सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासंघ बैतडीमा ‘लफडा’, मनोनयन पत्र च्यातियो

२०७७ चैत्र २३, ०३:२८ खबर संवाददाता

बैतडी: बैतडीमा पत्रकार महासंघको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ। यही चैत्र २५ गते हुने निर्वाचनका क्रममा मनोनयन पत्र च्यातिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो। 

सदस्यता वितरणका क्रममा गैर पत्रकारहरुलाई सदस्यता प्रदान गरिएको भन्दै अधिकांश पत्रकारहरु संघर्षमा उत्रिएपछि २२ गते आइतबारबाट हुने मनोनयन प्रक्रिया प्रभावित भएको थियो। 

निर्वाचन समितिले सोमबार बिहान ११ बजेसम्म मनोनयनको म्याद थपेपनि समझदारी जुट्न नसक्दा २ बजेसम्मका लागि म्याद दिइएको थियो। 

दिउँसो साढे एक बजे मनोनयन सुरु भएलगत्तै असन्तुष्ट समुहले मनोनयन पत्र च्यातिदिइका छन्। निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन समितिको कार्यालयमा आईतवारदेखि तालाबन्दी भएको छ। 

तालाबन्दी खुलाएर सहमती नगरी निर्वाचन प्रक्रिया अघि बढाएपछि विवादले चर्काे रुप लिएको हो।

जिल्लामा क्रियाशिल पत्रकारहरुले महांसघको सदस्यता नपाएको र गैर पत्रकारहरुलाई सदस्यता दिएको भन्दै बैतडीका अधिकांश पत्रकारहरु आन्दोलित भएका छन्। 

बैतडीमा जन प्रतिनिधि, शिक्षक, कर्मचारी, निर्माण व्यवसायी, संघ संस्थामा आवद्ध व्यक्तिहरु र बिमा कम्पनीका एजेन्टहरुलाई सदस्यता दिएर सक्रिय संचारकर्मीहरुलाई सदस्यताबाट बञ्चित गरिएको असन्तुष्ट पक्षको भनाई छ।

कमेन्ट लोड गर्नुस