छोराले फोनमा आत्तिँदै 'मलाई बचाउनुस्’ भनेको थियो, आमा मनमतीको कानमा अझै त्यही वाक्य गुञ्जिइरहन्छ ...
कर्तव्य ज्यान कि आत्महत्या दुरुत्साहन?
धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ उत्तर मंझराकी मनमती चौधरी आफ्नो २३ वर्षीय छोरा धिरज चौधरीको त्यो मध्यरातिको चित्कारले बेचैन बनेकी छिन्।
‘गोठमा आगो लगाउने तै होस् भनेर फलानाले...मलाई खेतमा लगेर कुट्दै छन् मम्मी ! मलाई बचाउनुस्’ छोराको आत्तिँदै र अत्तालिँदै गरेको त्यो फोन कलले उनी न त सुत्न सकेकी छिन्। नत बस्न सकेकी छिन्।
आमा मनमतीको कानमा अझै त्यही वाक्य गुञ्जिइरहन्छ ...
हुँदाहुँदै किटानी जाहेरीमा नाम उल्लेख भएका आरोपित व्यक्तिहरु प्रहरीको थुनाबाट मुक्त भएर एक्कासि गाउँ पुगेपछि उनको होस ठेगानमा छैन। न्याय पाउने आशामा कहिले प्रहरी, कहिले वकिल तथा कहिले मिडिया कहाँ धाउँदै आएकी उनी पीडक भनिएकाहरु गाउँ फर्किएर पनि विदेश जान थालेको खबरले उनलाई मरेतुल्य बनाएको छ।
धिरज चौधरीको गत फागुन २ गते ज्यान गएको थियो। मृतककी आमा मनमती चौधरीले मंझराकै स्थानीय पार्वती खड्का, कोपिला खड्का, निमसरा खड्का, दिनेश खड्का, मदन खड्का र यमराज खड्का विरुद्ध किटानी जाहेरी दिएकी थिइन्। गोठमा आगो लगाएको आशंकामा आफ्नो छोरालाई कुटपिट गरी झुन्ड्याएर मारेको भन्दै मनमतिले उनीहरु विरुद्ध जाहेरी दिएकी थिइन्। तर उनीहरुले आफूहरू निर्दोष रहेको जिकिर प्रहरीसमक्ष गरेर धरौटीमा छुटेपछि मनमतीले आफूमाथि अन्याय भएको भन्दै दुखेसो पोखेकी छिन्।
घटनाक्रम यस्तो रहेछ
धिरज चौधरी ल्याब टेक्निसियनको पढाइ सकाएर गत माघ २४ गते मात्रै घर फर्किएका थिए।
आफ्नो भविष्यको आशा र भारोसा ठानेकी मनमतीले छोरालाई लिन काठमाडौं आफै पुगिकी थिइन्। आमा छोराले सुनौलो भविष्यको मीठा–मीठा सपना बुन्दै घर फर्किएका थिए। श्रीमान जनक चौधरीले सौतेनी भित्र्याएपछि उनी छोराको पालनपोषणको जिम्मेवारी आफ्नो काँधमा लिएकी थिइन्।
कैलारी गाउँपालिका ६ बनकट्टामा माघ ३० गते आफन्तको विहेमा सहभागी भएकी मनमती फागुन १ गते गाउँबाट धनगढी फर्केकी थिइन्। उनको छोरा धिरज आफ्नी सानी आमा (मौसी) सिर्जना चौधरी र नानी (बजै) छलिया चौधरीसहित फागुन २ गते दिउँसो मझरा गाउँ फर्किका थिए।
मझराका भलमन्सा सुन्दर चौधरीका अनुसार फागुन २ गते राति करिब ११ बजे मनमति चौधरीको छिमेकी समेत रहेका स्थनीय मीनबहादुर खड्काको गोठमा आगलागी भएको थियो। सो आगलागी स्थानीय, इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले नियन्त्रणमा लिएको थियो। सो आगलागी नियन्त्रण गर्न मृतक धिरज चौधरी पनि पुगेको भलमन्सा चौधरी बताउँछन्।
रहस्यमय आगलागी
आगलागी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय हसुलियका प्रहरी हवल्दार भरत बिष्टको नेतृत्वमा प्रहरी टोली आगलागी स्थल पुगेको थियो। आगलागीपछि मुचुल्का तयार गरि प्रहरी टोली पौने १ बजे फर्किएको हो।
इलाका प्रहरी कार्यालय हसुलियाका सइ मनोज बोहराले खाना पकाउने चुल्होबाट सल्केको आगोबाट स्थानीय मीन खड्काको गोठमा आगलागी भएको घटना मुचुल्का तयार भएको जानकारी दिए।
आगलागी नियन्त्रणपछि स्थानीय र प्रहरी फर्किएपछि अर्को घटना घटेको प्रहरीले बताएको छ।
मृतक धिरजकी आमा मनमती चौधरीका आगो नियन्त्रणमा सहभागी भएर धिरज आफ्नो घर फर्किएका थिए। स्थानीय केही व्यक्तिले कुटपिट गर्न थालेपछि उनले धनगढी रहेकी आमा मनमतिलाई फोन गरेर घटनाबारे बताएका थिए।
उनले दिनेशखबरलाई भनिन्, “राति २ बजे मेरो छोराले ‘फालानाले मलाई कुट्दैछन् भनेर फोन गरेको थियो। गोठमा आगो लगाउने तै होस् भनेर मलाई खेतमा लगेर कुट्दै छन् मम्मी मलाई बचाउनुस’ भनेको थियो। मैले राति धेरैसँग सहयोग मागे तर पाइन्। गाउँ लगिदिने मान्छे पनि पाएन। श्रीमानलाई फोन गर्ने कोसिस गरे। तर लागेन। धेरै राति भइसकेको थियो।”
मनमती चौधरीले आफु धनगढीबाट अटो रिक्सामार्फत गाउँमा अबेर बिहान मात्रै पुगेको बताउँछिन्। त्यहाँ पुग्दा उनले आफ्नो छोरालाई रुखमा झुन्ड्याएको र गाउँलेहरुबाट घेरिएको अवस्थामा पाइन्।
“छोराको शरीरभरि माटैमाटो लागेको थियो। मारेर झुन्ड्याएको जस्तो थियो। छोराको अवस्था देखेपछि म बेहोस भएछु”, लामो सास तान्दै गहभरि आँसुपार्दै उनले भनिन्।
मृतक छोराले फोनमा भनेअनुसार नै आफुले फागुन ३ गते ती व्यक्तिहरु विरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेको तर त्यो जाहेरी दर्ता गर्न नमानेको उनी बताउँछिन्। त्यसको भोलिपल्ट फागुन ४ गते मात्रै निकै रोइ कराइ गरेपछि मात्रै जाहेरी दर्ता भएको मनमतिको गुनासो छ।
जाहेरी दर्ता भएपनि प्रहरीले फागुन १८ गते ती व्यक्तिहरुलाई पक्राउ गरेको थियो। तर घटनामा शंकास्पद व्यक्ति चैत १४ गते गाउँ पुुगेपछि उनी छाँगाबाट खसे झै भइन्।
“प्रहरीको कार्यशैली सुस्त भएपनि न्याय पाउँने आशामा थिए। तर जसको विरुद्ध किटानी जाहेरी दिएको थिए, उही मान्छे एक्कासी गाउँ पुगेको देखेपछि स्तब्ध भएको छु। प्रहरीले मलाई बिना जानकारी दिई छोडेपछि असुरक्षित महसुस गरेको छु”, उनले अगाडि थपिन्।
त्यस्तै उनले किटानी जाहेरीमा परेका दिनेश खड्का र कोपिला खड्कालाई प्रहरीले पक्राउ समेत नगरेको उनको भनाइ छ।
कल डिटेल हेरिएन
प्रहरी अधिकारी र आरोपितबीच आर्थिक चलखेलका कारण आफुुले न्याय नपाएको मनमतिको गुनासो छ। आफूले प्रहरीलाई पटक–पटक ‘कल डिटेल जाँच गर्न आग्रह गर्दा समेत प्रहरीले नमानेको मनमति बताउँछिन्। छोराको मोबाइल जिल्ला प्रहरी कार्यालयमा रहेको उनले जानकारी दिइन्। आरोपित व्यक्ति छुटेर विदेश गएको खबरले उनलाई झनै पिरोलेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले ६ जना विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको बताए। जिल्ला अदालत कैलालीमा धरौटी बुझाएर रिहा भएको प्रहरी नायव उपरीक्षक बिष्ट बताउँछन्।
त्यस्तै प्रहरीका अनुसार आरोपितहरुले धिरज चौधरीको घटनामा आफुहरुको कुनै संलग्नता नरहेको बताउँदै आएका छन्।
तर मृतककी आमा मनमतिले प्रहरीले जबरजस्ती आफुहरुलाई कर्तव्य ज्यान अन्तरगत हाल्नुपर्ने मुद्दालाई आत्महत्या दुरुत्साहन अन्तरगत मुद्दा हाल्न दबाव दिएको दाबी गरेकी छिन्।