सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सुरजीत सिंह, जसले ३ दशकसम्म कानपुरबाट अक्सिजन ल्याएर निःशुल्क अस्पताललाई दिए

अक्सिजनको अभाव झेल्दै सेती प्रादेशिक अस्पताल

२०७८ वैशाख २५, ०४:४२ लखन चौधरी

धनगढीः कैलालीको धनगढीमा ‘डीजे म्याक्स’को उपनामले ख्याति कमाएका राममहेश रानाले अक्सिजनको कमी भएपछि ज्यान गुमाए।

धनगढी उपमहानगरपालिका–३ चटकपुरका रानालाई स्वासप्रश्वासमा समस्या थियो। सेती प्रादेशिक अस्पतालमा भर्ना भएका उनको शनिबार ज्यान गयो।

रानाको मात्रै होइन, शनिबार धनगढीमा एक चिकित्सकको समेत अक्सिजन नपाएर मृत्यु भएको छ। कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत घर बैतडीको दोगडाकेदार गाउँपालिकाका लोकेन्द्र जोशीको मृत्यु भएको हो। उनी महाकाली नगरपालिकाका दार्चुलाको जिल्ला आयुर्वेदिक शाखाका प्रमुख समेत थिए।

केही दिनअघि पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरीलाई १ सिलिण्डर अक्सिजन जोहो गर्न हम्मेहम्मे भयो। पूर्वमन्त्री चौधरीकी धर्मपत्नीलाई कोरोना संक्रमण देखिएको थियो। संक्रमण भएपछि उनले सेती प्रादेशिक अस्पतालमा भर्ना त गराए। तर स्वास्थ्य अवस्था जटिल बनेपछि अक्सिजनको आवश्यकता भयो। लामो अथक प्रयासपछि मात्रै उनले १ निजी अस्पतालबाट १ थान सिलिण्डर अक्सिजन ग्यासको जोहो गरे। 

यी ३ वटा प्रतिनिधी घटना मात्रै हुन्। कोराना महामारीको दोस्रो लहरले सुदूरपश्चिम प्रदेश आक्रान्त बनेको छ। उपचारको लागि जाने संक्रमितहरुको अस्पतालहरुमा थामिनसक्नु भीड छ। प्राणवायु अक्सिजनको चरम अभाव छ। अक्सिजन अभावकै कारण ज्यान जाने गरेको चिकित्सकहरुले बताएका छन्। 

संक्रमितहरु अक्सिजन नपाएर ज्यान गुमाइरहेको बेला यहाँका सरकारले किन समयमै अक्सिजन जोहो गर्न सकिरहेका छैनन् ? अक्सिजन प्लान्ट जडान गर्नतर्फ किन ध्यान दिएनन् ? जस्ता सवाल आज जनआक्रोशमा परिणत भएको हो।

जबकी यहाँका यातायात व्यवसायी सरदार सुरजीत सिंहले ३ दशक अगाडि नै तत्कालीन सेती अञ्चल अस्पतालमा अक्सिजन उपलब्ध गराउने अभियानको जग बसालेका थिए।

सुदूरपश्चिम यातायात व्यवसायी संघका संस्थापक अध्यक्ष समेत रहेका स्व. सरदार सुरजीत सिंहले आफ्नै व्यक्तिगत लगानीमा अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएका थिए।

को हुन् सरदार सुरजीत ?
२०१४ सालमा भारतको जम्मुबाट २२ वर्षे सरदार प्रितमसिंह र उनका बुवा काठमाडौंमा बिहेको निम्तोमा आएका थिए। उनीहरु जम्मुमै ट्रान्सपोर्टको व्यवसायमा जमेका थिए। केही दिन नेपालमै बसेकाले राजा महेन्द्रले नेपालमै केही गर्नपर्छ भनेर अनुरोध गरेपछि र भर्खर मात्र त्रिभुवन राजपथ बन्दै गरको हुँदा केही सम्भावना देखेपछि २०१५ सालमा ३ वटा ट्रक, ट्रक ड्राइभर र खलासी गरी ६ जना सिखसहित बाबुछोरा नेपाल नै फर्किए।

वि.स. २००० कार्तिक २ गते जन्मिएका सुरजीत सिंह पनि आफ्ना बाबु र दाजु प्रितम सिंहसँग नेपाल आएका हुन्। सरदार सुरजीत सिंह यातायात व्यवसायी भएपनि उनी समाजसेवी थिए। उनी मानवीय भावनाले ओतप्रोत थिए। 

देशका अन्य शहरमा गाडी सञ्चालन गरेका उनीहरु धनगढीमा पनि नेपाल पब्लिक मोटर्स् सर्भिस (एनपीएमएस) कम्पनीको सेवा बिस्तार गरे। तर कहिलेदेखि सञ्चालन गरे भन्ने यकिन मिति आफुहरुसँग समेत नभएको सुरजीतका कान्छो छोरा हर्केश सिंह बताउँछन्। 

एनपीएमएस कम्पनीलाई पछि हेमकुण्ड ट्रान्सपोर्टको रुपमा परिणत गरिएको बताइन्छ। त्यसताका सुदूरपश्चिममा चारपांग्रे गाडी सञ्चालनमा थिएनन्। उनैले २ वटा गाडी ल्याएर सञ्चालनमा ल्याएका थिए।

हेमकुण्ड ट्रान्सपोर्टका पूर्व व्यवस्थापक रहेका धनगढी चटकपुरका ५३ वर्षीय राजेन्द्रप्रसाद पडालका अनुसार २०२८ देखि हेमकुण्ड ट्रान्सपोर्ट सञ्चालनमा आएको हो।

धनगढी–डडेल्धुरा रोड प्रोजेक्ट (डीडीआरपी) सञ्चालन भएपछि धनगढी–गौरीफन्टासम्म बस सञ्चालनमा आएको यातायात व्यवसायीहरु बताउँछन्। सुदूरप्िश्चममा सार्वजनिक यातायातका जन्मदाता नै सुरजीत भएको बताइएको छ। उनैले २०४० मा आफ्नै नेतृत्वमा सुदूरपश्चिम यातायात व्यवसायी संघको स्थापना गराएका हुन्।

यातायात व्यवसायी भएपनि मानवीय सेवामा भने उनको अतुलनीय योगदान रहेको बताउँदै पडाल भन्छन्, “सुरजीतसँग मेरो २०४० देखि सम्पर्क भयो। उहाँको कारोबार मैले नै हेरेको थिए। म उहाँको सम्पर्कमा आएको पहिलैदेखि नै उहाँले अस्पतालमा अक्सिजनको सिलिण्डर उपलब्ध गराउँनुहुन्थ्यो।”

कानपुरबाट आउँथ्यो अक्सिजन
त्यसताका सुदूरपश्चिममा सडक विस्तार भएको थिएन। प्रयाप्त यातायातका साधनको समेत उपलब्धता थिएन। तर त्यतिबेला मानवीय सेवामा समर्पित सुरजीतले भारतको कानपुरबाट सिलिण्डरमा अक्सिजन भरेर ल्याइ अस्पताललाई निःशुल्क उपलब्ध गराउने गरेको पडाल बताउँछन्।

२०६८ पुस १७ गते उनको मृत्यु भएपछि भने उनको सो कार्यले निरन्तरता पाउन सकेन। त्यसपछि उनको कार्यलाई निरन्तरता दिन धनगढीकै व्यवसायी ओमप्रसाद अग्रवाल अग्रसर भएको पडाल सुनाउँछन्।

सुरजीत सिंहलाई स्मरण गर्दै सुदूरपश्चिम यातायात व्यवसाय संघका पूर्व अध्यक्ष टेकराज जोशीले उनी जस्तो भिजन आजको सरकारी नेतृत्व पंक्तिमा भएको भए आज सुदूरपश्चिममा अक्सिजनको अभाव नहुने बताउँछन्।

उनी भन्छन्, “उहाँलाई हामी सुदूरपश्चिमवासीले सम्मान गर्न सकेनाैं भने अन्याय हुन्छ। उहाँको जस्तो हामीमा अझै दूरदृष्टि छैन। उहाँले देखाएको बाटो हामीले अझै अँगाल्न सकेनौ, र हाम्रा दाजुभाइ, दिदीबहिनीले आज अक्सिजन नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ।”

सेती प्रादेशिक अस्पतालका पूर्व सुपरिटेन्डेन्ट डाक्टर गणेश बहादुर सिंहले मानिसमा विस्तारै मानवीयता भावना ह्रास हुँदै आएको बताउँछन्। समाजमा अझै केही सुरजीत जस्ता सहयोगी मानिस तथा संघ संस्था रहेपनि थप मानवीय चेतना जागृत हुन जरुरी रहेको उनको भनाइ छ।
 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस