सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भेन्टिलेटर र आइसीयू नहुँदा कोरोना संक्रमितको ज्यान जोखिममा

फोटो : मालिका टुडे
फोटो : मालिका टुडे
२०७८ वैशाख २८, १२:२७

बाजुरा: बाजुरामा कोरोना संक्रमितहरुका लागि अत्यावश्यक भेन्टिलेटर, आइसीयू र अक्सिजन अभाव देखिएको छ। उक्त प्रविधि नहुँदा एक जना संक्रमितले ज्यान समेत गुमाइसकेका छन्। 

अहिले कोरोना संक्रिमितले जिल्ला अस्पताल बाजुराको आइसोलेसन कक्ष भरिँदै गएको छ। अस्पतालमा उपचाररत दुई जनाको सोमबार बिहान मृत्यु भएको छ।  

तर भेन्टिेलटर र आइसियू व्यवस्थापनमा जिल्ला संकट व्यवस्थापन समितिले खासै चासो नदेखाएको भन्दै आरोप लागिरहेको छ। 

कोरोना संक्रमणको दर दैनिक २० देखि ४० जनाले वृद्धि हुँदै गएको अवस्थामा आइसीयू र भेन्टिलेटर अभावका कारण संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आएको संक्रमितहरुले बताएका छन्। 

जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले भेन्टिलेटर र आइसीयू सञ्चालन गर्नका लागि दक्ष जनशिक्त अभाव भएको बताएका छन्। उनले उक्त प्रविधि चलाउनका लागि प्लान्ट अक्सिजन नभएर भेन्टिलेटर प्रयोगमा ल्याउन समस्या भएको बताए। अस्पतालमा दुई वटा भेन्टिलेटर र आइसीयू भएपनि जनशक्ती अभावले प्रयोगविहिन भएको डाक्टर जोशीले स्वीकार गरेका छन्। 

जिल्लामा अहिले ४५ वटा मात्र अक्सिजनका सिलिण्डर रहेका छन्। संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएमा उक्त अक्सिजन नपुग्ने जिल्ला अस्पताल बाजुराका कोरोना सूचना अधिकारी चुडामणी पन्तले बताए।

 जिल्लाभरीका लागि ४५ वटा अक्सिजनका सिलिण्डर प्रर्याप्त नभएकोले तत्काल अक्सिजनको व्यवस्था गर्नुपर्नेमा सूचना अधिकारी पन्तको भनाई रहेको छ। 

सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजन प्लान्ट खरिदका लागि रकम आइसकेकाले खरिद गर्ने तयारी थालेको पन्त बताउँछन्।

हाल अस्पतालको आइसोलेसनमा १७ जना संक्रमित उपचाररत छन्। 


 

कमेन्ट लोड गर्नुस