सुदूर नेपाललाई विश्वसँग जोड्दै

कामदार आउनै छाडेपछि कैलालीमा हुलाकी राजमार्ग स्तरवृद्धिको काममा ढिलासुस्ती

२०७८ वैशाख २२, ११:३८ सरेन जैरू

धनगढीः कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको क्रममा आवश्यक समन्वय नहुँदा विकास निर्माणका कामहरू प्रभावित हुन थालेका छन्। 

तीव्र रूपमा फैलिएको कोरोना भाइरसको संत्रासले कामदारहरू काम छोडेर घर जान थालेपछि विकास निर्माणका कामहरू प्रभावित भएका हुन्। कामदारहरू आउनै छोडेपछि कैलालीमा हुलाकी सडक स्तर वृद्धिको काममा समेत ढिलासुस्ती हुन थालेपछि सम्झौता अवधिमा निर्माण सम्पन्न हुनेमा आशंका गरिएको छ। 

धनगढीको क्याम्पस चोकदेखि मनेहरासम्मको ३ किलोमिटर ४ लेन र बाँकी ४१ किलोमिटर हुलाकी राजमार्ग २ लेनमा गरी ४४ किलोमिटर सडक स्तर वृद्धिको काम अहिले ठप्प छ। 

हुलाकी सडक योजना कार्यालय धनगढीका इन्जिनीयर पदमबहादुर मडैले कोरोना भाइरसको त्रासले कामदारहरू काममा आउनै छोडेपछि कैलालीमा हुलाकी राजमार्ग स्तर वृद्धिको निर्माण कार्य प्रभावित बनेको बताए। ‘जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराएको छ तर कोरोना कहरका कारण कामदारहरू घर फर्किएकाले अहिले निर्माण कार्य ठप्प जस्तै छ।’ उनले भने। 

हुलाकी सडक स्तर वृद्धिका लागि गत असारमा ठेक्का सम्झौता भएको थियो। विभिन्न कारण सम्झौता भएको ४ महिनापछि अर्थात कार्तिकदेखि मात्र काम सुरू भएको थियो। अहिले कोरोना महामारी झनै बढेपछि निर्माण कार्य सम्झौता अवधिमा सकिनेमा आशंका उत्पन्न भएको छ। 

तर निर्माण कम्पनी तर स्वच्छन्द जोशी जेभीका प्रतिनिधि गणेशदत्त जोशीले भने निषेधाज्ञाले केहीदिन काम प्रभावित भएपनि अहिले पूर्ववत् रूपमा काम भइरहेको बताएको छ। उनले निर्धारित समयमा काम सक्ने दाबी गरे।

सम्झौता अनुसार आगामी ३० महिनाभित्र स्तर वृद्धिको काम सम्पन्न गर्नुपर्ने हो। तर जारी निषेधाज्ञाले निर्माण कार्य सम्झौता अवधिमा सकिनेमा आशंका गरिएको हो। 

अहिले धनगढीको क्याम्पस चोकदेखि मनहेरासम्मको ३ किलोमिटर ४ लेन सडकको भौतिक प्रगति १५ प्रतिशत मात्र भएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ। 

धनगढीदेखि कटैनीसम्मको ३१ किलोमिटर र कान्द्रा नदीदेखि सत्तीसम्मको १३ किलोमिटर सडक गरी ४४ किलोमिटर स्वच्छनन्द जोशी जेभी, लम्कीमा ८ किलोमिटर कालिका कुमार जेभी, १८ किलोमिटर एपेक्स खड्का कृष्ण जेभी र ७ सय ४१ मिटर राईमाझी जलवा जगदम्बा जेभीले सडक निर्माणको ठेक्का पाएको छ।

जारी निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालयले निर्माण कार्यमा कुनै प्रकारको रोकटोक नलगाएपनि कामदारहरूनै कोरोनाको त्रासले काम छोड्न थालेपछि विकास निर्माणका कामहरू प्रभावित हुन थालेका छन्।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस