सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुपडीको म ! (कथा)

२०७८ वैशाख २१, ०३:२१

कहिलेकाहिँ तपाईंहरूले झुपडीमा बसेर आनन्द लिनुभएको छ ? विचित्र लागेर फेरि मनमा अर्को खुल्दुली आउँछ होला ! झुपडीमा पनि आनन्द रे ? 

हो आज म त्यहिँ कुरालाई मेरो ठम्याइबाट प्रष्ट्याउन खोजीरहेकी छु। समाजमा कहिलेपनि निष्क्रिय भएर बस्नुहुँदैन। जतिजति हामीले निष्क्रियतालाई प्राथमिकता दिन्छौं त्यति नै अरुबाट हेपाइ भएको महसुस हुँदै हामी आफ्ना लागि आफै बोझ बन्दै गएका हुन्छौं। त्यसैले जुनसुकै कालखण्ड र परिस्थितिमा वा जहिले पनि आफूलाई सक्रिय बनाई रहनुपर्छ।

म अब विषय प्रवेश गर्न चाहन्छु।

एउटा सानो गाउँ जसलाई चारैतिरबाट डाँडाकाँडाहरुले घेरेको छ। जुन गाउँमा म जस्ता हजारौं बालबालिकाहरुको जन्म भएको छ। जन्मनुमा ती हजारौंहरुको कुनै दोष थिएन। दोष त केवल चारैतिरबाट मेरो गाउँलाई ढाकेका ती डाँकाँडाहरुको थियो। जुन ठाँउको धरातलमा पाइला टेकेर अर्को ठाँउका दृश्य हेर्न म असमर्थ थिएँ। कारण थियो धरातलीय भू–बनोट।

यो ठाँउका धेरै मान्छेहरु आफूमा परिवर्तन ल्याउन गाउँ छाडेर सहरतिर लागेका थिए। समयले फड्को मार्दै गयो। झन्डै एक दशकपछि गाउँ छाडेर गएकाहरु सहरबाट केही दिनका लागि आफ्नो गाउँतिर आएका थिए। ती साथीहरूले मलाई सहर, महल र रहरका कुरा सुनाए। उनीहरु भन्थे ‘सहर गएपछि धेरै कुराहरू सिकिन्छ, गाउँमा पढेको भन्दा सहरमा पढ्दा अब्बल भइन्छ, धेरै जान्ने, सुन्ने भइन्छ। गाउँमा  बस्नु त मुर्खता मात्र हो।’

उनीहरुका कुरा सुन्नु बाध्यता थियो। रहर थिएन। किनकि म झुपडीको बासिन्दा थिएँ। सहर र महलमा बसेर ठूलो कुरा गरेका साथीहरूका जम्मै कुरा सुनिसकेपछि मैले पनि उनीहरुलाई गरिबी, दरिद्री र झुपडीका धेरै कुराहरू सुनाएँ। तर दुर्भाग्य मेरो कुरामा उनीहरुको कुनै चासो थिएन। किनकि म पिछडिएको गाउँघरमा बस्ने गरिब घरपरिवारको झुपडीबासी थिएँ। 

मैले पनि कत्ति नडराइकन हिम्मत नहारी गाउँका सबै कुराको वर्णन गरें। उनीहरूले मेरो कुराको बेवास्ता गरेपनि मेरो एउटै उद्देश्य ‘आखिर जसरी पनि तिनीहरुलाई मेरो प्रश्नको जवाफ दिन नसक्ने बनाउनु’ रहेको थियो।

सहरिया साथीहरूका सबै कुराहरू सुनेपछि मैले उनीहरुलाई दोहरो जवाफ दिन नसक्ने गरी प्रश्न गरें– सहर गएपछि परिवर्तन हुने भए किन दिनानुदिन सहरमा हत्या, हिंसा र बलात्कार जस्ता अपराधहरु भइरहेका छन् ?

किन असामाजिक क्रियाकलापले सहर विकृत भइरहेको छ ? दिनहुँजसो पत्रपत्रिका, रेडियो, अनलाइन सञ्चार साधन र  सामाजिक सञ्जालमा दिनानुदिन सम्प्रेषण हुँदै गइरहेको धरातलीय यथार्थता प्रति तपाईंहरू साँच्चै नै अनभिज्ञ हुनुहुन्छ ? आखिर यी अपराधी र हत्यारा बढी मात्रामा सहरमै त छन्। यस्तो सत्य कुरा देख्दादेख्दै पनि आडम्बर देखाउनु जायज हो त ?

यदि साँच्चिकै सहर र महलमा बसेपछि राम्रो, जान्ने।  बुझ्ने र अब्बल दर्जाको भइन्थ्यो भने ती हत्यारा अपराधीहरुले आफू अब्बल दर्जाको सहरिया भएको किन बुझेनन् ? के यो तपाईंहरूको सहरको विडम्बनापूर्ण वातावरण होईन ? बलात्कृत भएर हत्या गरिएका वा बलात्कार पछि मानसिक यातना भोग्न बाध्य भएका ती असंख्य दिदीबहिनी पनि तपाईं हाम्रा चेली होईनन् र ? आखिर यी घटनाहरु सहरमा घटिरहेका हैनन् ?

यदि सहर र महलमा बस्ने मान्छे मात्र ठुला बन्छन् भने हाम्रै गाउँमा जन्मेर त्यहिँको झुपडीमा बसेर, मकैको रोटी र  एकसरो लुगा खान लगाउन नपाएर, कापीकलम किन्ने पैसा नभएर, विद्यालयमा तिर्ने शुल्क पनि तिर्न नसक्ने मजस्ता झुपडीका हजारौं दाजुभाइ दिदिबहिनीहरुले जेनतेन जोहो गरी यहीँ गाउँको स्कुलमा पढीलेखी आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफलाई अग्रपंक्तिमा ल्याउन सफल भएका छन्। 

यदि हामी परिवर्तन चाहन्छौ भने गाउँको सानो झुपडीमा जन्मेकाहरुले पनि सिङ्गो विश्व परिवर्तन गर्न सक्छन्। झुपडीबाट भएपनि विश्वलाई नै हल्लाउन सकिन्छ। मात्र यत्ति हो तपाईंले थाक्नु भएन। 

मेरा यति कुरा सुनी सकेपछि उनीहरू नाजवाफ भएर आफ्नो बाटो लागे।

कथाकार: कौशिला भण्डारी
सलाहकार:  बिमला भण्डारी सामन्त

 

कमेन्ट लोड गर्नुस