सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय बाल नाटक महोत्सवमा एभरेष्ट एकेडेमी अत्तरियाको 'भूमिका' नाटक उत्कृष्ट

२०७७ चैत्र २३, ०३:२७ खबर संवाददाता

धनगढी: एभरेष्ट एकेडेमी अत्तरियाले बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सवमा प्रस्तुत गरेको नाटक भूमिकाले उत्कृष्ट उपाधि प्राप्त गरेको छ। 

चैत्र १ गतेबाट सुरु भएर चैत्र २१ गते सम्पन्न भएको नाटक महोत्सवमा देशै भरीबाट करिब तीन दर्जन नाटक सहभागी भएका थिए। उत्कृष्ट उपाधि प्राप्त गरेको भूमिका नाटक बलात्कारजन्य अपराध र हत्याका घटनामा आधारित भएर मञ्चन गरिएको थियो। 

यस नाटकको लेखन तथा निर्देशन रंगकर्मी तथा निर्देशक पुष्पराज अवस्थीले गरेका थिए। निर्देशक अवस्थी एक दशकदेखि काठमाडौंमा रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा सक्रिय रहेका छन्। उक्त नाटकमा सुनिल पन्तको कोरियोग्राफी एवम् सहायक निर्देशन थियो भने एभरेष्ट एकेडेमीका दश जना विद्यार्थीहरुले अभिनय गरेका थिए। 

नाटकमा आशा भट्टराई, आर्या महरा, नेहा सिंह, सुनिता विष्ट, इशा गोर्खाली, प्रिती ठाकुर, युवराज भट्टराई, निरज रावल, दीपक भट्टराई, हेमन्त भट्ट आदिले अभिनय गरेका थिए। बाल नाटक महोत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, शैली थिएटर र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र काठमाडौंद्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो। 

उक्त नाटक धनगढी तथा अत्तरीया क्षेत्रमा पुनः मञ्चन गर्ने तयारी भईरहेको एभरेष्ट एकेडेमीका प्राचार्य स्माईल चौधरीले बताए।

कमेन्ट लोड गर्नुस