बैतडीमा पत्रकार महासंघको सदस्यता नपाएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी
धनगढी: यही चैत्र २५ गते हुने पत्रकार महासंघको चुनावका लागि बैतडी जिल्लामा स्थापना गरिएको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरीएको छ।
जिल्लामा क्रियाशील पत्रकारहरुले पत्रकार महांसघको सदस्यता नपाएको भन्दै तालाबन्दी गरेका हुन्। बैतडी जिल्लामा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, निर्माण व्यवसायी, संघ संस्थामा आवद्ध व्यक्तिहरु र बिमा कम्पनीका एजेन्टहरुलाई सदस्यता दिँदा पनी आफुहरुलाई सदस्यता नदिएको भन्दै तालाबन्दी गरेका हुन्।
पत्रकार महासंघको विधान विपरित राजनैतिक पुर्वाग्रहको आधारमा पत्रकार महासंघका अध्यक्षले सदस्यता वितरणमा मनोमानी गरेको रेडियो निङ्लाशैनीका पत्रकार पवन अवस्थीको आरोप छ। बैतडीका ३० जनाभन्दा बढी क्रियाशील पत्रकारहरुलाई सदस्यता नदिएको उनले बताए।
पत्रकार महासंघ बैतडीमा सदस्यता वितरणमा अनियमितताका साथै आर्थिक अनियमितता समेत गरेको अर्का पत्रकार प्रकाश भट्टको आरोप छ।