सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी जीप दुर्घटना: मृतकको संख्या ५ पुग्यो

२०७८ वैशाख २१, ०४:५१ खबर संवाददाता

बैतडी: बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। 

उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र एक जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जीप दुर्घटना हुँदा सोही गाउँपालिकाको वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

यस्तै दुर्घटना परी घाइते भएका चालक तेजबहादुर बोहराको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष चन्दले बताए।

 दुर्घटनामा परी घाइते भएका अन्या ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको उनले बताए।

घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहनसिंह भण्डारी, ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी, ५० वर्षीय खेमसिंह भण्डारी र २४ वर्षीय दिलिपसिंह भण्डारी रहेका छन्।

जीप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। साँघुरो घुम्तीका कारण जीप दुर्घटनामा रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस