बैतडीका सबै स्थानीय तहमा ल्याब सेवा, स्थानीयलाई सहज
डीआर भट्ट, बैतडी : ग्रामीण भेगकै स्वास्थ्य संस्थाहरुमा ल्याब सेवा सञ्चानल आएपछि बैतडीका स्थानीयहरुलाई सहज भएको छ। रगत परीक्षणक लागि पनि सदरमुकामा धाउनुपर्ने नागरिकहरुलाई अहिले गाउँकै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन भएपछि सेवा लिन सहज भएको हो।
अहिले जिल्लाका २१ ठाउँमा ल्याब सेवा सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय बैतडीका ल्याब सम्पर्क व्यक्ती एवम् ल्याब टेक्निसियन जयसिंह बडालले जानकारी दिए।
उनका अनुसार दशरथचन्द नगरपालिकामा ३ , पाटनमा ३, पुर्चौडीमा ४ र मैलौलीको २ ठाउँमा ल्याब सेवा सञ्चालनमा रहेको छ। यस्तै सुर्नयामा २, पञ्चेश्वरमा ३, सिगासमा २ ठाउँबाट सेवा सञ्चालन छन् भने, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र शिवनाथ गाउँपालिकाका १/१ ठाउँमा ल्याब सेवा प्रवाह भइरहेको छ।
पञ्चेश्वर गाउँपालिकाको गिरेगडा र सिगास गाउँपालिका बाहेक सबै प्रयोगशालाबाट ल्याब सेवा सञ्चालनमा रहेको ल्याब टेक्निसियन बडालले बताए। ती ठाउँहरुबाट पनि छिट्टै सेवा सुरु गर्ने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
रगत परीक्षण गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेकोमा ल्याब सेवा सञ्चालनमा आएपछिसहज भएको सुर्नया गाउँपालिका वडा नम्बर ३ की मोती भट्टले बताइन्।
ल्याब सेवाका लागि समस्या झेलिरहेका ग्रामीण भेगका नागरिकहरुलाई पाइक पर्ने स्वास्थ्य संस्थामा सेवा सञ्चालन भएपछि सहज भएको बाशुलिङ्ग स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्र विष्टले बताए।