सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको उत्तराखण्डमा हिमताल फुट्दा ८ जनाको मृत्यु, ३ सय ८४ जनाको उद्धार

२०७८ वैशाख १२, ०६:०५ खबर संवाददाता

भारतमा हिमताल फुट्दा कम्तीका ८ जनाको मृत्यु भएको छ।  उत्तराखण्डको चमोलीमा शुक्रबार दिउँसो हिमताल फुट्दा तल्लो क्षेत्रमा बाढी आएको थियो।

बाढीपछि बोर्डर रोड्स अर्गनाइजेशन (बिआरओ) मा कार्यरत आठ जनाको शव भेटिएको र तीन सय ८४ जनाको उद्धार गरेको भारतीय सेनालाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ।

चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेको हो। त्यस क्षेत्रमा गएको पाँच दिनदेखि अत्याधिक वर्षा र हिमपात भइरहेकोले उद्धारमा कठिनाइ भएको सेनाले जनाएको छ।

उद्धारको काम भइरहेको र ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने खबरमा उल्लेख छ। हिमताल फुटेर गएको बाढी तथा पहिरोका कारण त्यहाँको सडक बन्द भएको भारतीय सेनाले जनाएको छ।

चमोलीमा गएको फेब्रुअरीमा पनि हिमपहिरोपछि बाढी आउँदा कम्तीमा ७० जनाले ज्यान गुमाएका थिए। हिमालय पर्वतमाला रहेको उत्तराखण्डमा हिम विपद्का कारण बर्सेनिजसो क्षति हुने गरेको छ।
 

कमेन्ट लोड गर्नुस