सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक सडक दुर्घटनाले कसरी बदलिदियो बैतडीका ट्रक चालक रमेश पन्तसँगै परिवारकै भाग्यरेखा

२०७७ चैत्र १८, ०४:०४ जनक विष्ट

धनगढीः बैतडीको पाटनका रमेश पन्त र लक्ष्मी महराको पारिवारिक सल्लाह अनुसार १० वर्षअघि मागी विवाह भएको थियो। पेसाले सवारी चालक रहेका रमेशले लक्ष्मीलाई जीवन संगिनीका रुपमा पाएपछि दुबै जनाको जीवन ठीकठाक चलिरहेको थियो।

पाटनकै स्थानीयको ट्रक चलाउँदै आएका रमेशमाथी दैनिक प्राप्त हुने ज्यालाले लक्ष्मीसहित परिवारका अन्य सदस्यको भरणपोषण गर्नुपर्ने जिम्मेवारी थियो। सानो भाइ डम्बरलाई पनि आफूसँगै काम सिकाइरहेकाले उनी पनि सोही ट्रकका सहचालक थिए।

दाजुभाई जहाँ गएपनि सँगै आउने जाने गर्थे। मिलीजुली मीठोमसिनो खाएर उनीहरुको जिन्दगीको यात्रा ठीकै चलिरहेको थियो। उता घरमा श्रीमती लक्ष्मी र ४ वर्षको छोरा आकाश पनि हासीखुसी दिन कटाइरहेका थिए।

तर एउटा सडक दुर्घटनाले रमेश पन्तको जिन्दगी नै बदलिईदियो। घटना २०७५ साल माघ १५ गतेको हो, जुन दिन रमेशको जीवनमा कसैले कल्पना नै नगरेको ठूलो बज्रपात परिदियो। महेन्द्रनगरका लागि समान लिएर फर्किने क्रममा उनले चलाएको ना ७ ख १३८३ नम्बरको ट्रक दाङको रिहारमा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किन पुग्यो।

एकपछि अर्को अस्पताल

उनले घटनास्थलमैँ होस गुमाए। सँगै रहेका भाइ डम्बरलाई गम्भीर चोट नलागेका कारण उनकै हारगुहारमा रमेशको त्यहाँबाट चाँडो उद्दार भयो। बेहोस अवस्थामा कोहलपुर मेडिकल कलेज पुगाइएका रमेशको कोहलपुरमा उपचार सम्भव भएन।

कोहलपुर मेडिकल कलेजले उनलाई भारतको लखनउ लैजान सुझायो। लखनउ पुगाएको ७३ घण्टापछि रमेशका आँखा खुले तर उनी होसमा थिएनन्।

डाक्टरले लखनउमा रमेशको घाँटी र हातको शल्यक्रिया गरेर काटिएका नसाहरु जोडिदिए। तर उनी बोल्न सक्ने भएनन्।

रमेशको बेहोस शरीरलाई ४ महिना जति लखनउकै रिलेक्स हस्पिटलमा राख्दा पनि अवस्थामा सुधार नभएपछि मनको धोको पूरा गर्न परिवारले ३ महिना जति भारतको इरर हस्पिटलमा राखे।

स्वास्थ्यमा कुनै सुधार हुने छाँटकाँट नदेखिएपछि उनलाई परिवार घर ल्याउने निर्णय गर्‍यो। त्यतिन्जेल सम्म उनको उपचारमा लाखौँ खर्च भइसकेको थियो।

 

 

बेहोस रमेश पन्तको बैतडीको यात्रा

लखनउबाट धनगढी ल्याइएका रमेशलाई उपचारका लागि काठमाडौँ लगियो। तर पैसा अभाव भएपछि उपचार सम्भव भएन र अन्ततः पुनः रमेश पन्तलाई बैतडीको पाटन स्थित घरमा लगियो।

बेहोस अवस्थामै घरमा बसिरहेका रमेशलाई करिब ३ महिनापछि अलिअलि होस् आयो। पूर्ण रुपमा बेहोस उनले अब बिस्तारै हातखुट्टा चलाउन थाले। अब परिवारलाई उनी पुरानै अवस्थामा फर्किन्छन् कि भन्ने आशा पलायो।

बैतडी घरबाट अत्तरिया डेरा

पहाडबाट फेरी रमेशलाई उपचारका लागि तराई ल्याइयो। कैलालीको अत्तरियामा मासिक ३ हजार डेरा गरेर बसिरहेकी रमेशकी श्रीमतीलाई उनी बिस्तारै होसमा आएदेखि पुनः पुरानै अवस्थामा फर्काउन सकिन्छ की भन्ने आशा पलाएको छ।

किनकी रमेश बोल्न नसकेपछि अहिले बिस्तारै मान्छे चिन्न थालेका छन् भने दायाँ र बायाँ दुईजनाले शरीर थमाइदिएपछि आफैँ हिड्ने प्रयास गर्छन्। अत्तरियामा रहेको सगुन थेरापीमा दैनिक थेरापी गर्न थालेपछि स्वास्थ्यमा सुधार हुँदै जान थालेको हो।

तर थेरापी गर्न दैनिक ६ सय रुपैयाँ तिनुपर्छ। त्यो पैसाको जोहो गर्न नसकेपछि लक्ष्मी रमेशलाई फेरी पहाडमै लैजाने सोचमा छिन्।

भन्छिन्, “अहिलेसम्म थेरापी गरेको करिब १ लाख रुपैयाँ तिर्नु छ तर खै कहाँबाट तिर्ने हो पत्तो छैन।”

एक्लै हेर्न नसक्ने भएका कारण केही समय रमेशसँगै दुर्घटनामा परेका भाइ डम्बर कुरुवा बसेका थिए। तर उपचार त कता हो कता कोठा भाडा तिर्ने पैँसा समेत नभएपछि अहिले उनी पनि आफ्नै काममा फर्किएका छन्।

थोर थोरै भएपनि डम्बरले दाजुको उपचारका लागि पैसा दिन्छन् तर उनको कमाइले धान्दैन्। अहिले रमेशको छोरा ७ वर्षका भएका छन्। आमाबुवा अत्तरिया बसिरहेपनि उनी पहाडमै छन्।

इसाराले छोरा खै भन्छन्

कक्षा २ मा पढिरहेका छोराको मायाले रमेशलाई सताइरहन्छ। बोल्न नसकेपनि इसाराले छोरा खै भन्छन् उनी। पहाडमा रहेका सबै जनालाई यतै ल्याउन आग्रह गर्छन्। तर श्रीमतीले पहाडमै जाउँ कि भनेर सोध्दा अब बोल्न सक्ने भएपछि मात्र जाने भन्छन्।

लक्ष्मीसँग रमेशको हेरचाहका लागि उनका भाइ बसिरहेका छन्। काठमाडौँमा उपचार गराउने क्रममा डाक्टरले घाँटीको नसाहरु उल्टापुल्टा जोडिएका कारण उनी बोल्न नसक्ने भएको भनेका थिए।

त्यतिन्जेल उनी बेहोस अवस्थामै भएका कारण शल्यक्रिया गर्न कठिन हुने तर १÷२ वर्षपछि होसमा आएमा शल्यक्रिया गरेर ती नसाहरुलाई ठीक तरिकाले जोड्न सकिने भनेका थिए।

फेरि शल्यक्रिया गराउने धोको

एउटा हात पनि शल्यक्रिया बिग्रिएकै कारण पूर्ण रुपमा चल्न नसक्ने अवस्थामा छ। रमेशको श्रीमती र परिवारको धोको छ, उनको घाँटी र हातको पुनः शल्यक्रिया गराउने। तर उपचारका लागि चाहिने पैसा छैन। त्यसैले अहिले उनको परिवार सबैसँग सक्दो सहयोगको अपेक्षामा छ।

‘अहिलेसम्म उपचारमा ३०/३५ लाख रुपैयाँ जति खर्च भइसक्यो।

“दुर्घटनाका बेला ट्रक व्यवसायी समितिले सहयोग गरेको थियो तर नसक्नेपछि पछि छोडिदियो,” उनकी श्रीमती लक्ष्मी भन्छिन्। “‘बाँकी रकम बिमाबाट गरेका थियौँ। तैपनि ५÷६ लाख रुपैयाँ ऋण लागिसक्यो। पैसाकै समस्या भयो। मेरो श्रीमान बोल्न नसक्ने भएपनि आफै हिँड्डुल गर्न सक्ने थिए भन्ने आशा थियो।

“अहिले सबै आमाबुवा, दाजुभाइ दिदीबहिनी मलाई तपाईहरुको सहयोगको आवश्यकता परेको छ।”

गहभरी आँसु बनाउँदै उनले भनिन्, “श्रीमानलाई सन्चो भए मेरो जिन्दगीमा पनि अलि सुधार हुने थियो। घरमा मेरो ७ वर्षको सानो छोरा पनि छ। त्यसको जिन्दगी पनि‍‍...।”

 

सहयोगको याचना

घाइते अवस्थाका राम पनि सबैसँग आफ्नो उपचारका लागि आग्रह गर्छन्। उनी सबैबाट सहयोग पाउनेमा पनि आशावादी छन्।

रमेशकी दिदी राजेश्वरी बिष्ट भन्छिन्, “भाइको उपचारका लागि हामीले पनि सहयोग गयौँ। गाउँलेहरु पनि रकम उठाएर दिएका थिए त्यो सबै तिर्न बाँकी नै छ। अब ‘खै कसरी तिर्ने हो। सानो बाबुको भविष्य कस्तो हुने हो। भाइको उपचारका लागि सबैसँग सहयोगको याचना गर्छु। निको भएर घर जान्छु भन्छ।”

उनको परिवारले सहयोग गर्न इच्छुक दातालाई सम्पर्कमा आएर सहयोगको लागि अनुरोध गरेको छ। त्यसका लागि दाताले ९८६४९९२२०४ वा ९८४८७७७३५८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस