बझाङ्गमा पानी ट्याङ्की फुट्दा २ जनाको मृत्यु
बझाङ्गः बझाङ्गको तलकोट गाँउपालिका १ चौडामा पानी ट्याङ्की फुट्दा २ जनाको मृत्यु भएको छ।
पानी ट्याङ्की फुट्दा ५२ वर्षीय गोकुल कुँवरको घटनास्थलमै र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचार क्रममा मृत्यु भएको हो। घाइते भएकी सुन्दरीदेवी कुवँरको अमिसा अस्पताल चैनपुरमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रूपक खडकाले बताए।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत बनेको ट्याङ्कीमा पानी जम्मा गर्ने क्रममा फुटेको हो।
परियोजनाअन्तर्गत सेती नदीबाट लिफ्टिङ गरेर पानी गाउँमा ल्याइएको थियो। पानी ट्याङ्की चर्केर चुहिन थालेपछि एक साताअघि मर्मत गरिएको थियो। मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासी फुटेर घटना भएको स्थानीय गोपाल कुवँरले बताए।