सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरमा अवैध रुपमा माटो उत्खनन्, बस्तीमा मोहना नदी पस्ने चिन्ता

२०७८ वैशाख ७, ०७:२८ नारायण अवस्थी

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ जोरायल टोल र चपरतल्लामा मोहना नदी किनारको ऐलानी जग्गामा माटो उत्खनन् तीव्र भइरहेको पाइएको छ। 

मोहना करिडोर अन्तरगतको सो क्षेत्रको जग्गा सरकारी भएपनि व्यक्तिहरुले धमाधम माटो उत्खनन् गरेर बेच्ने क्रम बढेपछि मोहनाको बाढी बस्तीमा पस्ने चिन्ता स्थानीयले गरेका छन्। 

जोरायल टोल र चपरतल्लाको मोहना नदीको डिलको माटो बेचेर नदीको सतहभन्दा गहिरो पारिएको र हिड्ने बाटो समेत अवरुद्ध पारेको स्थानीयवासीले गुनासो गरेका छन्। नदीको किनारा तथा ऐलानी जग्गामा कुनैपनि प्रकारको उत्खनन् कार्य गर्नु गैरकानुनी कार्य भएकाले नदीको तटिय क्षेत्रमा माटो उत्खनन्मा रोक लाग्नुपर्ने माग गरिएको छ। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ जोरायल टोलको पश्चिममा बालुवा नाला छ भने पूर्वमा मोहना नदी छ। यो बस्तीले हरेक वर्षायाममा बालुवा नाला र मोहना नदीको कटान र डुबानको पीडा भोग्दै आइरहेको बताइएको छ। मोहना नदीको चपरतल्ला क्षेत्रको केही भागमा तटबन्ध समेत गरिएको छ। तर तटबन्ध नगरिएको ठाउँबाट केही व्यक्तिहरुले धमाधम माटो उत्खनन् गरेर बिक्री गर्न लाग्दा वस्तीमा मोहना पस्ने भन्दै चिन्ता गरिएको छ।

तटबन्ध गरेर बस्ती जोगाउन पहल गर्नुपर्नेमा केही व्यक्तिहरुले जवरजस्ती माटो बेच्न लागेको जोरायल टोलका स्थानीय युवा राजेश थापाले बताए। ‘बालुवा नालाको अवस्था पनि यस्तै छ। एकातिर बालुवा नाला छ भने अर्कोतर्फ मोहना नदी छ। दुबै तर्फबाट हामीलाई जोखिम छ’ उनले भने, ‘हाम्रो समस्या न सरकारले सुन्छ, न त समाजकै मान्छेले सुन्छन्।’

कृष्णपुर ९ कै चपरतल्लाको मोहनाको डिलमै माटो उत्खनन् गरेर मोहनाको सतह जतिकै गहिरो खाडल बनाइएको छ। सो ठाउँमा माटो उत्खनन् नगर्न आग्रह गर्दा समेत नमानेर आफुहरुको हिड्ने बाटो अवरुद्ध पारेको स्थानीयले गुनासो गरेका छन्। 

स्थानीय सरकारले बाटो, सडक, नदी ताल र सार्वजनिक क्षेत्रमा भइरहेका गैरकानुनी कार्य रोक्न पहल गर्नुपर्नेमा नागरिकले गुनासो गर्दा समेत माटो उत्खनन् कार्य रोक्न तत्परता नदेखाएको स्थानीयवासीको आरोप छ। 

तर वडा अध्यक्ष छत्र महराले भने जान्ने बुझ्नेले नै माटो बेचेको बताइरहेका छन्। ‘सबै जान्ने बुझ्ने र चेतनशील मान्छेले गरेका क्रियाकलाप हुन्। अब के भन्ने, विडम्बना छ हाम्रो समाजमा काम गर्नु’ उनले भने, ‘बोल्यो भने राजनीतिक प्रभाव पर्छ। जहाँ पनि बोल्न नपाइने अवस्था छ अहिले। राम्रो बोले पनि त्यस्तै नराम्रो बोले पनि त्यस्तै। समस्या छ।’

नदी क्षेत्र र ऐलानी जग्गा वनको अधिकार क्षेत्रभित्र पर्ने प्रदेश सरकारले जनाएको छ। मोहना नदी किनारको ऐलानी जग्गामा वन अधिकारी पठाएर अनुगमन गर्न र माटो उत्खनन्को काम रोक्न प्रदेश वन मन्त्रालयले आवश्यक सबै कदम चाल्ने बताइएको छ। प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले तुरुन्तै वन डिभिजन र सव–डिभिजनलाई फोन गरेर त्यहाँ माटो उत्खनन् हुन नपाउने गरी कारवाही गर्ने बताए।

मोहना नदी किनारमा तटबन्ध गरेर गाउँवस्तीको डुबान र कटान रोक्न काम हुनुपर्नेमा मनोमानी ढंगले माटो उत्खनन् गरिदा जोरायल टोलका सय घर परिवार र त्यही संख्यामा चपरतल्ला टोलका स्थानीय मर्कामा पर्ने देखिएको छ। 

मोहना करिडोर अन्तरगतको संरक्षित क्षेत्रमा नै माटो उत्खनन्ले मोहनाको बाढी, कटान र डुबानले दीर्घकालीन असर पर्नेतर्फ सोच्न र माटो उत्खनन् रोक्न तत्काल सरकारी पहल हुनुपर्ने स्थानीयले माग गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस