सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतमा कञ्चनपुरका पुरुष मृत फेला, घटना शंकास्पद

२०७८ वैशाख ९, ०८:०४ खबर संवाददाता

धनगढी: वैदेशिक रोजगारीका लागि कुवेत गएका कञ्चनपुरका एक पुरुष मृत फेला परेका छन्। करिब १२ वर्षअघि रोजगारीको शिलशिलामा कुवेत गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका ४६ वर्षीय घनश्याम महरा मृत फेला परेका हुन। 

आज(बिहिबार) नेपाल फर्किन लागेको भन्दै हिजो(बुधबार) फोन गरेर बताएका उनी हिजो नै आफु बस्ने कोठाको बाथरुममा मृत फेला परेको भन्दै उनका साथीले बताएको मृतकका भतिजा करण महराले बताए। 

करणका अनुसार उनका साथीले सुरुमा पीसीआर जाँच गर्न जाने क्रममा भ्यान पल्टिएर घनश्यामको मृत्यु भएको बताएपनि पछि उनैले बाथरुममा झुण्डिएको अवस्थामा शव फेला परेको बताएका थिए। साथै मृतकले मृत्युपूर्व फोनमा आफुलाई त्यहाँ डर लागिरहेको बताएका कारण घटना शंकास्पद भएको आफन्तहरु बताइरहेका छन्। 

अहिले शव परीक्षणको काम चलिरहेकाले उक्त रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने मृतकका भतिजा करणले बताए। 

मृतकको शव नेपाल ल्याउन श्रम तथा रोजगार मन्त्रालयमा आग्रह गरिएको मृतक घनश्यामका आफन्तले बताएका छन्। 

कमेन्ट लोड गर्नुस