सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा घरमै पुुगेर कोभिड जाँच्दै स्वास्थ्यकर्मी

। फोटो स्रोत ।
२०७८ वैशाख २३, ०२:३९ रासस

बाजुरा: बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ। 

कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए। जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन्। तीमध्ये एक महिलाको बुधबार मृत्यु भइसकेको छ भने चार जना जिल्ला अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका छन्।

बाँकी सबै होमआइसोलेशनमा र केही सङ्क्रमित स्थानीय तहले बनाएको आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा छन्। गाउँगाउँमा कोभिड फैलिएपछि स्वास्थ्य कार्यालयले एन्टिजेन जाँच घरमै पुुगेर गरिरहेको छ। हिमाली गाउँपालिका–५ कवाडीमा जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएर घरमै कोभिड जाँच तथा उपचार गरेको छ।

जिल्ला अस्पतालमा कार्यरत डा दीपेन्द्र बुढा, स्वास्थ्य कार्यालयमा कार्यरत ल्याब टेक्निसिएन रतन बुढा र जगत शाहीले कवाडी गाउँमा पुुगेर जाँचसहित उपचार तथा परामर्श दिएको थियो। सो गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोली गाउँ पुुगेको हो।

गाउँपालिकामा पुुगेको चिकित्सक टोलीले कोरोना सङ्क्रमितलाई उपचारसँगै उनीहरुलाई परामर्शसमेत दिएको स्वास्थ्य कार्यालयले जनाएको छ। सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। उक्त गाउँपालिकामा पहिलो चरणको कोरोना भाइरस सङ्क्रमणका बेला एक जना पनि सङ्क्रमित भेटिएका थिएनन्। अहिले दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट सो गाउँपालिकामा मात्रै २० कोरोना सङ्क्रमित रहेका छन्।

स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितलाई टेलिफोन तथा प्रत्यक्ष भेटमार्फत उपचार र परामर्श दिइरहेका छन्। बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले भने दैनिक होमआइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था टेलिफोनबाट भएपनि बुझ्ने गरेको बताए। फोनमार्फत परामर्श दिने काम भइरहेको र जटिल अवस्था भएमा अस्पताल आउनसमेत आग्रह गर्ने गरिएको खड्काको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले कोरोना सङ्क्रमित दिनप्रतिदिन बढिरहेका बेला स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमित बिरामीको जाँच र उपचार गरिरहेको बताए। जिल्लामा जोखिम बढ्न नदिनका लागि जिल्लामा बुधवारबाट यही वैशाख ३१ गतेसम्मका लागि निषेधज्ञासमेत गरिएको छ।

सङ्क्रमितको मनोबल कम गर्ने काम कसैलाई नर्गन प्रजिअ अधिकारीले आग्रह गरेका छन्। जिल्लामा चार कोभिड अस्पताल छन् भने ६५ आइसोलेशन शय्या छन्। जिल्ला अस्पतालमा दुई भेन्टिलेटरसहित आइसीयू शय्या रहेका छन्।

कमेन्ट लोड गर्नुस