुदूरपश्चिमको अवस्था
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकअनुसार विहिवार मात्र १७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। कुल कोरोना पोजिटिभ संख्या २७ हजार चार सय ७० पुग्दा दुई सय ८७ जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट निको हुनेको संख्या १५ हजार ६४१ मात्र रहेको निर्देशनालयले जनाएको छ।

धनगढीमा कोभिड भवन भरिएपछि अस्पताल प्रशाशनले इर्मेजन्सी वार्डमा समेत संक्रमितहरूको उपचार गर्दै आइरहेको छ। अस्पतालमा आउने अधिकांश बिरामीहरूलाई अक्सिजन चाहिने भएकोले पुर्ति गर्न समस्या भइरहेको अस्पतालका सूचना अधिकरी दिलिपकुमार श्रेष्ठ बताउँछन्। 

अस्पतालमा बिरामी बढेपछि सिँढीमुनि मात्र नभएर अस्पताल बाहिर पाल टाँगेर समेत भुइँमा उपचार भइरहेको छ। आकस्मिक कक्षमा १६ शैया छन्। तर, अहिले चार दर्जन बढि बिरामी छन्। अधिकांशलाई अक्सिजन चाहिएको इर्मेजन्सी वार्डका इन्चार्ज भरत खातीले बताए।

हरेक १५ मिनेटमा एक सिलिण्डर आवश्यक परिरहेको छ। एक घण्टामा चार वटा सिलिण्डर अक्सिजन आवश्यक परिरहेको छ। तर आपुर्ति व्यवस्था दिनप्रतिदिन कठिन बन्दै गएकाले बचाउन सकिने विरामीलाई पनि बचाउन कठिन भइरहेको अधिकारीहरुले बताएका छन्। गेटामा दुई हजार क्षमताको आइसोलेसन बनाउने भन्दै नेताहरुले भनेका थिए तर ४० बेड बनाउन समेत कसैले पहल नगर्दा बेड, अक्सिजन र समयमा उपचार नपाएरै यहाँका जनताले ज्यान गुमाउनु परिरहेको एक अधिकारीको भनाइ छ।

यसैबीच मन्त्री भट्टको प्रतिक्रिया लिनलाई दिनेशखबरले पटक–पटक फोन सम्पर्क गर्न खोजेको थियो। तर उनको मोबाइल फोन नउठेको हो।

कमेन्ट लोड गर्नुस