सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालयमा योग र ध्यान कक्षा अनिवार्य

२०७७ चैत्र २९, ०६:१९ रासस

महोत्तरी: महोत्तरीमा अब योग र ध्यान विद्यालयका पठनपाठन र अभ्यासको थप विषय बन्ने भएको छ। 

जिल्लाको बर्दिवास नगरपालिकाले आफ्नो भूगोलभित्रका सबै सामुदायिक विद्यालयमा योग र ध्यानको अनिवार्य पठनपाठन र अभ्यासको थालनी गरेको हो। नगरभित्रका अहिले कायम ५२ सामुदायिक विद्यालयमा योग र ध्यानको पठनपाठन र अभ्यासका लागि एक/एक शिक्षकलाई प्रशिक्षित गरी अहिले पुनर्ताजगी अभ्यास गराउन थालिएको नगरपालिकाले जनाएको छ। 

“हामीले पहिलो चरणमा सबै सामुदायिक विद्यालयमा योग र ध्यानको पठनपाठन र अभ्यासका लागि एक/एक जना शिक्षकलाई तालिम दिएर प्रशिक्षित गराएका छौँ”, आज शिक्षक र अगुवा योग प्रशिक्षकका लागिको दोस्रो चरणको पुनर्ताजगी तालिममा नगरप्रमुख विदुरकुमार कार्कीले भने, “अब प्रशिक्षित शिक्षकले आ–आफ्नो विद्यालयमा विद्यार्थीलाई योग र ध्यानबारे सैद्धान्तिक र व्यावहारिक अभ्यास गराउनु हुनेछ।”

दुई महिनाअघि प्रथम चरणको योग र ध्यानबारे सातदिने तालिम लिएका शिक्षकलाई नगरपालिकाले योग र ध्यान सिकाउने गुरु ल्याएर आजदेखि थप सात दिनको पुनर्ताजगी अभ्यास गराउँदैछ। अहिले प्रथम चरणमा दिइएको तालिमभित्रकै विषयको सैद्धान्तिक पक्ष र अभ्यासको पुनर्ताजगी गराइने योग ध्यान प्रशिक्षक स्वामी ध्यान प्रेम आलोकले जानकारी दिए।

पुनर्ताजगी तालिममा दुई महिना पहिले पहिलो चरणको सैद्धान्तिक र अभ्यास कक्षामा सहभागी भएकै शिक्षक र केही अगुवा सामाजिक कार्यकर्ता सहभागी छन्। यो प्रशिक्षक प्रशिक्षण तालिम रहेको नगरपालिकाले स्पष्ट पारेको छ।

‘योग र ध्यान गरौँ, स्वस्थ रहौँ’ भन्ने उद्घोषसहित सुरु गरिएको अभ्यास कक्षामा स्वामी आलोकले अष्टाङ्ग ध्यान पद्धतिभित्रका आनायना, विपश्यना र ब्रह्मनाद ध्यानको सैद्धान्तिक ज्ञानसँगै अभ्यास गराइरहेका छन्। त्यसैगरी यस कक्षामा पतञ्जलि योगबारे सैद्धान्तिक ज्ञान र अभ्यास योग गुरु गणेश गैरेले गराउँदै छन्।

योग र ध्यानले मानिस अनुशासित हुनेसँगै स्वस्थ रहने र मानसिक विकार हटेर आनन्दको अनुभूति गर्नसक्ने ध्यान गुरु आलोकको भनाइ छ। विद्यालयमा अनिवार्य सुरु गरिने ध्यान र योगका सैद्धान्तिक छलफल र अभ्यासले समाजमा यसको अनुकरण गर्ने थपिँदै जाने आलोकले बताए।

नगरपालिकाले योग र ध्यानबारे आम जनचासो बढाउन नयाँ वर्षको थालनीसँगै थप दुई ठाउँमा अभ्यास कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। सर्वसाधारण सरिक हुनसक्ने गरी बर्दिवास–८ हाथीलेटको वेङ्खाडी बजार र बर्दिवास–६ को किसाननगरस्थित चौलिखा बजारमा योग र ध्यानको अभ्यास कक्षा सञ्चालन गर्न लागिएको नगरप्रमुख कार्कीले बताए।

ध्यान र  योगले शरीरलाई मात्र नभएर मनमस्तिष्कसमेत स्वस्थ हुने र मानिसलाई असल काममा लाग्न प्रेरक बन्ने ध्यान र योगगुरुको भनाइ छ। अब योग र ध्यानलाई जीवनको अभिन्न पक्ष बनाउन विद्यालयमा यस विषयलाई समावेश गरी पाठ्यक्रम नै बनाउनुपर्ने दुवै गुरुले बताएका छन्। प्रशिक्षक प्रशिक्षणसम्बन्धी पुनर्ताजगी अभ्यासमा १०० जना सहभागी छन्।

जिल्लाको सुदूर उत्तरवर्ती नगर बर्दिवासमा ध्यान र योगको विद्यालय कक्षा सञ्चालन गरिने तयारीले यहाँका अन्य स्थानीय तहमा पनि चासो बढाएको छ। योग र ध्यानबारे चासो बढाउन र विद्यालयमा यसबारे नियमित अभ्यास गराउन आपूmहरुले पनि पहलकदमी लिने बर्दिवाससँगै सीमा जोडिएको जिल्लाकै भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस