सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्णानन्द भट्टको काव्यिक यात्रामा रमाउँदा

२०७५ असोज १३, ११:०९

       छाला बाँच्दछ बाघको मृत्युपछा–हड्डी किरा शंख्यको
        मान्छे बाँच्दछ कर्मले युगयुगौं–ऊर्जा थपी सौर्यको ।
        सेवामा दिनरात नित्य जसको–संघर्ष भो जीवन
        आत्मा बाँच्दछ देह जल्छ उसको–भन्छन् गुणी सज्जन ।।

बाघको मृत्युपश्चात छाला उपयोगी र शंख्य कीराको हड्डी पूज्य सामग्रीको रुपमा रहिरहन्छन् तर मानवको न छाला न त हड्डी नै अमर हुनसक्छ । मानवको सदैव अमर र अजर रहिरहने कुरा हो ः कर्म । समाजका लागि बाँचेका मानिसहरूको काम र नाम समाजले बाचई राख्दछ युगौँयुगसम्म । कुनै पनि व्यक्ति, अरूभन्दा केही फरक हुनु उसको निजी विशेषता हो र त्यही निजी विशेषता नै उसको पहिचान हो । साहित्य साधना र सिर्जनालाई आफ्नो जीवनको मुख्य लक्ष्य बनाई आफ्नो पृथक पहिचान बनाउन सफल एक स्रष्टा हुन् ः पूर्णानन्द भट्ट । कर्मले बाँचेका तथा सिर्जनाले नाँचेका भट्ट सुदूरपश्चिममा बसेर यहाँकै प्रकृति, संस्कृति, सभ्यता र चालचलनले सिँगारिएका ओजपूर्ण काव्य रचना गर्ने अब्बल प्रतिभा हुन् । “संसारमा मनुष्यत्व दुर्लभ छ, मनुष्य भए पनि विद्या प्राप्ति दुर्लभ छ , विद्या प्राप्ति भए पनि कवित्त्व दुर्लभ छ र कवित्त्व प्राप्त भए पनि प्रतिभा दुर्लभ छ ।” भनी पूर्वीय साहित्याचार्य मम्मटले भनेका छन् । यिनै दुर्लभ प्रतिभा मध्येका पूर्णानन्द भट्टले पनि सुलभ रुपमा आफ्ना गहन सिर्जनामार्फत समाजमा चेतनाको बीजारोपण गरेको पाइन्छ । साहित्य सिर्जना आफैमा कठिन कर्म हो अझ सबैको मन जित्ने तथा हृदयलाई स्पर्श गर्न सक्ने सिर्जनात्मक खुबी कमैमा पाइन्छ । सु.प क्षेत्रमा लेख्य साहित्य त्यति विकास नभएको अवस्थामा कलम चलाई समृद्धिको बाटोमा दोह¥याउनु चानचुने कुरा हुँदै होइन –

            यो साहित्य कदापि हैन खहरे, उर्लेर बग्ने भल
           रोपी खेत र बागमा उनिउँमा, लाग्दैन पक्का फल ।
           सानो उद्यमले सजिन्न सजिलै, बाँझो धरा बञ्जरा
           छोप्यौ काव्य कला खुला गगनका, उड्दै गरेका चरा ।।

बाँझो धरामा बीउ रोप्ने अथवा सु.प. थलीमा साहित्यको आधुनिक बाटोलाई विस्तृतीकरण गर्ने तमामौं अग्रज स्रष्टाको महŒवपूर्ण भूमिका रहेको छ त्यही भूमिका कुशलतापूर्वक निर्वाह गर्ने व्यक्तिको सूचीमा अग्रपङ्क्तिमा जोडिन्छन् पूर्णानन्द भट्ट पनि । सुदूरपश्चिम भाषा, कला र संस्कृतिको सौकार हो । यहाँको लोक डेउडा, फाग धमारी भोलाउलो, भजन, चैत आदि नै आधुनिक नेपाली साहित्यका जग 
हुन् । यहाँका खोलानाला डाँडाकाँडा र सुरम्य भू–आकृति आफैमा मीठा कविता हुन् भने नदीको सुस्याहट, हावाको सिरेटो र चराको चिरिबिरी कहिल्यै नसकिने अथक संगीतका सुमधुर धुनहरू हुन् । यिनै पहाडका सुसेली र चराका स्वरसँगै आफ्नो कला मिसाउँदै आएका पूर्णानन्द भट्ट नेपाली साहित्यका लागि अविस्मरणीय बन्न पुगे । भाषा, कला साहित्य र संस्कृतिको विकासबिना राष्ट्र सम्वृद्धिको सपना अधुरो रहन्छ नै त्यसकारण चेतनाको दियो बालेर लेखनीमार्फत समाज परिवर्तनका उज्याला किरणहरू छरिरहने लेखक सदैव सम्मानको पात्र बन्न पुग्दछन् । प्रशंसनीय एवम् अनुकरणीय कर्मले परिचित व्यक्तित्व पूर्णानन्द भट्टको सामान्य परिचय यसरी उल्लेख गर्नु सान्दर्भिक ठहर्ला –
जन्म र जन्मस्थानको परिचय
साहित्यकार पूर्णानन्द भट्टको जन्म वि.स. १९९० पौष २४ गते घण्टेश्वर गा.वि.स. बडाखेत, जोरायल (हालको जोरायल गाउँपालिका–३) डोटीमा भएको हो । पिता स्व. मनीराम भट्ट र माता स्व. दुर्गादेवी भट्टका जेष्ठ सुपुत्र पूर्णानन्द सानैदेखि जिज्ञासु र अध्ययनशील प्रकृतिका थिए । प्राकृतिक सौन्दर्यमा अलंकारले अलंकृत वडाखेत साहित्यको लागी पनि उर्वरभूमि बन्न पुग्यो । ‘विश्वसंस्कार दीपक’, ‘युग संक्रमण’, ‘तत्त्व बोध रामायण’ जस्ता उत्कृष्ट कृतिका कृतिकार महादेव भट्टको जन्मस्थान पनि बडाखेतमै हो भने वर्तमान समयमा साहित्यमा कलम चलाईरहने मुरलीधर भट्ट पनि बडाखेतमै जन्मनुभएको हो । पहाडी क्षेत्र, ग्राम्य परिवेश, डोटेलीसंस्कार एवम् संस्कृतिले सजिएको सामाजिक पृष्ठभूमिमा हुर्किएका स्रष्टा पूर्णानन्द भट्ट जन्म र जन्मभूमिको नाम राख्न सफल व्यक्ति हुन् । 

पारीवारिक अवस्था
“झुपडीभित्र नै खोपडी भएका व्यक्ति जन्मिन्छन् ।” भन्ने भनाइ पूर्णानन्द भट्टको जीवनसँग मेल खान्छ । सामान्य एवम् गरीब परिवारमा हुर्किएका भट्टका आमाबुवाको पेश कृषि थियो त्यो पनि व्यावसायमूलक नभई गुजरामुखी मात्रा । त्यही कारणले गर्दा उनी र उनको परिवारले तमामौं आर्थिक संकटको पीडा भोग्नु प¥यो । व्यायभार बढेर ऋण लागेको कारण सोबाट मुक्तिको लागि १५÷१६ वर्षकै उमेरमा उनले परवासको नोकरी गर्नुपर्ने अवस्था सिर्जना भयो र ७÷८ वर्ष जति बम्बै (भारत) मा बिताए । उनले त्यहाँ आर्थिकोपार्जन मात्र गरेनन् साहित्य र राजनीति दुबै क्षेत्रमा चासो देखाई रुचिका साथ विविध क्रियाकलापमा पनि सहभागिता देखाए त्यसै संर्घषको फलस्वरुप साहित्य जगतका नक्षेत्र बन्न पुगे ।

           फुल्छन् लालिगुँरास भासुभिरमा संघर्षका कारण
           थप्छन् सायद आँट आत्मबलले, बाँच्ने कला अर्पण ।

घर जगका आधारमा उभिन्छ भने मानिस आत्मबलका कारणले उभिन्छ । समस्याबाट विचलित नभई सामाधानमा लाग्नु उत्तम उपाय हो वा प्रतिकूल समयमा काम गर्नु नै महानता हो । पूर्णानन्द भट्ट आँट, साहस र संघर्षका कारण जीवनलाई सार्थक बनाउने व्यक्ति हुन् । जोरायल अवस्थी गाउँ निवासी परमानन्द अवस्थी र धौलीदेवी अवस्थीकी सुपुत्री बासुदेवीसँग वैवाहिक जीवनमा गाँसिएका भट्टका २ सन्तान, हरिचन्द भट्ट र रामचन्द्र भट्ट छन् । वि.स.२०४० साल १२ महीना १९ गतेका दिन पूर्णानन्द भट्टले पत्नी वियोगको पीडा भोग्नु प¥यो यस घटनाले उनलाई निकै दुःखी तुल्यायो । बडाखेत डोटीबाट वि.स. २०६९ सालमा स्थायी रुपमा बसाईसराई गरी कृष्णपुर न.पा., गुलरिया, कञ्चनपुरमा बस्दै आएका भट्ट आफू यो संसारमा नरहेता पनि उहाँको परिवार गुलरियामा बस्दै आएको छ ।

शिक्षादीक्षा
सानो उमेरमा गाउँकै पाठशालामा र त्यसपश्चात सीताराम उ.मा.वि. उच्चाकोटमा अध्ययन गरेका भट्टको औपचारिक शिक्षा कक्षा १० सम्म सीमित  रह्यो । एस.एल.सी.को प्रमाण पत्र प्राप्त गर्नेसम्मको अध्ययन पनि गर्न नपाएका व्यक्तिले उच्च क्षमता र समाज रुपान्तरणका लागी बलिया प्रमाणहरू छोडेर 
गए । उच्च तहको शिक्षा आर्जन गर्न नपाए पनि स्वाध्यायनकै कारण ज्ञानले भकारी भरे र चेतनाको कुटुरो फुकाउँदै हिँडिरहे साहित्यका मार्गमा । मूलतः पूर्णानन्द भट्टले समस्यालाई पढे, समाजलाई पढे, आफ्नो मौलिक संस्कृति र चालचलनलाई पढे, पहाडका खोलानालालाई पढे, माल हिमालको सभ्यतालाई पढे, र ओकाली, ओराली, गौण–गोरेठो हुँदै चिल्ला रोडमा आफ्नो यात्रा पु¥याई समाजका लागि अनकुरणीय र सम्मानयोग्य बन्न पुगे । 

प्रकाशित कृतिहरूः
अभिषाप

वि.स. २०३५ सालमा प्रकाशित ‘अभिषाप’ खण्डकाव्य पूर्णानन्द भट्टको पहिलो कृति हो । सामाजिक विषयवस्तुमा लेखिएको यस कृतिमा नारी÷छोरीका लागि समाजमा थुप्रै अभिषापमूलक कुप्रथा र कुविचारहरू रहेको र मान्छेले मानवीय धर्म लत्याई पैशाका लागि जे पनि गर्ने गरेको दुष्प्रवृत्तिको विरोध गरिएको छ । काव्यमा दयाराम र मायालु मुख्य पात्रका रुपमा आएका छन् जो वास्तविक प्रेमजोडीका उदाहरणीय नमूना पनि हुन् । मायालु बिक्री भई फर्किए पश्चात दयारामसंग भेट हुन्छ र यिनै बीचको संवाद त कतै एकलापीया कथनमा कथानक अगाडि बढेको छ । काव्यमा, छोरीको मर्म, भावना र भविष्यलाई पनि ख्याल नगरी पैशाको आधारमा बिक्री गर्ने चलनका कारण नारीका मनमा उब्जिएका द्वन्द्वको यथार्थ प्रस्तुत गरिएको दखिन्छ । बेचविखनमा परेकी सम्पूर्ण सुकुमारीकी प्रतिनिधी पात्र मायालुले यसरी बेचिनुलाई धर्ममाथिको दाग, छोरीलाई छिट्टै विधवा बनाइने खेल, पशुकोजस्तो व्यवहार, लुगाकपडाको जस्तो व्यापार, घनाशैल छुटाई डाँफेलाई मरुभूमिमा पठाइनु, सुकेको बोटमा कोपिला जोड्नु जस्ता मार्मिक पक्षसँग तुलना गरेकी छन् । समाजमा रहेका यस्ता कुप्रथाको अन्त्य गर्न वीरङ्गना बनी आफै लड्ने समेत उद्घोष गरेकी छन् । छोरीबेटी बेचबिखन प्रति मायालुको अभिव्यक्ति–

           कि तिम्रा वेदमा यस्तो मासु बेच्ने छ मन्त्र कि
           कस्ले हो त्यो बनाएको कहाँ वेद पढ्यौ यति ।

           मैले आफै बनाएको मासुको मूर्ति हो भनी
           हकै हो बेचने मेरो नभन्नु मूर्खझैं बनी ।

    ८० वर्षका बुढासँग वैवाहिक जीवनमा बाँधिएकी मायालु छिट्टै नै विधुवा हुन्छन् तर उनमा यौवनावस्थाका उन्मादहरू र रहरहरू विधवा हुन मान्दैनन् । सामाजिक परिबन्धका कारण शृङ्गारविहीन अवस्थामा बस्नु परे तापनि उनी एकान्त ठाउँ, वनपाखा तथा रातिको समयमा शृङ्गारले सजिने गर्दछन् र दिउँसो रातो सारी लुकाउने गर्दछन् त्यही प्रसंगमा मायालुको अन्तरमनको प्रस्तुति यसरी प्रस्तुत हुन्छ ः

         सारी त बाकसैभित्र, चोरेर दिन राखुँला
        यी मेरा लालछन् गाला, कस्का सन्दुस जाँकुला ।

अन्त्यमा मायालु र दयारामबीच प्रेम सम्बन्ध एवम् घरवारको अवस्था आउँछ । मायालुलाई सन्तान पनि प्राप्त हुन्छ तर दुःखद कुरा आफू बेचिएको गाउँको वनबाट मायालुको अपहरण हुन्छ । अपहरणकारीबाट पशुवत व्यवहार सहेकी मायालु इज्जतमा दाग लागेको सम्झी आत्महत्याको बाटो रोज्दछिन् । यसरी अभिषाप खण्डकाव्य दुःखान्तमा गएर टुङ्गिन्छ । भुजङ्गप्रयात, अनुष्टुप, शार्दूलविक्रीडित र स्रग्धरा छन्द प्रयोग गरी लेखिएको ‘अभिषाप’ खण्डकाव्य एक उत्कृष्ट कृति हो ।  अन्त्यानुप्रास, वृत्यानुप्रसा उपमा, वक्रोक्ति, अतिशयुक्तिजस्ता शब्दालङ्कारले अलंकृत कृतिको कारुणिक सौन्दर्य उच्चस्थानमा पुगेका छ । 
डोटेली लोकलहर 
             वि.स. २०३७ सालमा प्रकाशित ‘डोटेली लोक लहर’ डोटेली लोक गीती लयमा लेखिएको कृति हो । लहर, चुनाव, पतिपर्देश जानेबेला, सेतीकाली संवाद, बाग्मती वर्णन, सेतीकाली साहित्य सम्वाद र आमाको विलापहरू बारे, जस्ता छुट्टाछ्ट्टै शीर्षकमा समाजमा रहेका यथार्थ कुरालाई चित्रण गरिएको छ । मानिसका विविध खाले चरित्रको चित्रण गर्ने क्रममा लेखकको विश्लेषण यस्तो छ ः
             निको मान्छ गाली दिए, शर्मले मरन्छ
             नाकमै गु लाएबर, क्वै त सुतिन्छ ।

      गाउँ समाजमा ठूलाठालुले गल्ती गर्ने र त्यसको मारमा गरीब तथा निर्धाजनले सजाय भोग्नुपर्ने अन्यायपूर्ण निर्णय रहेको कुरा यथार्थ हो । यस कृतिमा पनि दृष्टान्तसहित यस्ता कुराहरू प्रस्तुत भएका छन्–

            जगीका मुखैना खेट्टा,केला खानो धनी
           पुलिसले जगी मा¥यो, केला खायो भनी
           गौँभरि मुसाले खायो, बोक्यो दुलादुला
           भ्यागुताका खुट्टा काट्यो, जम्मै भए लुला ।

    चुनावमा मानिसहरूले नैतिक, मूल्य मान्यता बिर्सेर पैसामा आफ्नो मत बिक्री गर्ने गरेको स्वभावको विरोध गर्दै आफू पशुसमान बिक्री नहुने संकल्पका साथ अरुलाई पनि देश, समाज र समग्र विकासका लागि योग्य व्यक्ति छनोट गर्न आग्रह गरेका छन् । यस्तो कुरा प्रस्तुत गर्न पनि हाम्रो लोक जीवन पद्धतिका संस्कारहरू उदाहरणको रुपमा राख्नु कविको मौलिक क्षमता हो । जस्तै ः

        समैजीको धामी, भए, दै दूध खाने हो
        मसानीको धामी भए, उपडी जाने हो ।

    यस कृतिमा सेती र कालीको संवाद त्यसैगरी श्रीमानले श्रीमतीसँग छुट्टिएर परदेश जानुको पीडा र माया प्रेमका अन्तर हृदयका कुराहरू पनि समावेश गरेका छन् । जुवा तास, मदिराजस्ता कुलतका कारण समाजमा विकृति बढेको र यसले परिवार र व्यक्ति कसैलाई लाभ नपु¥याएको समस्यामूलक अवस्थाको चित्रण यस कृतिमा पाइन्छ –

       इन् चेलाकी इसी गति, और भे सरापी
       यै दारु काट्टाका लागी, देशै भ्या खराबी ।

प्रचलित कथ्य डोटेली भाषामा लेखिएको ‘डोटेली लोक लहर’ मौलिकताले भरिएको उत्कृष्ट कृति हो । नेपाली समाजमा देखिएका अनेकौं पीडा, कष्ट अन्याय, अत्याचार र विभेदको यथार्थ चित्रण गर्दै सम्पूर्ण जनताको पक्षमा काम हुनुपर्ने र भ्रष्ट एवम् समुन्नत समाज निर्माणका बाधकले कर्म अनुसारको फल भोग्नुपर्ने कामना कविको छ, जो सम्पूर्ण सत्कर्मकारी मानवको कामना पनि हो–

        निका मान्छ्या खोकरामा, दै दूध लट्की जाऊ
        घुस खान्या खोकरामै, जौँ झुस अट्की जाऊ ।

    डोटेली भाषामा प्रयुक्त हुने उखान टुक्काको समुचित प्रयोग भाषिक सशक्तता, बिम्ब प्रतीकको प्रयोग, व्यङ्ग्य चेतना, आशावादी सोच आदिका कारण सफल एवम् सबल कृति डोटेली भाषामा लेखिएको अमर कृति हो । 

कविता तरङ्ग
    वि.स. २०३९ सालमा प्रकाशित ‘कविता तरङ्ग’ पूर्णानन्द भट्टको फुट्कर कविताहरूको सँगालो÷संग्रह हो । सबैजम्मा ३२ ओटा कविताहरू संग्रहित यस कृतिका कवितामा शार्दूलविक्रीडित, भुजङ्गप्रयात, शिखरिणी, वसन्ततिलका, स्रग्धाराजस्ता शास्त्रीय छन्दको प्रयोग  गरिएको छ । मानव र मानवेत्तर पात्र वा चरित्रको शीर्षक चयन गरी समाजको बेथिति, विकृति र समस्यालाई कवितामा प्रस्तुत गरिएको छ । यस कृतिमा रहेका ‘जालको माहुरी,’ ‘दोढुङ्गे तरुल,’ ‘दुब्लो गाई,’ ‘धानको बुटा,’ ‘कमलको फूल’ ‘ठुटे विकासको पुत्र,’ ‘डाँफे चरा,’ ‘लाली चरा,’ र ‘स्वर्गमा पिजडाको चरा,’ शीर्षकका कविता पीडित पक्षका पीडा, व्याथा, र आवाजहरू मिसिएका कविताहरू हुन् । प्रकृति र मानवेत्तर पात्रको प्रयोग गरी लक्ष्यणार्थ रुपमा मानव समाजको चित्रण गर्नु उच्च बौद्धिकताको शालीन अभिव्यक्ति हो । यी कविताहरूमा मानवेत्तर पात्रमार्फत मानवीय समाजको यथार्थता झल्किएको पाइन्छ । यस सँगालो भित्रका कुकुर, सर्प र जुको शीर्षकका कविता शोषक वा पीडक स्वभावको परिचय दिने कविता हुन् । स्वभावगत दृष्टिले नीच मानिएका कुकुर सर्प र जुकोका स्वभावहरू कवितामा वर्णन गरी प्रतीकात्मक रुपमा मानवमा देखिएका मानवहीन चरित्रको चित्रण गरेको पाइन्छ । यस कृतिमा रहेका चोखी दमिनी, चटुवा र बटुवा, गंगा र खोला वाद विवाद र कोइली र सुगा संवादात्मक शैलीमा लेखिएका कविता हुन् । यी कवितामा पनि विभेद र अन्यायका बारेमा चित्रण गर्नुका साथै यस्ता कार्यको विरोध गरिएको छ । यस्तै म गरीब शिशु, कवितामा पीडा र आशा, दानी कवितामा अनावश्यक गफ गरी जस लिने प्रवृतिको विरोध, विषको खोजी, कवितामा निराशा, हत्याको भावी धन, कवितामा चेतना, राम महिमा कवितामा भक्तीवादी चिन्तन, देमाण्डौं कवितामा स्थान परिचय उखान कवितामा आफू मरे डुमैराजा भन्ने उखानको परिचय, पुत्र शोक, कवितामा आफ्ना कविताहरूलाई पुत्र सम्झी टङ्कणमा आएको अशुद्धताले भाषा र भाव मरेको भन्दै आत्मपीडा, मानवता कराएको कवितामा मूल्यवृद्धि र क्रयबिक्रयमा देखिएको समस्या, पतिव्रता नारी कवितामा आहारमा ध्यानदिनु पर्ने कुरा, ‘भैसेकोटमा भुषण सभा’ कवितामा बाहिरी पहिरन र देखावटीका आधारमा मूल्यमङ्कन गर्ने परम्पराको विरोध, मनवीर कवितामा शरीरका अंगप्रत्याङ्गलाई छोरा र धर्तीलाई आमाका रुपमा चित्रण, साहित्य वेग कवितामा साहित्यबाट नै भोक र प्यास मेटी अमर कीर्ति राख्ने प्रतिज्ञा, मधुर बेला कवितामा साहित्य लेखनको चिन्तन र समयले गर्दा सबैतिर मन विचरण गर्ने र त्यही कारणले सुख वा दुःखको अनुभूति हुने कुरा अभिव्यक्त, लाल कवितामा लालरङ्ग प्रतिको अरुका सकारात्मक र नकारात्मक दुबै तर्कको प्रस्तुत गरिएको छ । अत्यन्तै प्रभावकारी विचार र भावको संयोजन गरी लेखिएका कविता सबैप्रिय र मनलाई छुने खाले छन् । यस कृति भित्रका केही काव्यात्मक अभिव्यक्तिहरू यहाँ प्रस्तुत गर्न सकिन्छ–
जालको माहुरी कवितामा–
           व्यर्थैमा नफसाउ जाल घरमा, यो छोड पापीपना
           छोडेनौं त भने वसन्त ऋतुले, गर्ने छ गाली यहाँ ।

म गरीब शिशु कवितामा–
                 म पालेर पोषेर कोरेर केश
                 मुमा खर्च खोजी पठालिन् विदेश ।

दोढुङ्गे तरुल कवितामा–
             हे ! दाता म भविष्य जन्म नदिनु, ढुङ्गो हुने ठाउँमा
            पूरा वैश नपाइ फेरि सुकुला, उम्रेर यो भूमिमा ।

कुकुर कवितामा–
       चाँदीका हार पैहृेर गलैंचामा लडे पनि
       श्वान ती भुक्न छोड्दैनन् यो मेरो गुण हो भनी ।

भैंसे कोटमा भूषण सभा कवितामा–
         मेरा ता मनमा भयो पछि यहाँ, भौंसी सिंगारी अनि
         ल्याऊँ की कवि हुन् ठुला भनि यहाँ लौ हेर भाई भनी ।

गंगा खोलाको वाद विवाद कवितामा–
           बग्ने ठाउँ कहाँ छ यो धरणिमा, देखाई देऊ हिन !
           खोलालाइ दवाइ गर्दन थिची, अन्याय गर्छौ किन ?
           ठूला सागर छन् यही भुवनमा, गम्भीर शान्तै जहाँ
           जस्मा हुन्छ अथाह जो जलभरी, साथै मिलेको त्यहाँ ।

राँको शीर्षकको कवितामा–
           कालाले सूर्य ढाक्यो ग्रहण छ नभमा छैन केही उज्यालो
           नांगो नांगो अँध्यारो दिन पनि रनजी अन्धकारै छ कालो
           यस्तो देखेर मैले दिन पनि पथमा आज राँको जलाए
           देखेँ देखेर लेखे ! गुणिजनहरू ! मूर्ख सौ लाख पाए ।

वनदेवी

वि.स. २०४० सालमा प्रकाशित ‘वनदेवी’ खण्डकाव्य वर्तमान समयमा चरम समस्याका रुपमा रहेको वन विनास र यसले नित्याएको जोखिम एवम् समस्यामा केन्द्रित खण्डकाव्य हो । यस कृतिमा वनको विनास देखेर हृदय छट्पटिएका महात्माद्वारा वनमा वनदेवीको स्तुति गरिन्छ र सोही स्तुतिले वनदेवी प्रकट भई विभिन्न प्राकृतिक सम्पदाको विनास भएको अवस्था बारे चित्रण गर्नुका साथै नीति चेतना एवम् ब्रम्हज्ञान छर्ने काम गर्दछन् । वनजंगल विनासका कारण वनमा पुतली हराएको, मौरी मरेको, न्याहुली चरी रोएर अन्तै गएको, पानी सुक्नाले मानिसले आकासको प्रतीक्षा गर्नु परेको, हरियो वन मरुस्थलमा परिणत भएको, प्रकृति रित्तिएको र टाँठाबाँठाको व्यक्तिगत कोष भरिएको,मृग अभाग्यी भएको, कविका लागि पनि अनुकूल वातावरण नरहेको जस्ता घत लाग्दा कुराहरू वनदेवी मार्फत काव्यमा प्रस्तुत भएका छन् । मानिसले प्रकृतिको संरक्षण गर्नुको साँटो उल्टै भूमिकाविहीन अवस्थामा प्राप्त गरेको उपलब्धिलाई निरन्तर रुपमा तोड्ने काम भइ रहेको कुरा कृतिमा उल्लेख गरिएको छ । जोड्न नसक्नेलाई तोड्ने अधिकार हुँदैन भन्ने भनाई रहे तापनि मानिसले तोड्ने काम मात्रै गरेको प्रति कविको चिन्ता छ ः
         तिनीले पालेका न यस वनका सुन्दर चरा
         न जस्ले पालेका रमण वनका मिर्ग विचरा
         न तिन्ले रोपेको यस वनभरि वृक्ष कहिले
         सबै नासै पा¥यो गतिविधि हराएर अहिले ।

समाजमा जान्नेमान्य एवम् प्रतिष्ठित व्यक्तिबाट नै वन विनासको कार्य भई रहेको छ । जसले वनसंरक्षणका चर्का नाराहरू लगाउँछ उही नै वन विनासमा बढी सक्रिय देखिन्छ अर्थात मुखमा रामराम बगलीमा छुरा भन्ने उखान यस सन्दर्भमा पनि चरितार्थ भएको कुरा यस कृतिमा यसरी समावेश भएको छ ः
          पुगे टाठा बाठा खल निपुणका चष्ट चतुरा
          महाज्ञानी ध्यानी हृदय कपटी कण्ठ चतुरा
          ठूला जान्ने मान्ने मुख भजन मीठा मन बुरा
          धरैका पेटैमा अति असल काट्ने नव छुरा ।

प्रकृति आमा हुन्, आमालाई लुट्नु एवम् आमाको हत्या गर्नु नीचता हो । आमाबाट माया, प्रेम स्नेह एवम् आमालाई अहित नहुने गरी सुविधा लिनु स्वभाविक र सामान्य भए तापनि मानिसले विध्वंस र विनासबाट स्वार्थपूर्ति गर्ने दुष्टता देखाई रहेको छ । यस सन्दर्भमा वनदेवीले दुष्ट मानिसलाई पशुभन्दा पनि नीच ठहर गरेकी छन्–
        कसैले आमाको शिर लुछि दियो दुष्टमतिका
        पशु प्राणीभन्दा तिनि किन भए नीच गतिका
        विधाताले यस्तो विधि किन रच्यो दो किसिमको
        यिनी आत्मालाई खतम गरी बस्ने मनुजको ।

वनको राष्ट्रिय सम्पत्ति बेचेर अर्थात वनको जडीबुटी र बोटबिरुवा विनास गरी कमाएको सम्पत्तिले धनी भएका व्यक्ति पछि ब्रम्हपुराण यज्ञ लगाएर ब्रम्ह प्राप्त गर्छु भनी नक्कली ढोग गर्ने गर्दछन् त्यस्तो अशुद्ध धन र नक्कली पुकारले धर्म प्राप्त गर्न नसकिने कुरा काव्यमा वनदेवीले महात्मालाई सुनाएको छ । कविले वनदेवी मार्फत समग्र मानव समुदायलाई सुनाउन चाहेका केही शलोकहरू–
        अशुद्ध धनको पूजा नास्तिक नाच लाउँछ
        शुद्ध आर्थिक पूजामा सत्यले स्थान पाउँछ ।

        ढुङ्गामा पद्य रोपेमा फुल्दैन कहिले पनि
        तालमा पद्यको बीज स्वयम् सिर्जन हुन्छ नि ।
        यौटाको हक ल्याएर त्यो अर्का दक्षिणा दिनु
        त्यो दानवी कलभन्दा बरु पूजा नगर्दिनु ।

प्रकृति प्रेम र मानवतावादी चिन्तनले भरिएको वनदेवी खण्डकाव्यको अन्त्यतिर  शान्ति–अशान्ति, धर्म–अधर्म, पाप–पुण्य, दुःख सुखजस्ता कुराहरूको पनि दृष्टान्तसहित छोटा व्याख्या गरिएको छ । यस कृतिकी मुख्य पात्र वनदेवी, गंगा बहेजस्तै वनको पहिलेको सौन्दर्य, वर्तमानको पीडा भविष्यको चिन्ता र ब्रम्हज्ञान एकोहोरो रुपमा महात्मालाई बताई अन्तध्र्यान भएकी छन् । शिखरणी छन्दलाई मूल छन्द बनाई लेखिएको कृतिमा अनुष्टुप र शार्दूलविक्रीडित छन्दको पनि प्रयो भएको छ । ९ भागमा संरचित वनदेवी खण्डकाव्य भूत, वर्तमान र भविष्यको वनविनासको पीडा बोकेको उत्कृष्ट कृति हो ।

गाउँ कला
        वि.स. २०४० सालमा प्रकाशित गाउँकला चम्पुकाव्य हो । गद्य र पद्य मिश्रित हुनु नै चम्पु काव्यको प्रमुख विशेषता हो । यस कृतिमा कथानक अनुसार परिस्थिति अनुकूल हुने गरी सुगठित एवम् प्रभावकारी रुपमा गद्य र पद्यको प्रयोग भएको देखिन्छ । गाउँ समाजमा सामन्त शोषक एवम् मुखियाले सोझा, निर्बल र गरीबलाई कसरी आफ्नो वशमा राख्दछन् र वशभन्दा बाहिर गएको खण्डमा दबाउन के–कस्ता जाल षडयन्त्र र कपट रच्दछन् भन्ने कुरा यस कृतिमा घाम लागे जस्तै छर्लङ्ग पारिएको छ । मूलतः गाउँकला काव्यमा, हत्याकला, जाली कला, कपटकला, अनैतिककला, र अत्याचारको कला विरुद्ध निरन्तररुपमा सत्यकला एक्लै लडिरहेको र अन्त्यमा सत्यले नै विजय प्राप्त गरेको देखाइएको छ । पाँच ओटा कला अर्थात पाँच ओटा भागमा विभाजित गाउँकला चम्पुकाव्यको संरचनालाई यसरी हेर्न सकिन्छ ः
प्रथम कला
    यस भागमा सबैभन्दा पहिले प्राकृतिक सौन्दर्यमा रमाउँदै गरेको गुण्टेको परिचय दिइएको छ । जसअनुसार गुण्टे एक अनाथ केटो हो । ऊ अत्यन्तै तीक्ष्ण बुद्धि भएको र सिर्जनात्मक क्षमताले पूर्ण छ । गुण्टेका बुवाको चलअचल सम्पत्ति हडपेर त्यही गाउँको भुवनलालले गगनराजबाट उसको नाम गुण्टे राखेको छ । उमेर बढ्दै गए पशचात गुण्टे सत्यवतीसँग वैवाहिक जीवनमा काँधिन पुग्दछ । एकदिन साँझ खेतमा हलो र जुवा पु¥याएर आएको गुण्टेले दोस्रो दिन गोरु लगेर जोत्न जाँदै खेतमा हलो र जुवा भेट्टाउदैन । हलो र जुवा त भुवनलालले दाउरा बनाई जलाई सकेको हुन्छ । ‘आफै बोक्सी आफै झाँक्री’ भनेझैं  भुवनलालले गुण्टेलाई जुवा चोर्ने व्यक्ति चन्द्रपुरका हुनसक्ने सम्भाव्यता बताई खोजी गर्न आग्रह गर्दछ । खोजी गर्न गएको गुढटेले जुवा खेलेको बारेमा हुँदै गरेको वहस सुन्दछ, “यो जुवा चोरीको हो, चोरीको जुवामा ठूलो स्वर मच्याउनु हुँदैन ।” यस्तो सुनीसके पश्चात गुण्टेले आफ्नो जुवा चोरेको रहेछ भन्ने ठान्दछ । कोही आए जुनी फर्काई दिने” भन्नेजस्ता कुराहरू सुनेर फर्किरहेको बेला जुवाको खालबाट रामे आउँछ र जुवाको प्रचार नगरी दिनु होला भनी आर्थिक प्रलोभन देखाउँछ । गुण्टेले त्यसको प्रतिउत्तरमा यस्तो भन्दछ ः
        यहाँ चोखो चाँदी मन पवन मेरो छ अहिले
        कवारी त्यो कालो जनमभर म मिस्दैन कहिले ।

त्यहाँबाट घर फर्किएको गुण्टेलाई भुवनलाल भेट्छन् र जुवाको खोजबारे प्रश्न गर्छन् । आफूले देखेको र भोगेको कुरा गुण्टेले बताएपछि भुवनलालले गुण्टेलाई रामे विरुद्ध जुवा चोरेको मुद्धा निवेदन दिन आग्रह गर्नुका साथै आफै निवेदन लेखिदिन्छन् ।

दोस्रो कला
    गाउँकला कचहरीबाट रामेको नाममा सूचना जारी हुन्छ । सोही अनुरुप त्यहाँ उपस्थित भएको रामेले जुवाको निर्णय नहुन्जेल कचहरीको चौकीमा बस्नुपर्ने 
हुन्छ । हाकिमले फैसलाका लागि कचहरीको नियमानुसार रु २० ल्याएर आउन गुण्टेलाई सूचना दिएपछि जोरजाम गरेर रु २० जम्मा गर्दछ । जम्मा गरेको रु २० साँझ श्रीमतीको हातमा दिने बेला, “यो वीस अहिले राखी देऊ भोलि हाकिमलाई दिनु पर्ला” भनेर भन्दछ, यो कुरा बाहिरबाट सुनिरहेको भुवनलालले गुण्टेले विष अर्थात जहर दिएर हाकिमलाई मार्न लगेको उजुरी गाउँ कलामा पेश गर्दछ । जाल, षडयन्त्रका कारण गुण्टेले थुनामा थुनिनु पर्ने अवस्था आयो । त्यही थुनामा थुनिएको रामेसँग भेट भएपश्चात ती दुईबीच वादविवाद र केही कुराहरू हुन्छन् । बुझाइको कमी तथा अस्पष्ट सुनाइले आफूले निवेदन दिएको कुरा गुण्टेले महसुस गर्दछ । यद्यपि ऊसँग भने प्रस्तुत गर्दैन ।

तेस्रो कला
    गाउँकला कचहरीमा फैसलाका लागि डाकिएको रामेले जीत प्राप्त गर्दछ । भुवनलालकै काका हाकिम हुनु र भुवनलालले नै जुवा खेल्नको लागि पैशा दिनुले उसको पक्षमा भुवनलाल उभिनु र हाकिमले छुट्करा दिनु सामान्य कुरा हो । कचहरीमा बोलाइएको गुण्टेलाई भने विष ल्याउने अपराधीको आरोप लगाउँछन् त्यहाँ उपस्थित सबैको एकै स्वर “गुण्टे अपराधी हो” भन्ने हुन्छ । त्यसैको प्रतिउत्तरमा गुण्टे भन्दछ, “लाखौं नाराको झंकार बजे पनि एउटा सत्य जति हजारौं पापको पुञ्ज शक्ति चल्दैन –
            जसै यौटै मात्रै रवि किरणको ज्योति नभमा
            अगान्ती ताराको छवि हरण गर्दिन्छ छिनमा
            त्यसै यौटै सत्य स्फटिक मणि सेता नजरमा
            हजारौं पापीको मुख मलिन होला समयमा ।”

अन्याय, अत्याचार गर्नु,कुट्नु पिट्नु, छाला झिक्नु, देश डुबाउनु,धर्म गुमाउनु, आदि कुरा सामान्य थिए भुवनलालका लागि । त्यसकारण सभामै सबैले गुण्टेलाई सामूहिक रुपमा कुटपिट गर्दछन् र भुवनलाल गुण्टेलाई इनारमा फाल्न तम्सिएको बेला विधिवत गुण्टे फुत्किन सफल भई त्यहाँबाट भागेर घरमा लुकेर बस्दछ ।

चौथो कला
    इनारमा हुत्याउने बेला हातबाट फुत्केको गुण्टेदेखि रीसले मुर्मुरिएको भुवनलाई रातभरि निद्रा लाग्दैन । दोस्रो दिन बिहानै सत्यवतीमाथि आक्रोस पोख्नुका साथै अनेक धम्कीहरू देखाउँछ । सत्यवतीले पनि सहने शक्ति भंग भएको कारण प्रतिकार गर्ने उद्घोष गरेकी छन् । अरुणी बगैंचाको एकान्त कुञ्जमा साहित्य सिर्जना गरिरहेको गुन्टेलाई भुवनलाल र भुवनलालको छोरा पवनलाल मिलेर हत्या गरी खोलामा बगाई दिन्छन् । यता सत्यवती आफ्नो एक वर्षको बालक घरमा छोडी अनेक विलाप गरी श्रीमानको खोजीमा निस्कन्छन् त्यही मौकामा सत्यवतीको छोरो धर्मराजलाई भुवनलाले पानी नभएको कुवामा फली दिन्छ । एकजना ब्रह्मण यजमानको घरबाट फर्किने बेलामा कुवामा बालक रोएको आवाज सुन्दछन् । बालकलाई देखे पश्चात यसरी फाल्ने व्यक्तिलाई अपराधी, अधर्मी, मानवहीन भन्दै बालकको उद्धार गरी घरमा लगेर पालनपोषण गर्नुका साथै पढाइलेखाइ पनि गराउँछन् । पढाइकै फलस्वरुप धर्मराज प्रधान न्यायाधीश बन्न सफल बन्दछन् । यता सत्यवती पति तथा पुत्र दुबै गुमाएपछि त्राणका लागि माइती घरमा 
जान्छन् । ३६ वर्ष माइती घरमा बसी किसान गाउँमा फर्किएकी सत्यवतीलाई पुनः भुवनलाले झुटा मुद्दा लगाउँछ । गुण्डाहरूसँग मिलेर आफ्ना पति गुण्टेको हत्या गर्ने यो अपराधी एवम् वेश्या महिला हो भनी गाउँकला कचहरीमा उभ्याउँछ । भुवनलालकै रवाफ चल्ने भएकोले हाकिमले अनुसन्धानका लागि भुवनलाललाई धन्यवाद दिन्छन र अरु सबैले पनि सत्यवतीलाई डण्डको माग गर्दछन् । अपवादमा एकजना सत्यराज हास्त्री भेटिन्छन् । भुवनलालको तर्कलाई समर्थन गर्नेप्रति संकेत गर्दै, “पशुको अगुवा पशु नै हुन्छ” भन्ने अभिव्यक्ति सत्यराजबाट आएको छ । संयोगले प्रमुख अदालतको प्रमुख न्यायाधीश धर्मराज भ्रमणको शिलशिलामा किसान गाउँको कचहरीमा पुग्दछन् । धर्मराजले त्यहाँ चलेको मुद्दा बुझी सत्यवती निर्दोष रहेको निष्कर्ष निकाली, आफू इन्साफ गर्न आएकाले इन्साफ गरेर जाने प्रतिबद्धता जनाउँछन् । 

पाँचौ कला
    न्यायाधीश धर्मराजले अपराधी पत्ता लगाउनको लागि एउटा मनोवैज्ञानिक पद्धति अपनाएका छन् । उहाँले आफूसँग अपराधी पत्ता लगाउने यन्त्र भएको भन्दै, यन्त्र लगाउने बित्तिकै अपराधीको कालो चेहरा हुने र निरापराधीको रातो एवम् अनुहार टल्किदै जाने जानकारी गराउनुका साथै सबैलाई कचहरीमा उपस्थितका लागि सूचना जारी गरेका छन् । यो सूचनाले चिन्तामा परेका भुवनलाल र पवनलाल छट्पटिन थाल्दछन् । कालो हुने डरले बजारबाट रातो रङ्ग ल्याई मुखमा दल्दछन् र सभामा उपस्थित हुन्छन् । सबैको स्वाभाविक अनुहारका बीच अस्वभाविक तरीकाले उपस्थित भएका बुवा छोरा नै हत्यारा भएको न्यायाधीशले प्रमाणित गर्दछन् । सबैले न्यायाधीशको जयजयकार गर्दछन् र अपराधी समातिएकोमा खुशी हुन्छन् । सत्यवतीमा अर्को आशा पलाउँछ र न्यायधीश सामू,“छोरा त कुन लोकमा पुगी सक्यो तर उसको घाँटीमा बाँधेको जन्तर कहाँ फलेको छ खोजी पाऊँ” भनी आग्रह गर्दछन् । सत्यवतीले पञ्चधातुको बीचमा शिवको मूर्ति र छोरा र आफ्नो नाम अंकित जन्तर छोराको घाँटीमा लगाएकी थिइन् । धर्मराजले सधैं त्यो जन्तर खल्तीमा राखेको हुन्थ्यो । धर्मराजलाई जन्तरको याद आएपछि सत्यवतीसँग अन्य प्रश्नहरू पनि गर्दछन् र आफू उहाँकै पुत्र भएको थाहा पाए पश्चात मार्मिक अनुभूतिले खल्तीबाट बीज निकालेर आमाको हातमा सुम्पेर मिलनको हर्षाश्रु बगाउँछन् । अन्त्यमा त्यस कचहरीमा उपस्थित सबै व्यक्तिहरू भुवनलालाई धिक्कार्दै  निकर्कच्चो धर्महीन, दयाहीन धनका लागि घीन लाग्दा व्यवहार गर्ने व्यक्तिका रुपमा चिन्दछन् र सत्यको विजय हुँदो रहेछ भन्ने निष्कर्षमा पुग्दछन् । 

      प्रस्तुत ‘गाउँकला’ चम्पुकाव्य मार्मिक कथा बोकेको एक उत्कृष्ट कृति हो । देखाओटी तडकभडक र रवाफका आधारमा न्याय क्षेत्र बिटुलिएको र वास्तविक न्याय दिन नसकी निरन्तर रुपमा अन्यायको फैसला गरी रहेको तीतो यर्थार्थ यसमा चित्रण गरिएको छ । सभामा न्याय दिन नसक्ने प्रति गुण्टेले यसरी खिल्ली उडाएका छन् तर पनि हाकिम लगायतका दृष्टहरूको समूहले दुष्टता बाहेक आफ्नो नैतिकता सोचेको छैन ः
                      लोकमा सत्यले भन्छ सभामा न्याय गर्नु हो
                        न्याय गर्न नजानेमा घाँस खाएर मर्नु हो ।

गाउँमा सोझासाझा जनतालाई के कसरी जालमा फसाइन्छ भन्ने कुरा भुवनलालको चरित्रबाट सहजै थाहा पाउन सकिन्छ । गुण्टेजस्ता अन्याय नसहने तर मर्नका लागि तयार हुने पात्र पनि बिरलै भेटिन्छन् गाउँघरमा । अन्याय भएको थाहा पाउँदा पाउँदै पनि पहुँचवालाको निर्णयमा सही थाप्नुपर्ने वाध्यतात्मक अवस्था भएका कारण तमामौं सोझा गरीबले गरीबीको पीडा त सहनु छ छ त्यो भन्दा बढी अन्याय र अत्याचार सहनु परेको छ । शक्ति र पदको दुरुपयोग गरी मोजमस्ती गर्ने एकदिन सत्यको फन्दामा पर्दछ र उठ्न नसक्नेगरी  ढल्दछ अथवा असत्यको भाव हुँदैन सत्यको अभाव हुँदैन भन्ने आभाष काव्यको अन्त्यमा आएको छ । दुःखै दुःख, जाल, कपट र हत्याकलाले भरिएको काव्यको अन्त्यमा सुख प्राप्त गरेको देखाइएको छ । यसरी गाउँकला, कृति, पीडा, हर्ष, उत्सुकता, जाल र अन्त्यमा सुखानुभूति गराउन सफल भएको छ ।

शान्ति–मन्दिर
वि.स. २०४८ सालमा प्रकाशित ‘शान्ति मन्दिर’ खण्डकाव्य शान्तिलाई मूल विषय बनाएर लेखिएको कृति हो । एउटा धनी योगी र अर्का ज्ञानी पात्र रहेका यस काव्यमा योगी धनी भए तापनि अशान्तिले पिरोलिएका छन् । अशान्तिले छट्पटिएका योगी शान्तिको खोजीमा पृथ्वीका विभिन्न ठाउँहरूमा पुग्दछन् । वन जंगल, कुञ्ज, खोलानाला डाँडाकाँडा तथा विभिन्न धर्मका धार्मिक स्थलहरू मस्जिद, गुम्बा, चर्च, मन्दिर आदि  आदि ठाउँमा शान्तिको खोजी गर्दछन् तर शान्ति प्राप्त गर्न सक्दैनन् । यसै विचरण गर्ने क्रममा योगीले ज्ञानीलाई भेट्दछन् त्यसपश्चात दुबैबीच प्रश्नउत्तर, विगतको भोगाई र शान्ति विषयमा कुराहरू चल्दछन् । ज्ञानीले भौतिक एवम् आध्यात्मक ज्ञानद्वारा योगीलाई शान्तितिर उन्मुख गराएका छन् । यसरी यस कृतिमा ज्ञानीमार्फत सबैलाई शान्तिको महŒव, आवश्यकता र फाइदा बारे चेतना दिइएको पाइन्छ ।
            यस जगतका सम्पूर्ण प्राणीहरू शान्ति चाहन्छन् तर पनि प्रत्येक क्षेत्र, धर्म, राष्ट्र तथा जीवन भोगाइमा अशान्ति व्यप्त छ । स्वार्थ, नाता, काम, क्रोध, लोभ, मोह आदि कारणले अशान्ति निम्तिने र यसले कसैलाई पनि फइदा नपुग्ने कुरा काव्यमा प्रस्तुत भएका छन् । हर सबैलाई शान्ति प्रिय छ भन्ने सन्दर्भमा काव्यमा कविको अभिव्यक्ति यस्तो छ –
    ब्रम्हादेखि लिएर विष्णु अथवा, द्यौता र देवीहरू
    राजादेखि लिएर रंक दुनिया, त्यागी तपस्वीहरू
    सारा प्राण पखेरु जीव जति छन् आकाश पातालमा

    भन्छन् शान्ति सबै थरी हृदयमा, यो लोक संसारमा ।
हत्या, हिंसा तथा अस्त्रशस्त्रादिले शान्तिलाई खलल पु¥याउने मानवीयताको हत्या भई दानवीपनको सम्मान हुने, ज्ञान विज्ञानको विनास हुने, देश समृद्ध हुन नसक्ने, साहित्य रुने एवम् चेतनाको दियो निभ्ने कुरा काव्यमा प्रस्तुत छन् । अस्त्र शस्त्रादि अशान्तिको स्रोतका रुपमा काव्यमा यसरी आएको छ–
        जहाँ अस्त्र शास्त्रादिको होड हुन्छ
        त्यहाँ दानवी मान सम्मान हुन्छ
        त्यहाँ ज्ञानको ज्योतिमा बिन्दु हुन्न
        कतै शान्तिको विन्दु आकार हुन्न ।

शान्ति सबैकालागि अपरिहार्य छ । यदि शान्ति कायम हुनसके संसारमै सिद्धि हुने, ऐश्वर्य भोग गर्न पाइने, विद्वताको बत्ती बल्ने आपत्तिको नाश हुने, डाँडाकाँडाले रातमा पनि उज्यालो दिने, साहित्य धारा बहने, विश्वको कल्याण हुने, र अशान्ति भएमा आत्म सम्मान नरहने, दैत्यको निवास हुने, अहंकार बढ्ने, रोगव्याधिको समस्या देखिने, मानिस विभिन्न कारणले टुक्रिने, संकष्टहरू बढ्नेजस्ता समस्याहरू उत्पन्न हुने कुरा उल्लेख गरको पाइन्छ । शान्ति र अशान्तिले निम्तिएको कुराको तुलनात्मक सम्बन्ध देखाई कहिलै पनि शान्ति अनुचित नहुने भएकाले शान्ति कायम गर्नु पर्ने कुरामा यस खण्डकाव्यले जोड दिएको छ–
        भए शान्ति संसार मांगल्य हुन्छ
        गए शान्ति संसारमा शून्य हुन्छ
        उता नाच गाना महादानवीको
        यता हुन्छ पीडा महामानवीको ।

यस काव्यबाट कवि पूर्णनन्द भट्ट अत्यन्तै शान्तिप्रमी थिए भन्ने कुरा पुष्टि हुन आउँछ । देश समाज तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत शान्ति नभएकोले कवि मनमा विभिन्न भावावेगहरू आएका हुन् । अशान्तिमा फाइदा उठाउने शान्तिको बाटो खोज्नेलाई अनौठो वा मूर्ख सम्झिनु स्वभाविक हो । यी कुराहरू पनि काव्यभित्र समावेश भएका छन् ।
        महाज्ञानको ब्रम्हको खोज गर्थेँ
        म वैराग्य डाँडा गई रात रुन्थेँ
        कुनै मूर्ख हेरी महामूर्ख भन्थो
        म ता शान्तिको खोजमा रोज रुन्थेँ ।

शान्तिको आवाज उठाउने वा वकालत गर्ने शान्ति–मन्दिर खण्डकाव्यमा शादूर्लविक्रीडित, शिखरणी, भुजङ्गप्रयात अनुष्टुप र मालिनी छन्दको प्रयोग गरिएको छ ।
प्रजातन्त्र बालक
       वि.स. २०५१ सालमा प्रकाशित ‘प्रजातन्त्र बालक’ खण्डकाव्य नेपालको राजनीतिक विषयवस्तुमा लेखिएको कृति हो । प्रजातन्त्रका लागि प्राण आहुति दिने वीर  शहीदको वीरता, साहस एवम् तपस्यालाई कलात्मक भाषाशैलीका साथ पस्कदै गौरवपूर्ण तरीकाले काव्य शुरुदेखि अन्त्यसम्म छाल हान्दै बगेको छ । २००७ सालमा लामो समयको पर्खाई, पशचात झल्किएको प्रजातन्त्र, बालक भए तापनि त्याग, तपस्या र बलिदानीबाट प्राप्त भएकोले कमजोर नभएको कुरा दृढताका साथ काव्यमा प्रस्तुत छ–
        वासन्ती वन सात साल घुमने, मै चम्कने बाल हुँ
        पृथ्वीमा अमरत्व कायम गरी, बस्ने हिरालाल हुँ
        धेरै वर्ष लडाइमा धड्कने, मै खड्क मै ढाल हुँ
        काला शासनको म भोज गरने, आहारमा काल हुँ ।

    यस काव्यमा प्रजातन्त्रलाई नै पात्र बनाई प्रजातन्त्रका हिमायतीबाट प्राप्त साथ, सहयोग समर्थन र समर्पणको प्रसंसा गरिएको छ । हरेक व्यक्तिले स्वतन्त्रता चाहने र स्वतन्त्रताका लागि २००७ उता तत्कालीन निरङ्कुश राणाशासनको अन्त्य अपरिहार्य भएको थियो । काला शासकका विरुद्धमा लड्नका लागि एकल प्रयासले सम्भव नभएकोमा सबैले साथ दिई आफ्नो उदय भएकोमा प्रनातन्त्र सबैप्रति कृतज्ञ देखिन्छ–
        मेरो नाउँ सुनेर मोहित भई, डाँफे चरी आउँथे
        स्वतन्त्री नव गीतको ध्वनि छरी, क्वैलीहरू गाउँथे
        सानो बालक थें किन्तु सबले, ठूलो सहारा बनी
        मेरा भित्र स्वतन्त्रता भरिदिने, योगी तपस्वी तिमी ।

प्रजातन्त्रको हत्या गर्न कोही आउँछ भने त्यसलाई परास्त गर्न सक्ने क्षमता आफूसँग रहेकोमा प्रजातन्त्र गर्व गर्दछ । वीरहरूको तपस्याबाट दुई ओटा वरदान एउटा रातो र अर्को सेतो पाइएको कुरा उल्लेख गर्दै सेतोलाई शान्ति र रातोलाई खबरदारीको प्रतीको रुपमा काव्यमा चिनाइएको छ ।
        झूटा नन्दितका खुला नजरमा मै सत्य निर्माण हुँ
        कोही रावण वीर बन्दछ भने मै रामको वाण हुँ

वीर शहीदहरूको बलिदानीबाट प्राप्त प्रजातन्त्रलाई सदैव टिकाई राख्न नेपाली जनता सक्षम हुने कुरा काव्यमा व्यक्त छ । नेपालीहरूको वीरताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त गरेको कुरा इतिहासमा मात्र सीमित नरहेर वर्तमानमा पनि जीवित रहेको प्रति कविमन उल्लासित छ–
        मेरो जात झुकेर हैन ढुकने श्रीकृष्ण झैं बाल हुँ
        ब्वासा स्याल धपाउने म वनमा मै बाघको काल हुँ
        अर्काको म गुलाम हैन किरिया, बाधा कमारो नहुँ
        अन्तर्राष्ट्रिय वीर वाहक बनी घुम्ने प्रतिष्ठा म हुँ ।

समग्रमा ‘प्रजातन्त्र बालक’ प्रजातन्त्रका पक्षधरहरूको संयुक्त आवाज हो । यसमा, वीरता साहस, आशा क्रान्ति उमंगका साथसाथै संकाको पनि आभाष मिसिएको छ । मानवीय स्वतन्त्रताका लागि जन अनकूलको शासन पद्धति हुनुपदर्छ भन्ने मान्यता राख्ने कविले ठूलो संघर्ष तथा कयौंका घरबार विग्रेर, कयौं अपाङ्ग भएर, कयौं पीडाहरू सहेर प्राप्त गरेको उपलब्धिको संरक्षण एवम् संवद्र्धन गर्ने काम सबैको भएको प्रति सचेत गराएका छन् ।
नानोजात्क (छोरो बच्चा)
      वि.स. २०५६ मा प्रकाशित ‘नानो जात्क’ (छोटो बच्चा) डोटेली लोकलय अर्थात गीति छन्दमा लेखिएको कृति हो । डोटेली भाषालाई हिन्दीमा अनुवाद गरी संगै राखिएको यो द्विभाषिक कृति हो । राजनीतिक विषयवस्तुमा केन्द्रित यस कृतिमा २००७ सालको जनक्रान्ति र प्रजातन्त्रको उदय, २०१७ सालमा प्रजातन्त्रको हत्या र पञ्चायती व्यवस्था, २०३६ सालको बहुदलीय आन्दोलन र २०४६ सालको जनआन्दोलन जस्ता राजनीतिक परिवर्तनका घटनाक्रमहरू प्रस्तुत गरिएको छ । २००७ साल अघिको निरङ्कुश राणा शासनको कारण जनताले खेप्नु परेको दमन, शोषण, पीडा कष्ट एवम् त्रासदीको चित्रण गर्दै काव्यमा मानवीय गुण नभएका राणाहरूलाई जंगलका हिंस्रक जन्तु स्याल, मल्पासा, कुर्रे आदिसँग तुलना गरिएको छ –
        मल्पसा भितर पसी, कोर्ङा काटी दिन्थे
        मह खाएर मौरा ढडा दूर खिति दिन्थे ।
        जंगलका जीवजन्तु खलामै नाँचन्थे
        वनारसी सणेजसा कातिक मानन्थे ।

    २००७ सालमा प्रजातन्त्रको उदयका निम्ति चलेको आन्दोलनमा जनताको बलले शोषकहरू अपाङ्ग भएको वा कमजोर भएको कुरा काव्यमा विम्बात्मक तरीकाले नै प्रस्तुत छ । संणेको सिङ् टुटेको, गोली लागेर स्यालको मृत्यृ भएको हिंस्रक जनावरको विचल्ली भएको देखाएर तत्कालीन राण शासकहरूलाई नै संकेत गरिएको छ । २००७ सालको आन्दोलनको सार्थकता एवम् जनताको विजय स्वरुप आएको प्रजातन्त्र पश्चात सबै जनतामा त्रास हटेर केही आशा र स्वतन्त्रताको अनुभूति आएको कुरा यथार्थ हो । यी कुरालाई काव्यमा कलात्मक रुपमा उठान गरिएको छ –        
        ठाउँ ठाउँ चौपातामा स्वाधीन लेखियो
        नानो पूर्व भुर्भुरेको उजालो देखियो ।

    पुनः २०१७ सालमा प्रजातन्त्रको हत्या भएको कुरालाई कृष्णकी मुरली खोस्नु, वसन्तमा गाउने क्वैली अन्तै जानु, फूलवारी मासिनु, चितुवा, स्याल बानरको बगाल देखिनु जस्ता प्रतीकात्मक शब्दको प्रयोग गरी मानवीय स्वतन्त्रताको ख्याल नगर्ने शासक र शासन पद्धतिको विरोध गरिएको छ –        
        पुगियो पुसको मैना सत्रसाल आयो
        झडिए क्वैराली फुल वसन्त हरायो
        पहाड जँतेले चेप्यो मदेश सणेले 
        रुने हो पुट्केको बुवो कुरणी सुणेले ।  
 

देशले भोगेको पीडा, जनताले सहन गरेको दमन वा शोषण र जनताले नै प्रतिकार गरेको निरङ्कुशताका बारेमा काव्यमा जीवन्त चित्रण छ । सदैव अर्काको थिचोमिचो, अन्याय अत्याचार सहन नसकिने कुरा व्यक्त गर्दै काव्यमा जनभावनाको कदर नगरेमा शासकको पनि भलाई नहुने कुरा स्पष्ट तरीकाले आएको छ । राणाशासनको अन्त्य, पञ्चायती व्यवस्थाको अन्त्य र राजतन्त्रको अन्त्य पनि मानवीय भावना नबुझी अधिकारको दुरुपयोग गर्ने प्रवृतिको परिणाम हो । २०४६ सालको जनआन्दोलनले प्रजातन्त्रको पुनरवाहाली गरे पश्चात पुनः जनतामा सानो आशा पलाएको कुरा काव्यमा प्रस्तुत छ । सत्यको विजयपश्चात असत्यको आवाज बन्द भएको र त्यो आवाजलाई बन्दका बन्दै राख्न खवरदारी गर्नुपर्नेकुरा पनि काव्यमा आएको छ । कविले समग्र देशलाई देवालय (माणौं) मानी देवालयको पवित्रतालाई नास गर्नेको विरोध गरेका छन्–
    असत्यका मुख बुजा सत्यको हौ पूजा
    साझी माणँै खडाउनेको अर धुजाधुजा ।

