सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भीम रावल सक्रिय, प्रदेशको मन्त्रिमण्डल बिस्तारको तयारी !

२०७७ चैत्र २४, ०३:०२ जनक विष्ट

धनगढीः प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेका नेकपा एमालेका नेता भीम रावल सुदूरपश्चिममा सक्रिय बनेका छन्। 

कारबाहीमा परेपछि पहिलो पटक गृह प्रदेश पुगेका रावलले पार्टीका बैठक, विभिन्न भातृ संगठनहरुले आयोजना गर्ने भेलामा सक्रियता बढाएका छन् भने सुदूरपश्चिम प्रदेश सरकार बिस्तारका लागि समेत आन्तरिक गृहकार्य तीव्र पारेका छन्। 

समाचार सुत्रकाअनुसार रावलले प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेका छन्। 

एमाले संसदीय दलका नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई फिर्ता बोलाएर ४ जना एमाले र १ जना माओवादीका प्रदेशसभा सदस्यलाई मन्त्री बनाउनेगरि छलफल जारी राखेका छन्। 

“रावलले एमालेका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका प्रदेशसभा दीर्घ सोडारी, प्रदेशसभा सदस्य कुलविर चौधरी, पूर्णा जोशी, मनाकुमारी साउद र माओवादीका मानबहादुर धामीलाई मन्त्री बनाउदैछन्,” स्रोतले दिनेशखबरसँग भन्यो, “एमालेकै प्रदेशसभा सदस्य चुनकुमारी चौधरीलाई राज्यमन्त्री बनाउने तयारी छ।”

तर कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयको भने टुङ्गो नलागेको बताइएको छ। तर प्रदेशसभा सदस्यहरुले भने मन्त्रिमण्डल विस्तारको विषयमा कुनै खालको छलफल नै नभएको दाबी गरेका छन्। प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले त्यो विषयमा अहिले कुनै छलफल नभएको प्रतिक्रिया दिए।

प्रदेशसभा सदस्यहरुलाई अर्को समूहमा जानबाट रोक्न मन्त्रिमण्डल विस्तारमा रावल जुटेको बताइन्छ। 

तत्कालीन नेकपा विभाजनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले ओली निकट भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए भने आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट आफै राजीनामा गरेका थिए। 

त्यतिबेलादेखि दुवै मन्त्रालय मुख्यमन्त्री आफैले हेरिरहेका छन्। तत्कालीन नेकपाको सुदूरपश्चिम इन्चार्ज रहेका रावललाई एमाले ब्युँतिएपछि पार्टी विरोधी गतिविधि गरेको भन्दै ६ महिनाका लागि निलम्बनमा परेका छन्। 

धनगढीमा एमालेको माधव नेपाल पक्षीय प्रदेश विस्तारित बैठक पनि जारी रहेको छ। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस