सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका अस्पतालः सेती, महाकाली र डडेल्धुरामा भेन्टिलेटर अभाव, ७ अस्पतालमा प्रयोगविहीन

२०७८ वैशाख १८, १२:१६ नारायण अवस्थी

धनगढीः प्रदेशभर कोरोना संक्रमण डढेलो झै सल्किएको बेला सुदूरपश्चिमका जिल्ला अस्पतालमा दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर थन्किएकोे छ। सेती प्रादेशिक अस्पपताल र महाकाली अस्पतालमा भने भेन्टिलेटर अपुग छ।

प्रदेश सरकारले गत वर्ष प्रदेशका अस्पतालहरुका लागि २० थान भेन्टिलेटर खरिद गरेर हरेक अस्पताललाई २÷२ थान वितरण गरेएको थियो। तर जिल्ला अस्पतालहरुमा उपकरण चलाउने दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकिएको पाइएको छ। 

डडेल्धुरा, सेती र महाकाली अस्पतालमा कोरोनाका बिरामीहरुको चाप अत्यधिक भएपनि भेन्टिलेटर अभावले उपचारमा निकै समस्या भइरहेको बेला सरकारले भने न जिल्ला अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न सकेको छ, नत थन्क्याइएका उपकरण ठूला अस्पतालमा नत ल्याउन सकेको हो। प्रदेश सरकारले प्रयोगमा आउन नसकेको उपकरण प्रयोगमा ल्याउन अझै ठोस योजना बनाउन सकेको छैन।

भेन्टिलेटर छ, जनशक्ति छैन
जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर संदिप ओखेडाले दिनेशखबरलाई भने, “अस्पतालमा २ थान भेन्टिलेटर आएको ५ महिना भइसक्यो। तालिम प्राप्त जनशक्ति नहुँदा चलाउन सकिएको छैन। प्रदेश सरकारलाई आवश्यक जनशक्ति माग गरेका छौँ। भेन्टिलेटरमा राख्नुपर्ने बिरामी आए डडेल्धुरा पठाउने गरेका छौँ।”

बझाङ जिल्ला अस्पतालमा मात्रै होइन तराईको टीकापुर अस्पतालसहित बेैतडी, दार्चुला, डोटी, अछाम र बाजुरा अस्पतालमा पनि प्रदेश सरकारले २÷२ थान भेन्टिलेटर उपलब्ध गराएपनि जनशक्ति व्यवस्थापन नहुँदा प्रयोगविहीन भएका छन्।

कोरोनाका बिरामीको निकै चाप रहेको कञ्चनपुरको महाकाली अस्पतालमा ६ ओटा भेन्टिलेटर छन्। ती सबै भेन्टिलेटर संक्रमितहरुको उपचारमा प्रयोग गरिएका छन्। 

“भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या ६ जनाभन्दा बढी भएभनि अस्पतालमा उपचार संम्भव छैन। थप बिरामीका लागि भेन्टिलेटसँगै जनशक्ति समेत थप्नुपर्ने हुन्छ।” महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डाक्टर गोबिन्द रोकायाले भने।

सेतीमा बेहाल
धनगढीको सेती प्रादेशिक अस्पतालमा प्रदेशभरबाटै कोरोनाका बिरामी उपचारका लागि आउने गरेका छन्। तर ५० शय्या क्षमताको कोरोना अस्पतालमा संक्रमित बढेपछि ५ शय्या थपेर ५५ शय्या बनाइएको छ। सेतीमा कोरोना उपचारको लागि ५ भेन्टिलेटर भएपनि २ वटामा समस्या आउँदा ३ ओटा मात्रै सञ्चालनमा रहेका छन्। 

“कोरोनाका बिरामी बढेसँगै अस्पतालमा स्थान समेत अभाव भएको छ। अस्पतालमा ग्यालरीमा समेत राखेर बिरामीको उपचार गनुृपर्ने अवस्था आएको छ भने बिरामीको अनुपातमा स्वास्थ्यकर्मीको संख्या समेत कम भएको बताइएको छ। कोरोना अस्पतालमा सरसफाईको समेत अभाव रहेको संक्रमितका आफन्ते बताउने गरेका छन्। अस्पतालमा २ जना स्टाफ नर्स मात्रै बिरामीको रेखदेखमा आउने गरेको बिरामीका आफन्तले गुनासो गरेका छन्। कोरोना अस्पतालमा शौचालय निकै फोहर भएको गुनासो गरिएको छ।

सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, “भेन्टिलेटरसँगै जनशक्तिको समेत अभाव भएको छ। अस्पतालमा ३ ओटा भेन्टिलेटर छ। २ भेन्टिलेटर पोर्टेबल छन्।”

’डडेल्धुरामा अक्सिजन अभाव
डडेल्धुरा अस्पताल अभाव नै अभावबाट गुज्रिरहेको छ। डडेल्धुरा अस्पतालमा ७ वटै जिल्लाका जटिल समस्या भएका कोरोना र अन्य विरामी उपचारमा लागि आउने गएका छन्। तर बिरामीलाई अत्यावश्यक अक्सिजन नै पुगाउन मुस्किल भइरहेको बताइएको छ। 

“अस्पतालका कोभिडका मात्रै अहिले १६ बिरामी उपचाररत छन्। अन्य बिरामीको चाप पनि धेरै हुन्छ। हामीलाई त अक्सिजनकै समस्या भइरहेको छ। जनशक्ति अभाव त छदैछ। सबै खाले बिरामीलाई हाइ–फ्लो अक्सिजन दिनुपर्छ तर अस्पतालमा आवश्यकताभन्दा निकै थोेरै मात्र अक्सिजन जेनेरेट भइरहेको छ” अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जगदिश बिष्टले दिनेशखबरसँग भने।

डडेल्धुरा असपतालमा ४ थान भेन्टिलेटर छन्। थप भेन्टिलेटर प्राप्त भएपनि जनशक्ति र स्थान अभाव हुने अस्पतालले जनाएको छ।

अलमलमा प्रदेश सरकार, स्थानीय सरकार बेखबर
प्रदेशमा संक्रमणको गति तीव्र भएको बेला सरकारले महामारी रोक्न प्रयाप्त ध्यान नदिएको गुनासो प्रदेशवासीको छ। जनशक्ति नभएका अस्पतालमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने नत्र बितरण गरिएका भेन्टिलेटर महामारी नथामिदासम्म डडेल्धुरा, महाकाली र सेती अस्पतालमा ल्याएर उपचारमा प्रयोग गर्नुुपर्ने आवाज उठ्न थालेको छ।

प्रदेश सरकारले गरेको निर्णय उपर आफूहरुले केही गर्न नसक्ने तर सेती अस्पतालका लागि भने २ थान भेन्टिलेटरको जोहो भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।

सुदूरपश्चिम प्रदेशमा संक्रमितको उपचारका लागि २३ ओटा भेन्टिलेटर खरिद गरिएको छ। महाकाली अस्पतालमा ६, डडेल्धुरा अस्पतालमा ४ र सेती प्रादेशिक अस्पतालमा ३ गरि जम्मा १३ भेन्टिलेटर प्रयोगमा भएपनि जिल्ला अस्पतालमा रहेका १० ओटा भेन्टिलेटर भने जनशक्ति अभावमा थन्किएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस