निसर्ग अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया
धनगढी: डोटीको आदर्श गाउँपालिका ७ की हरिना विष्ट घाँस काट्न जाँदा अचानक भीरबाट लडिन्। चैत्र १४ गते बिहान घर नजिकैको भीरमा घाँस काट्ने क्रममा लडेपछि उनको टाउकोमा गम्भीर चोट मात्रै लागेन टाउको र गर्दनलाई जोडाउने मेरुदण्डको हड्डी समेत भाँचियो।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा ल्याइएको थियो। १४ चैतमा गम्भिर घाइते भएकी विष्टको उपचार सफल भएपछि उनी बिहीबार घर फर्केकी छिन्।
श्रीमतीलाई घर लग्दै गर्दा उनका श्रीमान बहादुर विष्टले भने, ‘भीरबाट खसेपछि पुरै शरीर रगतले लतपतिएको थियो। शरीर पुरै लुलो थियो। अलिअलि सास मात्रै फेरेको थाहा हुन्थ्यो। हामीले त आसा मारिसकेका थियौँ। यहाँ ल्याएपछि मेरी श्रीमती बाँचिन्, निकै खुसी लागेको छ।’
निसर्ग हस्पिटलका न्यूरो सर्जन डाक्टर सुरेश सापकोटा, हाडजोर्नी रोग विशेषज्ञ डाक्टर श्रीराम खाती, ओमकार विष्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा, यादब जोशी, सुरज सुबेदी, लक्ष्मी खत्री, कल्पना बुढालगायतको टिमले विष्टको शल्यक्रिया गरेको हो।
‘बिरामीको टाउकोमा गहिरो चोट थियो, टाउकोलाई गर्धनमा अडाउने मेरुदण्डको दोस्रो हड्डी पनि भाँचिएको थियोे’, डाक्टर सापकोटाले भने, ‘बेहोस अवस्थामा आएको बिरामी शल्यक्रियापछि खुट्टामा उभिनसक्ने हुनुभएको छ। आफ्नै हातले खाना खाइरहनुभएको छ। आज अप्रेशनको पाँचौ दिनमा हामी उहाँलाई डिस्चार्ज गर्दैछौँ।’
भीरबाट खसेर गम्भीर घाईते भएकी विष्टको उपचार खर्च बाफत डोटी जिल्लाका सांसद प्रेमबहादुर आले मगरले २५ हजार आर्थिक सहयोग गरेको हरिनाका श्रीमान विष्टले बताए। केही दिनअघि मात्रै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले प्रदेशमै पहिलो पटक ‘ब्रेन ट्युमर’को सफल उपचार गरेको थियो।