सुदूर नेपाललाई विश्वसँग जोड्दै

एन्टिजेनका भरमा दार्चुला, पर्याप्त भएन परीक्षण

२०७८ वैशाख २३, ०१:५८ रासस

दार्चुलाः जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना जाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ। 

पिसिआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको जाँच गरिएको हो। कोभिड–१९ को दोस्रो चरण आउँदासम्म जिल्लामा एन्टिजेन परीक्षण पनि सबै ठाउँमा पर्याप्त हुनसकेको छैन। स्वास्थ्य कार्यालय दार्चुलाबाट निश्चित मात्रामा पठाइएको एन्टिजोन किट्सका माध्यमबाट परीक्षण गरिएको छ।

अहिले जिल्लाभरि कोरोनासँग मिल्दो लक्षण भएका बिरामी जताततै बढेका छन्। रुघाखोकी, ज्वरो र शरीर दुख्ने समस्याका बिरामी अधिकांश गाउँमा रहे पनि उनीहरूको जाँच हुनसकेको छैन। मार्मा गाउँपालिका–३ मा एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ। स्वास्थ्यकर्मीमै सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ। 

ज्वरो तथा रुघाखोकीका बिरामीहरू उपचारका लागि स्वस्थ्य संस्थामा आउने गरेका छन्। उपकरण, जनशक्ति र औषधि अभावमा सबै बिरामीको घरमा पुगेर उपचार गर्न सकिने अवस्था नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। कोरोना महामारीको दोस्रो लहर डरलाग्दो रूपमा फैलिएका बेला भारतबाट यहाँका सयौं स्थानीय रोजगारी छोडेर गाउँ फर्किएका छन्। भारतबाट कति जना गाउँ फर्किए भन्ने यकिन तथ्याङ्क कुनै स्थानीय तहसित पनि छैन। 

भारतबाट फर्किएकाहरू सिधै गाउँघरमा पस्दा कोरोनाको जोखिम झनै बढेको स्थानीय जगतसिंह ठगुन्ना बताउँछन्। “गाउँघरमा उनीहरू निस्फिक्री घुमिरहेका छन्”, उनले भने। यहाँका धेरै मानिसहरू रोजगारी र मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गर्छन्।

पढाइका लागि धनगढी, महेन्द्रनगर, काठमाडौँलगायतका सहर पसेका स्थानीयवासी पछि समस्यामा परिने डरले गाउँ फर्किसकेका छन्। उनीहरूको स्वास्थ्य परीक्षण भएको छैन। केहीलाई ज्वरो आएको जाँच गर्न पनि स्वास्थ्य संस्था नजाने हुँदा गाउँमा कोरोनाको त्रास बढेको छ।

जिल्लामा पूरै निषेधाज्ञा जारी गरिएको भए पनि परीक्षणको दायरा बढाइएको छैन। दुहुँ गाउँपालिका हिकिला स्वास्थ्य चौकी प्रमुख प्रेमसिंह धामी हिकिलामा अहिलेसम्म १० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको बताउँछन्। जिल्लाबाटै एन्टिजेन थोरै पठाइएको छ। थोरै मात्र पठाइएको हुँदा नमूनाको रुपमा पाँचवटै वडामा परीक्षण गरिएको छ। २५ एन्टिजेन पठाइएकोमामा पाँच जनामा कोरोना सङ्क्रमण देखिएको उनले बताए।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा अहिलेसम्म ५१८ किट एन्टिजेन र भिटिएम ३८५ किट पठाइएको छ। कार्यालयका जनस्वास्थ्य अधिकृत जयराज भट्टका अनुसार महाकाली नगरपालिकामा ७०, शैल्यशिखरमा १००, मालिकार्जुन गाउँपालिकामा ९०, मार्मा गाउँपालिकामा ३३, अपिहिमाल गाउँपालिकामा ८०, लेकम गाउँपालिकामा ३०, नौगाड गाउँपालिकामा ४०, दुहुँ गाउँपालिकामा २५ र व्यास गाउँपालिकामा ५० थान किट पठाइएको छ।

जिल्लामा पिसिआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानिएको भट्ट बताउँछन्। एन्टिजेनले बिरामीको नाकबाट स्वाब लिएको १५ मिनेटमै रिजल्ट दिने गरेको छ। यसको रिपोर्ट पिसिआरसँग झण्डै ७५ प्रतिशत मिल्ने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस