सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको काम निषेधाज्ञाले प्रभावित

फोटोः दिपेन्द्र ओली
फोटोः दिपेन्द्र ओली
२०७८ वैशाख २२, ०४:४५ सरेन जैरू

धनगढीः कोरोना भाइरसको संक्रमण रोकथामका लागि कैलालीमा जारी गरिएको निषेधाज्ञाले पटक–पटक म्याद थपिएको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको काम प्रभावित हुने देखिएको छ। 

जिल्लामा कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको र मृत्युदर पनि उकालो लागिरहेका बेला कोरोना भाइरसको त्रासले कामदारहरू काम गर्न आउनै छाडेपछि निर्माण कार्यमा झनै ढिलासुस्ती हुने निर्माण कम्पनीहरूले बताएका छन्। 

मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत मोहनापुलदेखि बोराडाँडीसम्मको साढे ४ किलोमिटर सडकको ठेक्का नागार्जुन कन्स्ट्रक्शन कम्पनीले पाएको छ।  निर्माण कम्पनीले आगामी जेठ ६ भित्र काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ। 

नागार्जुन कन्स्ट्रक्शन प्रालिका प्रतिनिधि इश्वरी भट्टले कोरोना भाइरसको त्रासले कामदारहरू काममा आउन छोडेपछि अहिले निर्माण कार्य नै रोकिएको बताए।  ‘कोरोना व्यापक रूपमा फैलिएपछि कामदारहरू घर जान थालेका छन्’ उनले भने, ‘कामदारहरू काममा आउन छाडेपछि अहिले निर्माण कार्य नै रोकिएको छ। निषेधाज्ञा अलि लामो समयसम्म रहिरहे सम्झौता अवधिमा काम नसकिएका जस्तो छ।’

यस्तै ६ लेन सडकको ३ प्याकेज मध्ये बोराडाँडीदेखि अत्तरियासम्मको साढे ८ किलोमिटर सडक निर्माणको ठेक्का राजेन्द्र निर्माण कम्पनीले पाएको छ। 

राजेन्द्र निर्माण कम्पनीका प्रतिनिधि रोशन भट्टले पहिलेका कामदारहरू मात्र काममा खटिएको र कोरोना कहरले नयाँ कामदार नपाएकाले कामको गति निकै सुस्त भएको स्वीकारेको छन्। तर सम्झौता अवधि साउन १५ भित्रै सम्पन्न गरिसक्ने गरी कामलाई निरन्तरता दिने उनी बताउँछन्। 

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण कार्य २०७६ सालको जेठभित्र सम्पन्न गर्ने गरी २०७४ सालको जेठ महिनामा पहिलोपटक ठेक्का सम्झौता भएको थियो। गत वर्षको लकडाउनले समयमा काम सम्पन्न गर्न नसकेका निर्माण कम्पनीहरूले २ पटकसम्म म्याद थप गरेका छन्। 

अहिलेपनि कोरोना तीव्र रूपमा फैलिएको र जिल्लामा निषेधाज्ञा समेत जारी गरिएकाले काम प्रभावित हुने देखिएको छ। 

६ लेन सडक आयोजना कार्यालयका सूचना अधिकारी लक्षण रावलले आयोजना कार्यालयले सरकारले पूर्वाधार निर्माण कार्यमा कुनै रोक नलगाएकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनीहरूलाई निर्देशन दिइएको बताए। आयोजनाका अनुसार निर्माणको भौतिक प्रगति अहिले ९० प्रतिशत पुगेको छ। 

सडक निर्माणका लागि २०७४ सालको जेठ महिनामा १ अर्ब ६८ करोडको अनुमानित लागतमा पहिलोपटक ठेक्का सम्झौता भएको थियो। तर समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप हुँदै आएको छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस