सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका अस्पतालमा मृतकका शव १२ घण्टासम्म अस्पतालकै बेडमा

शव व्यवस्थापनमा ढिलासुस्ती

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख २०, ०७:५३ लखन चौधरी

धनगढीः बैतडीको मेलौली नगरपालिका ५ का आनन्द चन्द विगत ५ दिनदेखि आफ्नी ६८ वर्षीया आमा कोमद देवी चन्दको सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेका छन्।

कोरोना संक्रमण भइ स्वास्थ्य समस्या जटिल बनेपछि कोमद देवी चन्दलाई आईसीयूमा राखिएको छ। तर बिरामी आमासँगै रहेको अर्को आइसीयू बेडमा ज्यान गुमाएका संक्रमितको शव घण्टौंसम्म नउठाइँदा उनी निकै भयभित भएका छन्। 

उनले भने, “यहाँ हिजो(आइतबार) मृत्यु भएका संक्रमितहरुको शव आजसम्म उठाइएको छैन। २/३ दिनसम्म पनि यहै राखिएको छ। जसले यहाँ मनोवैज्ञानिक त्रास भएको छ।” 

पछिल्लो समय कोरोना संक्रमण विकराल रुप लिएसँगै सुदूरपश्चिममा मृत्यु दर बढेको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कोरोना संक्रमणबाट पछिल्लो २ सातायता दैनिक ५ देखि १२ जनासम्मको मृत्यु हुने गरेको छ। भने कोरोना अस्पतालमा संक्रमितको संख्या बढेसँगै प्रदान गरिने सेवाको गुणस्तर समेत खस्किदै गएको गुनासो बढेको छ।

यसैबीच शव व्यवस्थापन समयमा नहुँदा उपचाररत बिरामीसँगै अस्पताल सञ्चालकहरू समेतले हैरानी खेप्नु परेको छ। 

संक्रमितहरूको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ। तर स्थानीय प्रशासनको समन्वयमा शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले समयमा व्यवस्थापन नगर्दा समस्या हुँदै आएको हो। 

बैशाख १९ गते बिहान धनगढीस्थित कैलाली अस्पतालमा कञ्चनपुरका एक युवकको मृत्यु भएको थियो। तर उनको शव १० घण्टा बित्दा समेत उठाइएको थिएन। त्यसरी शव नउठाउँदा अस्पताल सञ्चालक नै चिन्तित बनेका हुन्। 

कैलाली अस्पतालका व्यवस्थापक जनकराज जोशीले भने, “हामी विरामीहरुको उपचारमा प्रतिवद्ध रुपमा लागेका छौ। तर कुनै केशमा मृ्तकले ज्यान गुमाउँदा समयमा शव नउठाइने समय छ। दिनभरि शव नउठाइँदा अन्य बिरामी असर पर्ने हुन्छ।”

पछिल्लो समय धनगढीका निजी अस्पतालहरूमा समेत संक्रमितहरूको उपचार भइरहेको छ। तर शव व्यवस्थापनको लागि जिम्मेवारी पाएको स्थानीय प्रशासन तथा नेपाली सेनाले तदारूकता नदेखाउँदा कोरोना संक्रमण अन्यमा पनि फैलिने चिन्ता बढेको छ। 

सरकारले संक्रमितको शव व्यवस्थापन कार्यविधि जारी गरेको छ। जुन कार्यविधि अनुसार नेपाली सेनाले परिवारको राय, धार्मिक संस्कार र सुरक्षा सतर्कताका मापदण्ड प्रयोग गर्दै शव व्यवस्थापन गर्दै आएको छ। 

तर कोरोनाबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा हुने ढिलासुस्तीले अन्य उपचाररत बिरामीमा मनोवैज्ञानिक असर परेको गुनासो बढेको छ। तर जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मृतकका आफन्तले समयमा नआउँने, शव जलाउने दाउराको व्यवस्था नहुँदा ढिलाइ हुने गरेको बताए। साथै उनले कुनै दिन २ भन्दा बढी शव व्यवस्थापन गर्नुपर्ने अवस्थामा पनि ढिलाइ हुने गरेको उनको भनाइ छ।
 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस