सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी हुन् कैलाली, कञ्चनपुरका ८ रणनीतिक सडक, कुल लम्बाइ ४३९ किलोमिटर (नामसहित)

फाईल फोटो
फाईल फोटो
२०७७ चैत्र २६, ०६:५८ जनक विष्ट

धनगढीः संघीय सरकारले कैलाली र कञ्चनपुरमा पनि ८ वटा रणनीतिक सडक निर्माण गर्ने भएको छ। निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तरगत दुबै जिल्लाका ८ निर्वाचन क्षेत्रमा सडकहरु छनोट भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ। 

जस अन्तरगत कैलालीमा २ सय १४ किलोमिटर र कञ्चनपुरमा २ सय २५ किलोमिटर बराबरका ८ वटा निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण हुनेछन्। 

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा अन्दाजी ३३ किलोमिटर बराबरको महेन्द्र राजमार्गको बलचौरदेखि कटासे पूर्वी खैरी मोटिया जगतपुर हुँदै टीकापुर जोड्ने सडक छनोट भएको डिभिजन सडक कार्यालयले बताएको छ। 

कार्यालयका सूचना अधिकारी समेत रहेका इन्जिनीयर लक्ष्मण जोशीले कैलालीकै निर्वाचन क्षेत्र नम्बर २ मा १ सय १० किलोमिटर बराबरको चिसापानी कुहिने सोल्टा ताम्चा कोल्तडी हुँदै खिचडी सडक, क्षेत्र नम्बर ३ मा भारतसँग  जोड्ने २३ किलोमिटरको पहलमानपुर लालबोझी सडक पनि निर्माणका लागि छनोटमा परेको जानकारी दिए।

उनकाअनुसार क्षेत्र नम्बर ४ मा २३ किलोमिटरकै चौमाला गर्भा दरबार रिठे खोला शिवनगर सडक र क्षेत्र नम्बर ५ मा २५ किलोमिटरको कैलाली खुटिया पुल उर्मा भादा देवीगञ्ज गदरिया २५ घर फूलबारी सडक छनोट भएको छ। 

यस्तै, कञ्चनपुरमा ७० किलोमिटरको निर्वाचन क्षेत्र नम्बर १ को पुनवार्स नगरपालिकाको वडा नम्बर १०,  लालझाडी हुदै बेलौरी हुदै गोविन्द गौतम चोक जोड्ने सडक पनि सो कार्यक्रमका लागि छनोट भएको छ। 

निर्वाचन क्षेत्र नम्बर २ मा वेदकोट औद्योगिक क्षेत्र चाँदनीफाटा जडेपानी भम्का धरमपुर हुदै पिपलथला जोड्ने ७५ किलोमिटरको सडक र क्षेत्र नम्बर ३ मा ८० किलोमिटरको ब्रह्मदेव तिलकपुर रौटेला बागफाटा गोबरिया बडैपुर सडक परेको सूचना अधिकारी जोशीले जानकारी दिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडककको निर्माण कार्य शुभारम्भ भएको घोषणा गरेतापनि कैलाली र कञ्चनपुरमा छनोट भएका यी सडकमा कुनै खालको काम अगाडि बढेको छैन। 

सबै सडकमा २५ करोडका दरले बजेट विनियोजन भएको बताइएपनि हालसम्म अख्तियारी प्राप्त नभएको इन्जिनीयर जोशीले बताए। केही बाहेक अधिकांश सडकमा डीपीआर निर्माणको काम समेत नभएकाले चाडै गरिने उनी बताउँछन्। 

कतिपय सडकमा त स्थानीय तह र प्रदेश सरकार लगायतका निकायको समेत लगानी रहेको बताइएको छ। त्यस्ता सडककको हकमा यकिन गरेर मात्र काम थालिने सडक डिभिजन कार्यालयको भनाइ रहेको छ।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस