सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टीको निर्देशनअनुसार एमाले सुदूरपश्चिम संसदीय दलको बैठक किन बस्न सकेन ?

२०७७ चैत्र २१, १२:१५ जनक विष्ट

धनगढीः सर्वोच्च अदालतले पार्टी ब्युँताएपछि गत चैत १५ गते बसेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिको बैठकले प्रदेश संसदीय दलको बैठक बोलाउन निर्देशन दिएको थियो। 

भोलिपल्ट दिउँसो १ बजे बैठक बोलाउन निर्देशन दिइएपनि एकाएक स्थगीत गरिएको थियो। त्यसयता अहिलेसम्म बैठक बस्न सकेको छैन। तर एमालेले होलीको कारण देखाउँदै बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत गरिएको जनाएको छ। 

नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले त्यो समयमा होली भएका कारण धनगढीमै सबै सांसदहरु उपलब्ध नभएकाले बैठक बस्न नसकेको बताए। उनले अहिले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगीत गरिएको बताउँदै अन्य कुनै कारण नभएको जनाए।

अनौपचारिक रुपमा विभाजित देखिएको एमाले भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका पदाधिकारीहरुको बैठकले गरेको निर्णयमा भने माधव नेपाल पक्षले असन्तुष्टि जनाउदै त्यसलाई अस्वीकार गर्ने चेतावनी दिएको थियो। 

हाल एमाले संसदीय दलका नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले बैठक बहिष्कार गर्ने बताएका थिए। 

असंवैधानिक तबरले बोलाइएको बैठकको कुनै अर्थ नहुने टिप्पणी उनीहरुको थियो भने अर्को समूहको पार्टी विरोधी गतिविधी गर्ने मन्त्री तथा सांसदमाथि कारवाही गर्ने, संसदीय दलको नेता फेर्ने जस्ता निर्णय गर्ने भय पनि उनीहरुको रहेको दाबी गरिन्छ। 

तर एमाले कैलालीका अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य रतन थापाले भने केन्द्रीय कमिटिको निर्देशनअनुसार तत्काललाई संसदीय दलको बैठक स्थगीत भएको बताए। 

उनले माओवादीले संघीय सरकारलाई दिएको समर्थन कायमै राखेकाले तत्काल प्रदेशमा पनि अर्को समिकरण बन्ने सम्भावना नभएका कारण बैठक नबसेको तर आवश्यक पर्ने तयारी सकिएकाले छिट्टै बैठक बस्ने जनाए। 

तर माधव नेपाल पक्षीय प्रदेशसभा सदस्यहरुले भने संसदीय दलको नेता प्रकाशबहादुर शाहले बोलाएको बाहेकका बैठकमा नजाने अडान कायमै राखेका छन्।

नेपाल पक्षीय प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले संसदीय नेताको हैसियतमा शाहले बोलाउने बैठकमा आफूहरु सहभागी हुने तर अरु कसैले बोलाएको बैठकमा नजाने बताए। 

एमाले अध्यक्ष ओलीले पार्टीका उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम इन्चार्ज भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइसकेका छन्।

रावलमाथी पार्टी विरोधी काम गरेको भन्दै ६ महिना निलम्बनको कारवाही समेत गरिएको छ। सुदूरपश्चिममा समेत सोही अभियोग लगाएर केही मन्त्री र प्रदेशसभा सदस्यलाई कारवाही गर्ने तयारी रहेको बताइएको छ।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस