सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञापछि धनगढीमा समन्वयको अभावले क्षेत्रीय सहरी विकास अन्तरगतका सडकको काम प्रभावित

२०७८ वैशाख १८, १२:४४ कमल सावद

धनगढीः संघीय सरकारको क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत निर्माणाधिन धनगढीका सडकहरुमा काम गर्दै आएका कामदारहरु पलायन भएका छन्।

स्थानीय प्रशासनले कैलालीमा निषेधाज्ञा जारी गरेपछि उनीहरु काम छोडेका छन्। आयोजना कार्यान्वयन गर्ने निकाय, निर्माण व्यवसायी तथा स्थानीय प्रशासनबीचको समन्वयको अभावका कारण सडक निर्माणको काम ठप्प हुने देखिएको छ। तर निर्माण व्यवसायीले क्षेत्राधिकार खाली नभएकाले काम गर्न समस्या भएको बताएको छ। 

क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत धनगढीमा निर्माण हुने ७ सडक मध्य ४ सडकमा निर्माणको काम थालिएको थियो। तर स्थानीय प्रशासनले विहीबारदेखि जिल्लामा निषेधाज्ञा जारी गरेपछि निर्माण थालिएका सडकको काम समेत प्रभावित हुने देखिएको छ। 

सवारीको चाप न्यून भएको बेला सडक निर्माणको काम गर्न सहज हुने भएपनि भारतीय कामदार गएपछि काम ठप्प हुने देखिएको हो। क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन ईकाईका सूचना अधिकारी झंक थापाका अनुसार भारतीय कामदारहरु गएका हुन्। 

“कामदारहरु मध्ये केही भारत भएका छन्। उनीहरु नभएपछि काम सुस्त देखिएको छ। लकडाउनका कारण उनीहरु गएका हुन्। मानिसलाई काम भन्दा पनि ज्यान प्यारो भएको छ,” उनले दिनेश खबरसँग भने।

संघीय सरकारले क्षेत्रीय शहरी विकास आयोजनामार्फत धनगढीमा १० किलोमिटर बढी सडक कालोपत्रे गर्दैछ। आयोजना कार्यान्वयन ईकाई, निर्माण कम्पनी र स्थानीय प्रशासनबीचको सम्वन्यको अभावले सडक निर्माणको काम पूर्ण बन्द हुने अवस्था आएको हो। 

तर निर्माण कम्पनीले भने सडकको क्षेत्राधिकार, खानेपानीको पाइपलगायतका समस्या समाधान भएकाले काम गर्न समस्या भएको कालिका कन्स्ट्रक्सनका सम्पर्क व्यक्ती प्रकाश चन्द्र खरेलले बताए। 

उनले भने, “काम जारी छ। बन्द भएको छैन्। तर उहाँहरुले ठाउँ दिनु भएको छैन्। खानेपानीको पाइप समेत स्तान्तरण गर्ने काम भएको छैन्,।” 

कोरोना भाइरसको नयाँ प्रकारको संक्रमणको त्रासले कैलालीमा निषेधाज्ञा गरिएपछि कामदारसँगै निर्माण सामग्रीको समेत अभाव भएको हो। संघीय सरकारले एसियाली विकास बैँकको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत धनगढीमा १० दशमलव ५० किलोमिटर सडक कालोपत्रेका लागि गत साउन ३१ गते सम्झौता गरेको थियो। जसका लागि ७ वटा सडकको भ्याटसहित कालिका कन्ट्रक्सन प्रालिसँग ७६ करोड ९० लाख ७६ हजार रुपैँयामा २ वर्षभित्र सडक निर्माण सक्नुपर्ने भन्दै सम्झौता गरिएको छ।  

१ दशमलव ३८ किलोमिटरको धनगढी मुख्य सडक, संघीय प्रहरीदेखि चर्चसम्मको २ दशमलव ७ किलोमिटर सडक, ७ सय मिटरको क्याम्पस गेट–जखोरताल सडक, ३ दशमलव ६५ किलोमिटरको शहीद गेट–क्याम्पसरोड सडक, ८ सय ७० मिटरको डिभोटी–पिपलचौतारा सडक, १ दशमलव १५ किलोमिटरको हसनपुर सडक र ४ सय ३० मिटरको मालपोत सडक कालोपत्रेका लागि गत साउन ३१ गते सम्झौता भएको हो। ती मध्ये शहीद गेट–क्याम्पस रोड सडक, हसनपुर सडक, जाखोर ताल सडक र पिपल चौतारा–लवली चोक सडकको काम अघि बढेको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस