सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गोली हानाहानः मालाखेतीकै डीएसपीलाई भजनी खटाउनुको कारण के हो ?

२०७७ चैत्र २४, ०४:१० जनक विष्ट

धनगढीः सोमबार साँझ नेपाल–भारत सीमा नजिकै कैलालीको भजनी नगरपालिका–३ स्थित मोरियाघाट नेपाल प्रहरी र तस्कर भनिएका भारतीयको समूहबीच गोली हानाहान भएको थियो। 

प्रहरीले ठूलो मात्रामा भारतबाट लागु औषध भित्रिरहेको भन्ने सूचनापछि सो क्षेत्रमा टोली परिचालन भएको र सोही क्रममा दोहोरो गोली हानाहान भएको जनाएको छ। 

दोहोरो भिडन्तका क्रममा गोली लागेर भारतीय नागरिक दिल्लु सिंह घाइते भएको जानकारी प्रहरी मार्फत नै सञ्चार माध्यममा सार्वजनिक भएको थियो।

भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका भनिएका ती सिंह भारततर्फ नै भागेको दाबी प्रहरीले गरेको छ। 

तर  प्रहरीले नियन्त्रणमा नलिएरै उनको पहिचान कसरी सम्भव भयो ? भन्ने जिज्ञासाको विषय बनेको छ।

सुराकीकै आधारमा नाम सार्वजनिक

मानिस पक्राउ नै नगरेर परिचय कसरी सार्वजनिक गरिएको भन्ने जिज्ञासामा जिल्ला प्रहरी कार्यालय कैलालीले भने सुराकीलाई आधार बनाइएकोे दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले सुराकीले दिएको सूचनालाई आधार मानिएको बताए। 

थापाले सुराकीले दिएको सूचनाअनुसार तिनै व्यक्ति घटनास्थलमा देखिएकाले सार्वजनिक गरिएको जनाए। थापाले गोली हानाहान भएपछि उनीसहितका व्यक्तिहरु भारततर्फ नै भागेको बताएका छन्। 

७८ किलोमिटर टाढा मालाखेतीकै डीएसपी किन पुगे ? 

सोमबार गोली हानाहान भएको क्षेत्रमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली खटिएको थियो। 

भजनीबाट ८ किलोमिटर नजिकै इलाका प्रहरी कार्यालय टीकापुरमा समेत डीएसपी नै प्रमुख रहेका बेला सोमबार भने करिब ७८ किलोमिटर टाढाबाट डीएसपीकै नेतृत्वमा प्रहरी टोली किन त्यहाँ पुग्यो ? 

करिब २१ किलोमिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालय सुख्खडमा पनि डीएसपी नै पुमख छन्। तर सोमबारको अप्रेशनमा मालखेतीका डीएसपी त्यहाँ खटिन पुगेका थिए। जुन जिज्ञासाको विषय बनेको छ। 

तर जिल्ला प्रहरी कार्यालय कैलालीले भने नेतृत्व इप्रका मालाखेतीका डीएसपीले गरेपनि जिल्लाबाटै टोली परिचालन गरिएको जनाएको छ।

कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले विशेष सूचनाका आधारमा जिल्लाले नै इप्रका मालाखेतीका डीएसपीको नेतृत्वमा टोली खटाएको जानकारी दिए।

के आउँदै थियो भारतबाट ? 
प्रहरी र भारतीय तस्करको समूहबीच दोहोरो गोली हानाहान भएपनि भारतबाट आइरहेको भनिएको अवैध सामान नेपाल प्रहरीले भने बरामद गर्न सकेको छैन। 

प्रहरी निरीक्षक थापाले भारतबाट ठूलो परिमाणमा अवैध रुपमा लागु पदार्थ भित्रिरहेको सूचनाका आधार प्रहरी परिचालन गरिएको तर उनीहरुले प्रहरीलाई देख्ने बितिकै तस्करको समूहले गोली चलाएका कारण सामान बरामद गर्न नसकिएको बताइएको छ।

भारतसँग कैलालीको १ सय १ किलोमिटर लामो सीमा जोडिएको छ। त्यो सीमा क्षेत्रमा अनगिन्ति अवैध बाटोबाट मालसामानको तस्करी हुने गरेको पाइएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा १४ वटा बीओपी राखेपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस