वैदेशिक रोजगारी: कोभिड महामारीबीच पनि भारत–नेपाल सीमाबाट भारत आउजाउ बाक्लै, स्वदेशमैँ रोजगारी कहिले?
धनगढीः कोभिड महामारीको कहर जारी रहेपनि भारत–नेपाल नाकाबाट आउजाउ गर्ने नेपालीको भिड कम हुन सकेको छैन।
कामको लागि विदेशिनु पर्दा आफूहरूले अनेक हन्डर खानु परेको भन्दै सीमानाकामा भेटिएका नेपालीले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरेका छन्।
बेरोजगारीको समस्याले पीरोलिएका झण्डै ६ लाख सुदूरपश्चिमवासी सदियौँदेखि कामको खोजीमा खासगरी भारत जाने गरेको पाइएको छ। त्यो क्रम घट्ने भन्दा पनि फैलिने क्रममा रहेका छ किनभने अचेल यहाँका नागरिक कामको लागि तेस्रो देश पनि जान थालिसकेका छन्। तर पनि धेरैको रोजाइ घर पायकको भारत नै हुने गरेको छ। आज भारत प्रवेश गरेका अत्तरियाका दुर्गेश क्षेत्रीले भने, "नेपालमा अवसर भए त नेपालमै काम गर्ने थिए। अवसर, रोजगारी र सुविधा छैन त्यसैले बाध्य भएर भारत जानु परेको छ। जाने रहर त थिएन तर के गर्नु?"
गौरीफन्टा नाकाबाट दिनहुँ एक हजार जना घर फर्कि रहेका छन् भने सो भन्दा बढी भारत गइरहेको अधिकारीहरुले बताएका छन्। सीमा नाकामा भेटिएका नेपालीहरुले भने भारत जानुको विकल्प नहुँदा मनले नमानेर पनि विदेशिनु परेको बताएका छन्। डोकेबजारमा भेटिएका सुनिल विकले हात मुख जोड्न भारत जानु परेको बाध्यता सुनाए।
“नेपालमा रोजगारीका अवसर छैनन्। कृषि गर्न, कुखुरा बाख्रा पालन गर्दा पनि किसानलाई फाइदा छैन। जताततै भ्रष्ट्राचार मात्रै छ। अनि हामीले रोजगारीका लागि भारत नै जानुपर्ने बाध्यता दोहरिइ रहन्छ।”
डोटीको सायल घर भएका ५६ वर्षीय विर्खराज गिरिले भने अव भारत नजाने भनेर कसम खाएर फर्किएको बताए। १६ वर्षको उमेरमा मुम्बई गएको बताउने गिरि विदेशमा बस्नुको पीडा शब्दमा बयान गर्न नसकिने बताउँछन्।
“१६ वर्षको हुँदा भारत गएको थिए। अहिले ५६ वर्ष भयो। अव भने भारत नजाने, गाउँमै तरकारी खेती गर्ने योजना छ। विदेशमा निकै दुःख पाए। अब नआउने भनेर घर फर्किको।” गिरिले भने।
यहाँ निकै चर्चित रहेको गीत ‘बम्बइ जाने रेलगाडीका’ र अन्य भारतीय परिवेश जोडिएका लोकभाका सदियौँ देखि सुदूरपश्चिमवासी कामको लागि भारत जाने गरेका गतिला प्रमाण हुन्। देशमा दश वर्षे सशस्त्र द्वन्द्व समापन भएको १५ वर्ष पूरा भइसक्दा पनि पर्यटन कृषि र उद्योगधन्धाको विकास हुन बाँकी नै छ, र ती मार्फत सृजना हुन सक्ने रोजगारीका अवसरपनि खाली नीति निर्माता र नेताका भाषण र नारामा मात्रै सीमित छन्। बेरोजगारी र उद्यमविहीनताको यो अवस्था अझै कहिलेसम्म रहिरहने हो प्रस्ट छैन।त्यो नभएसम्म गौरीफन्टामा दैनिक लाग्ने नेपालीको लर्को नहट्ने कल्पना सहजै गर्न सकिन्छ।
रोजगारीको खोजीमा नेपालीहरू लगातार भारत धाइरहनु पर्ने बाध्यताकै सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका उपसचिव एवम् स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक निर्मल ढकाललाई रोजगारीको लागि भारत जाने नेपालीको ताँतीलाई रोक्न तपाईँहरूले के के काम गर्दै हुनुहुन्छ भनेर सोधिएको थियो।
ढकालले स्वरोजगार कोषको सञ्चाल पछि हरेक वर्ष एक हजारबढी युवाले रोजगारी पाउने दाबी गरेका छन्। उपसचिव ढकालले भने, “स्वरोजगार कोषको सञ्चालनसँगै अन्य आर्थिक अनुदान, सुलभ कर्जा र बैकंहरु मार्फत सस्तो कृषि ऋणका माध्यमबाट बेरोजगारी घटाउने कार्यक्रमा माफर्त भारत जाने संख्या केहि वर्षभित्र निकै कम गर्ने योजना प्रदेश सरकारको रहेको छ।”