सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब बेपत्ता बालक खोज्न कञ्चनपुर प्रहरीलाइ सीसीटिभी फुटेज सहयोगी बन्यो...

तस्बिरः बाया बेपत्ता भएका बालक र दाया सीसीटिभी फुटेजमा उनी राजमार्ग क्षेत्रमा हिँडिरहेको दृष्य
तस्बिरः बाया बेपत्ता भएका बालक र दाया सीसीटिभी फुटेजमा उनी राजमार्ग क्षेत्रमा हिँडिरहेको दृष्य
२०७७ चैत्र १९, ०९:२४ जनक विष्ट

धनगढीः कञ्चनपुर प्रहरीलाई बुधबार दिउँसो भीमदत्त नगरपालिका–१८ गोबरियाबाट १२ वर्षीय बालक बेपत्ता भएको खबर आयो।

बालककी आमाले प्रहरीमा बालकको फोटो, हुलिया र उनी घरबाट बेपत्ता हुनुको कारणसहित खोजीका लागि निवेदन पेश गरेकी थिइन्।

प्रहरीले बालक हराएको घटनालाई गम्भीरता पूर्वक लिएर तत्कालै अनुसन्धान थाल्यो। जिल्ला प्रहरी कार्यालय बालकको खोजीका लागि प्रहरी निरीक्षकको कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन गर्यो भने प्राविधिक कोणबाट पनि अनुसन्धान थाल्यो।

महेन्द्रनगर बसपार्क सहितका सम्भावित सबै क्षेत्रमा खोजी गर्दा समेत बालकको पत्तो लागेन। तत्कालै प्रहरीको एउटा टोली सीसीटिभी क्यामेराको फुटेज विश्लेषणमा जुट्यो। 

सोही क्रममा भीमदत्त नगरपालिकाको समन्वयमा बजार क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेराले बालकलाई दृष्यमा कैद गरेको प्रहरीले भेटायो।

घरबाट करिब साढे ९ बजेतिर निस्केका उनी १० बजेर १५ मिनेटको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगतको ब्रह्मदेव रोड नजिकैको क्षेत्रमा देखिए। 

सीसीटिभी क्यामेराको फुटेजमा उनी पैदल हिडिरहेको देखिन्थ्यो। १० बजेर ३६ मिनेट जादा बालक पूर्वपश्चिम राजमार्गमै रहेको बजाज शोरुमबाट अगाडी बढेको देखियो।

उक्त सीसीटीभी फुटेजका आधारमा बालक कैलालीतर्फ हिँडेको निष्कर्षमा प्रहरी पुग्यो। र बालकका परिवारका सदस्यलाई भ्यानमा राखेर राजमार्ग क्षेत्रमा खोजीमा जुट्यो। 

बालकको खोजी गर्दै कैलाली पुगेको प्रहरीलाई बुधबार राति करिब ९ बजेको समयमा अर्को सूचना प्राप्त भयो–अत्तरियास्थित बसपार्कमा अपरिचित बालक रहेको। 

तत्कालै कञ्चनपुरको प्रहरी टोली त्यहाँ पुग्यो। कैलाली प्रहरीको समन्वयमा उनको उद्दार गरियो। 

उनी भीमदत्त नगरपालिका–१८ की निर्मला महराका १२ वर्षीया छोरा थिए। “सीसीटिभी फुटेजका आधारमा हामीलाई खबर प्राप्त भएको ९ घण्टा भित्रै बालकको उद्दार गर्न सफल भयौँ,” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा भन्छन्, “ बालक कुनै खालको अप्रिय घटनामा परेनन्, यो हाम्रो टिमको सफलता हो। ”

बालककी आमा भन्छिन्, प्रहरीको राम्रो रेस्पोन्सले छोरा भेटियो 

बेपत्ता भएका बालककी आमा निर्मला महराले आफ्नो छोराको खोजीका लागि प्रहरीले समयमै देखाएको तदारुकताको प्रशंसा गरेकी छन्।

“म बारीमा गहुँ काट्ने बेला सानो बाबु (७ वर्षको अर्को छोरा) लाई घरमा एक्लै छोडेर हिँडेछ,” उनले भनिन्, “केही बेर आफैले खोजी गर्दा नभेटेपछि दिउँसो मात्र प्रहरीलाई खबर गरेकी थिए। उहाँहरुले राम्रो रेस्पोन्स गरेकै कारण बाबु भेटियो। सहयोग गर्ने सबैमा धन्यवाद दिन चाहान्छु।”

के भएको थियो घटना ? 

सरकारले वायु प्रदुषणका कारण अहिले विद्यालयमा सार्वजनिक विदा दिएको छ। बुधबार बिहानै कक्षा  ५ मा अध्ययनरत १२ वर्षको छोरा र २ कक्षामा अध्ययनरत छोरालाई खाजा खुवाएपछि होमवर्क (गृहकार्य) गर्न आमा निर्मलाले आग्रह गरिन्। 
तर १२ वर्षको छोरा (बेपत्ता भएका)ले होमवर्क नगर्ने भनेपछि निर्मला रिसाइन्। आमा रिसाएपछि उनी र कान्छो भाइबीच झगडा पर्यो। 

फेरी आमा निर्मला ‘तिमी ऊ भन्दा ठूलो हौँ किन कुरा बुझ्दैनौँ।’ भन्दै रिसाउछिन्। र दुवै दाजुभाइ मिलेर होमकर्व गर भन्दै आफू गहुँ काट्न खेततिर हिडिन्। तर उनी गहुँ काट्न गएको केहीबेरमै ती बालक भाइलाई कोठामै छोडेर आफू बसपार्क जाने भन्दै घरबाट निस्के। 

आमा गहुँ काटेर फर्किने बेला करिब साढे ११ बजिसकेको थियो। उनी घरमा पुग्दा कान्छो छोरा ढोका थुनेर रुदै बसेको थियो भने जेठो छोरा थिएन। कान्छो छोराले उनलाई दाजु घरबाट अन्यत्रै जान्छु भनेर हिडेको कुरा सुनाए।

त्यो खबर सुन्दा उनी निकै आत्तिन पुगिन्। र छिमेकीको सहयोगमा खोजीमा जुटेकी थिइन्। अन्ततः उनले दिउँसो प्रहरीमा निवेदन दिइन्। र बालक सकुशल फेला परे। 

*बालकका अभिभावकको अनुमतीमा समाचारमा उनको फोटो प्रयोग गरिएको हो। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस