सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको नेतृत्वको लागि एमाले ‘ब्याक’, कांग्रेस आतुर !

२०७८ वैशाख ४, ०७:४९ लखन चौधरी

धनगढीः पछिल्लो ३ महिनायता सुदूरपश्चिम सरकार फेरबदलकोे चर्चा परिचर्चा हुँदै आएको छ। केही दिनयता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र सत्तासिन माओवादी केन्द्रबीचको नयाँ गठबन्धनको सरकार बन्ने चर्चा सुरु भएको छ। 
उसो त यसअघि पनि चर्चा नचलेको होइन। गत चैत १३ गते संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले धनगढी विमान स्थलमा पाइला टेक्ने बित्तिकै मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारको विकल्प खोज्नै पर्ने बताएका थिए। केही समय धनगढीमै बसेका मन्त्री लेखराज भट्टले सरकार गिराउने कसरत समेत गरे। तर उनी आवद्ध नेकपा एमाले ओली समूहले आफु अनुकुल अवस्था नदेखेपछि एकाएक पछि हट्यो।

वैशाखभित्रै सरकार बन्छ: नेता रावल
हाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा  सरकार बनाउने गृहकार्य सुरु गरेको छ। 

नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भने, “देश तरलतामा उभिएको छ। नेकपालाई जनताले केन्द्र र प्रदेशमा २ तिहाइ होइन, ३ तिहाइ नै दिएका थिए। तर उहाँहरुको अकर्मण्यताका कारणले देश धरासयी अवस्थामा छ। अब यस अवस्थामा नेपाली कांग्रेसको भुमिका आवश्यक परेमा, यो ३ वर्षमा गर्न नसकेको काम हामीले २०/२२ महिनामा गर्न सक्यौं भने प्रदेश भए, नभएको औचित्य पुस्टि हुन्छ।”

नेता रावलले नयाँ सरकार गठन वैशाख महिनाभित्रै हुने समेत दाबी गरेका छन्।

सरकार गठनको गृहकार्य कहिलेसम्म सार्थकता पाउँछ भन्ने जिज्ञासामा उनले अगाडि थपे, “नेतृत्व ठूलो कुरा होइन। अहिलेको अवस्थामा जनतालाई प्राथमिकता दिएर सबैले परिणाममुखी काम गरेर देखाउँपर्छ। धेरै दिन लाग्दैन। सकेसम्म वैशाख महिनाभित्रै गठनको काम हुन्छ। उहाँहरुको पनि केन्द्रदेखि प्रदेशसम्मको आ–आफ्नै माग छ। हामी छलफलमै छौ।”

साविक नेकपा विवादपछि प्रदेश सरकारका २ मन्त्रीको राजीनामापछि प्रदेश सरकार फेरबदलको चर्चा हुँदै आएको छ। नेकपा विवादपछि मुख्यमन्त्री भट्टले भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरालाई गत पुस १४ गते पदमुक्त गरेका थिए। भने अर्का मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पुस २२ गते पदबाट राजीनामा दिएका थिए। ती २ मन्त्रालयको जिम्मेवारी हालसम्म मुख्यमन्त्री भट्टले नै सम्मालेका हुन्। 

नेकपा विवादकै बीच सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि प्रदेश सरकार फेरबदलकै चर्चा हुँदै आएको हो।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना गरि ५३ जना प्रदेश सभा सदस्य रहेका छन्। माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका पूर्व मन्त्री झपट बोहरालाई निस्काष्कान गर्ने निर्णयपछि अब माओवादी केन्द्रका १३ जना मात्रै रहने छन्।

बहुमतको सरकार बनाउँनलाई यहाँ २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छन्। जस अनुसार नयाँ सत्ता समिकरणको विकल्प मध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको गठबन्धनको सरकारको चर्चा भइरहेको छ। कांग्रेसको १२ माओवादी केन्द्रको १३ र जसपाको २ जना गरि २७ जना प्रदेश सभा सदस्य पुग्ने भएकोले नयाँ सरकार बन्ने देखिएको हो। 

‘कसैसँग छलफल भएको छैन’
नेपाली कांग्रेसले पहल कदमी सुरु गरेपनि हालको सत्तासिन माओवादी केन्द्र भने प्रदेश सरकार हालसम्म सुरक्षित रहेको बताएको छ। तर राजनीति सबै विकल्प खुला रहेको बताउँदै माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले नयाँ सरकारबारे हालसम्म कुनै छलफल नभएको उल्लेख गरे।

प्रदेश सरकारको प्रतिपक्षी दल जसपाले पनि नयाँ सत्ता समिकरणबारे कुनै दलसँग छलफल नभएको दाबी गरेको छ। आफुहरुको माग मुद्दाबारे केन्द्रीय सरकारसँग छलफल जारी रहेकोले पर्ख र हेरको अवस्थामा रहेको बताउँछन् जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी।

हाल मुख्यमन्त्री त्रिलोचन भटट्लाई नेकपा एमाले (माधव)को समर्थनसहित संयुक्त सरकार रहेको छ। तर एमालेभित्रको ओली समूह भने सरकारको विकल्प खोज्नुपर्ने भन्दै लागेको छ। तर अल्प संंख्यामा रहेको ओली समूहले सरकार गिराउने कसरतबाट केही समययता पछि हटेको हो।

एमालेको अवस्था
प्रदेश सभामा नेकपा एमालेका २५ जना (सभामुख) प्रदेश सभा सदस्य रहेका छन्। जसमध्ये ६ जना मात्रै ओली समूह रहेका छन्। विधायन समितिका सभापति नेपालु चौधरी, प्रदेश सभा सदस्य लीलाधर भट्ट, ग्याल्बोसिंह बोहरा, पठानसिंह बोहरा, रतनबहादुर थापा र माया तामाङ ओली समूहमा छन्। बाँकी सभामुख बाहेक १८ जना प्रदेश सभा सदस्यहरु माधव समूहमा रहेका छन्।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस