दीपायल संघर्षका ३ सय ७१ दिन
२०७४ असोज ६ गते देखि दिपायल राजधानी हुनुपर्छ भनेर डोटिका जनतालाई सडकमा उतारेर हामीले ३ सय ७१ दिन सम्म दिपायल राजधानीका लागि लागातार संघर्ष गरिरह्यौ। पुस १२ गतेदेखि भएको ६४ दिने आन्दोलनमा त डोटीले ठुलो क्षति व्यहोर्नपर्याे। कतिपय घाइते भए व्यापार व्यवसायमा पनि ठुलो घाटा भयो।
तर जनताले मतबाट विजयी भएका जनप्रतिनिधिहरुले दिपायल राजधानी नचाहेर गोदावरीमा राजधानी हुनुपर्छ भन्दै प्रदेश सभामा मतदान गरे। डोटिको ईतिहासमा २०७५ असोज १२ गते देखि पुर्णबिराम लगाईएको छ। दशै तिहार चाडपर्वको मुखमा दिपायलमा आयोगको परिक्षा चलिरहेका बेला प्रदेश सरकार र जङ्गल माफियाहरुले बहुमतको दम्भमा चोर बाटोबाट ल्याएको प्रस्ताव कदापी हामीलाई स्विकार्य छैन। चाडपर्वको मुखमा अब डोटेली जनताले बन्द हड्ताल गर्ने औचित्य समाप्त भएको छ।
अबका दिनमा डोटीमा रहेका व्यवसायीहरुलाई निर्धक्क तवरले व्यवसाय गर्ने बाताबरण तयार गर्न हामी सबैले एकबद्ध हुनुको बिकल्प छैन्। कृषि, उद्योग व्यापार र पर्यटनलाई उच्च प्राथमिकताका साथ अगाडि बढाईनेपर्छ। तर दिपायलमा राजधानी हुनुपर्ने माग सदासदा रहिरहेन छ। हामिले दिपायल राजधानीका लागि थुप्रै प्रयासहरु गर्याै।
७ नम्वर प्रदेशको राजधानी दिपायल नै किन भनेर बिज्ञ र यहाँका जानकारहरुको लेख सार्वजनिक गर्याै। प्रदेश स्तरिय महोत्सवको आयोजना गर्याै। हाम्रो मागलाई सम्बोधन कुनै पनि सरकारले गरेन, आन्दोलनका क्रममा बार्तामा बोलाउन त परै जाओस घाइतेको उपचारमा समेत सरकारले ध्यान दिन सकेन।
हामीले ईतिहास बिर्सिनुहुन्न। डोटेली राज्यको ६ सय ५४ बर्ष पुरानो ईतिहास मेटाउने काम कदापि डोटेली जनतालाई स्विकार्य छैन्। यहाँ राज्यको अर्बौ लगानी छ। यहाँ भएका संरचना बाझो हुने अबस्थाको श्रृजना नहोस। डोटी लगायत पहाडी ७ जिल्लालाई बिकासको पहुचबाट उपेक्षित नगरियोस।
यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक र मनोरम स्थान खप्तड, बडिमालिका, अपि, सैपाल, रामारोशन लगायतका पर्यटकीय गन्तब्यको प्रचारप्रसार र पुर्वाधारमा जोडदिन सबैसंग आग्रह छ। पश्चिम सेती र बुढिगङ्गा लगायतका नदिनालामा जलविद्युत परियोजना निर्माण गर्न र गौरिफण्टा दिपायल ताक्लाकोट सेति लोकमार्ग र महाकाली करिडार सञ्चालनका लागि राज्यका निकायहरुसंग जोडदार माग गर्दछु।
यहाँ भएको कृषि उर्वर भुमिमा आधुनिकिकरण मार्फत किषानहरुलाई अगाडि बढाउन प्रेरित गरियोस। उद्योगहरु संचालनका लागि राज्यबाट कर छुटको व्यवस्था गरि उद्योगहरु सुचारु गर्न व्यवसायीहरुलाई उतप्रेरित गरियोस। माघ ३ र असोज १२ गतेका दिनलाई डोटेली जनताले कालो दिनका रुपमा ग्रहण गर्नेछौ।
आन्दोलनका क्रममा कुनै नेता पार्टीलाई हाम्रो ऐजेन्डाबाट चोट पुगेको हुनसक्छ। हाम्रो कसैसंग ब्यक्तिगत रिसिवी कदापि होईन। आफ्नो अधिकारका लागि आन्दोलनका समयमा भएका प्रतिरोध प्रति बैमनस्यता नराखिदिन आग्रह गर्दछु।
लेखक दीपक वहादुर खड्का आन्दोलनका अगुवासंगै होटेल व्यवसायी संघ डोटीका अध्यक्ष र डोटी उद्योग वाणिज्य संघका महासचिव पनि हुन्।