सुदूरपश्चिम प्रदेशमा वनको ठूलो हिस्सा डढेलोका कारण सखाप हुने चिन्ता
धनगढी: सुदूरपश्चिम प्रदेशका विभिन्न वनहरुमा डढेलो दन्किरहेका बेला वन कर्मचारी तथा समुदायिक वनका पदाधिकारीहरु भने गोष्ठीमा मात्र सङ्कुचित भइरहेको पाइएको छ।
विगत केही सातादेखि सुदूरपश्चिम प्रदेशको चुरे, महाभारत क्षेत्रका साथै तराईका भावर क्षेत्रमा समेत डढेलो दन्किरहेको छ। गएको २४ घन्टामा मात्रै २० भन्दा बढी क्षेत्रमा वन डढेलो दन्किरहेको खबर छ।
तर वन सुरक्षाको अभिभारा पाएका वनका कर्मचारीहरु सुरक्षा संयन्त्रलगायत सामेल गोष्ठीमा व्यस्त भइरहेका छन्। वन डढेलो निभाउन छिटफुट बाहेक संगठित प्रयास नहुँदा अहिले सुदूरपश्चिमको वन डढेर नास हुने चिन्ता बढेको छ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी डढेलो चुरे क्षेत्रको वनमा लागेको छ, जहाँ दिनदिनै नयाँ नयाँ सामुदायिक वा राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको देख्न सकिन्छ। सो क्षेत्रको वनको सुरक्षाको जिम्मेवारी पाएका सब–डिभिजन वन कार्यालय सहजपुरका प्रमुख जिवछा यादव धनगढीमा छन्।
उनी डिभिजन वन कार्यालय धनगढीले आयोजना गरेको गोष्ठीमा सहभागी हुन धनगढी आएका हुन्। चुरे क्षेत्रबाट धनगढी आएका उनले बाटोमा धेरै ठाउँमा वन डढेलोले दन्किरहेको देखे। उनले भने, ‘धनगढी आउदा बाटोमा डढेलो लागेको देखियो। केहि ठाउँमा निभाएका पनि छाैं। चुरे क्षेत्र ठूलो भएकाले निभाउन कठिन छ।’
कैलालीको चुरे क्षेत्रसँगै सुदूरपश्चिम प्रदेशका अन्य वनहरुमा समेत डढेलो लागेको छ। सुदूरपश्चिमको चुरे क्षेत्र, मध्य भावर क्षेत्र, तथा तराईका कैलाली–कञ्चनपुरका भावरहरुमा पनि डढेलो छ।
तराई क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि प्रयासहरु भएपनि पहाडी क्षेत्रको डढेलो नियन्त्रणमा भने प्रयास समेत नभएका हुन्। जंगलमा डढेलो दन्किरहेका बेला वन कार्यालयहरु वन संरक्षण गोष्ठीमा व्यस्त रहेका हुन्।
प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टपनि आइतबार बिहान गोष्ठीमैँ थिए। उनले बिहान फोन गर्न भनेका थिए। दोस्रो पटक फोन सम्पर्क गर्दा उनले भने, ‘निर्देशनालयले समुदायिक वन, वनका कर्मचारीसँग अन्तिक्रिया छलफल गर्दै आएको छाैं। उहाँहरुका लागि आवश्यक सामग्री समेत वितवण गरेको छौ।’
यो वर्ष वर्षा नभएर खडेरी परेकोले सुख्खा सुरु भएदेखि धेरै वनमा डढेलो लाग्न थालेको वन अधिकारी बताउँछन्। अहिले वनमा आगो लागेको बेला उनीहरू भत्ता सुविधा समेत पाइने गोष्ठीमा व्यस्त भएको भन्दै वन पदाधिकारीको तीव्र आलोचना भइरहेको छ।
वन कर्मचारी, सामुदायिक वन तथा सरकारको गम्भीर लापरबाहीका कारण सुदूरपश्चिमको वनको ठूलो हिस्सा खरानी हुँदैछ। यता प्रदेशको वन मन्त्रालय भने डढेलो नियन्त्रण सप्ताहलाई प्रमुख उपलब्धी मान्दैछ। सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भरतप्रसाद श्रेष्ठले चैत १ गतेदेखि ७ गते सम्म डढेलो नियन्त्रण सप्ताह मनाएको बताए।
अहिले सुदूरपश्चिम प्रदेशको कति वन क्षेत्रमा डढेलो लागेको छ, त्यो तथ्याङ्क सरकारसँग छैन। ठाउँ ठाउँमा बस्ती नजिकै डढेलो निभाउन समुदाय सक्रिय खटेको देखिएपनि डढेलो निभाउन सरकारी तदारुकता देखिएको छ।
अहिले सुदूरपश्चिमको चुरे क्षेत्र, मध्य भावर क्षेत्र, तराईको समथर भू–भागको वन डढेलोले सखाप पार्न थालेपछि वन पैदावरसँगै जंगली जनावरहरु समेत मर्न थालेको अनुमान गरिँदैछ।
वनमा डढेलो लागेसँगै जनावरहरू पनि वन क्षेत्र बाहिर भौँतारिनु पर्ने अवस्था आएको छ।