नेपालको राजनीतिक परिवेशमा डोटेलीपन तथा स्थानीय जन जीवनका अनुभूति मिसाई विम्ब,प्रतिकको प्रयोग गरी जीवन्त चित्रण गर्नुले कृति आफै जीवन्त बनेको छ । 
विलापी
    वि.स. २०६४ सालमा प्रकाशित ‘विलापी’ खण्डकाव्य, विलापी खण्डकाव्य २०४० को दोस्रो भाग हो । परदेशी जीवनको भोगाइ र अनुभूतिका साथै प्रेम, प्रवासीय पश्चात प्रमिमाको मनमा उब्जेका भावना, यस काव्यमा प्रस्तुत छन् । यस काव्यका पात्र माधव र पार्वतीका माध्यमबाट प्रेम र प्रेमिकाका विलापहरू बाहिर आएका छन् । 
    पार्वतीले विदेश नजान आग्रह गरे तापनि माधव धन कमाउनको निम्ति विदेश गएका छन् । विदेशबाट प्रेमिकालाई तीन ओटा पत्र पठाई विदेशिनुको पीडा, कारण र भोगाई जानकारी गराउँदै सम्झनाका मीठा भावहरू पनि पोखेका छन् भने यता प्रेमिकाले पनि प्रेमको सम्झनामा ३ ओटै सम्झना पत्र लेखी घर आउन आग्रह गरेकी छन् । यसरी प्रस्तुत खण्डकाव्य प्रेम र प्रेमिका छुट्टिएर बस्नु पर्दाको विलापमा केन्द्रित छ । रोजगारीको खोजीमा विदेशिनु पर्ने समस्या वर्तमान समयको ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालबाट दैनिक हजारौं व्यक्ति विदेशीरहेका छन् र विभिन्न समस्या भोगिरहेका छन् । ती पीडाहरू यस काव्यमा जीवन्त रुपमा चित्रण गरिएका छन्–

        शिरमा ऋणको भारी मनमा ठेस साहुको
        गरीबी धनको चोट दशा थ्यो फेरी राहुको ।

        छुट्यो हावापानी धरतल तथा जन्म जननी
        त्यसै सम्झी–सम्झी जहर मनमा रुन्छु म पनि
        छुट्यो बोलीभाषा दिन–दिन तथा पैहृन छुट्यो
        छुट्यो आफ्नो चालाचलन अथवा संस्कृति छुट्यो ।

विदेशमा गइसके पश्चात कोही कुलतमा फसेर श्री सम्पत्ति नास गर्नुका साथै कमाइको रुपमा विभिन्न रोगहरू भित्र्याउने कुरा पनि काव्यमा आएका छन् ।

        व्यापारी महिला बस्छिन् रोगरंग बिकाउन
        मेरा साथीहरू किन्छन् हाँसी हाँसी मनैमन ।

        धेरै पुगेर स्त्रीलाई उपहार दिइकन
        नयाँ रोगन बाँटेर फेरि रुन्छन् मनैमन ।

सुख भावना र अनुभूतिले प्राप्त हुन्छ, सन्तुष्टिले प्राप्त हुन्छ, भौतिक धनले सम्पन्न हुनु भन्दा माया प्रेम र सद्भावले सम्पन्न हुनु जीवनको सफलता हो भन्नेजस्ता आदर्शले भरिएका गहन अभिव्यक्तिहरू काव्यमा छताछुल्ल छन् । प्रेमिका पार्वतीले पत्रमा शहरिया फल भन्दा वनको काफल खाउँला, पुराना बस्त्रहरू सिलाएर लगाउँला, मीठा व्यञ्जनको बदला साग र सिस्नु खाउँला, गर्मीमा रुखको छायामा बसौँला पातको दुनामा खाना खाउँला भन्ने जस्ता कुराहरू राख्दै श्रीमती छँदाछँदै श्रीमानले विधुर र श्रीमान छँदाछँदै श्रीमतीले विधवा हुनुपर्ने दुःखद अवस्थाको अन्त्य गर्न सबैलाई स्वदेशमै काम गर्न आग्रह गरेकी छन् ।

        घर प्रिय पत्नी विधुर बनेका
        जिउँदै पतिका महिला विधवा
        गतिविधि सम्झी अब परदेशी
        खुरुखुरु आऊ अब घरहेरी ।

        रुस चीन र जापान अमेरिका र जर्मन
        अरु देशहरू भन्दा आफ्नै ग्राम छ नन्दन ।

    वर्तमान समयको समस्या र सम्भावनाहरूलाई चित्रण गरिएको काव्यमा आफ्नै देशलाई सिंगार्नु पर्ने र समुन्त राष्ट्र निर्माण गरी हर क्षेत्रको प्रेमलाई जोगाउनु पर्ने सन्देश मूल रुपमा प्रवाहित भएको छ ।
कवितामिलन
    वि.स. २०६७ सालमा प्रकाशित ‘कवितामिलन’ खण्डकाव्य तीर्थयात्री काव्य र केही फुटकर कविता समावेश भएको कृति हो । तीर्थयात्री काव्यमा जीवनभरि कुकीर्ति, अन्याय , अत्याचार तथा नैतिक मूल्य मान्यता जानीजानी लत्याई दृष्कर्म गरेर धन कमाउने र अन्त्यमा प्रायश्चित गरी पुण्य कमाउने सोच राखेका पात्रको शुरुदेखि अन्त्य सम्मको छोटो जीवन चरित्र प्रस्तुत छ । मनुष्य जीवनको पहिलो आश्रम (५–२५वर्षसम्म) मा विद्या आर्जन, सत्सङ्ग र ब्रम्हचर्य पालना गर्नु, दोेस्रो आश्रम  (२६–५० वर्षसम्म) मा धर्म एवम् नीतिमा रही धन कमाई दुःखीलाई सेवा गर्नु, तेस्रो आश्रम (५१–५० वर्ष) मा काम, क्रोध, लोभ,मोह, मद मात्सर्य त्यागी पति वा पत्नीका साथ वन प्रस्तान गर्नु र चौथो आश्रम (७५ भन्दा माथि) मा सन्यास वरण गरी परमार्थ चिन्तनमा लाग्नु पर्ने मत आध्यात्मवादी विज्ञले राखेका छन् । तर काव्यमा वर्णित पात्रले चारै आश्रममा कुकर्महरू मात्रै गरेको छ र अन्त्यमा एकमुष्ट प्रायश्चित गर्नको निम्ति देवालय दर्शन, गङ्गा स्नान र चार धाममा निस्केको छ । कुकर्मबाट कमाएको धन सम्पत्तिले हाम्रो पूजा नगर्नुहोस् भनी प्रत्येक तीर्थस्थलले तीर्थयात्रीले चढाउनको खोजेको दाना, दक्षिणा स्वीकार गरेका छैनन् ।
    हरिद्वारमा कृष्णको वाणी–
        दुःखीको पसिना बोकी पुजारी दक्षिणा भनी
        मेरा मन्दिरमा ल्याई नदिनू कहिल्यै पनि ।
    जमुनाको आज्ञा–
        फकाई शिशुलाई झैं आरती किन गाउँछौ
        सत्यमा दाग लाएर क्षमा कसरी पाउँछौ ??
    भागरथीको सन्देश–
        हिंसा रगतको भेटी मलाई नचढाउनु
        खोसेको फूल बारीको गङ्गालाई नल्याउनू ।
    केदारमा शिवजीको अनुरोध –
        भिजेका अश्रुधाराले पुष्प भेटी नल्याउनू
        हुँदैन पाप त्यो कट्टी केदारमा नआउनू ।
    आकाशवाणीमा बद्रीनारायणको आज्ञा –
        दीनका खोपडी फेडी लाखौँ भेटी भए पनि
        नल्याउनू यहाँ यात्री चढ्दैन गाथमा पनि ।
    गण्डकी गङ्गाको अभिव्यक्ति – 
        बृद्ध मातापितालाई लत्यायौ पहिले उहाँ
        मृत्युपश्चात घुमी आयौ श्राद्ध गर्छु भनी यहाँ ।

काव्यमा प्रत्येक तीर्थस्थलमा, देवगणले तीर्थयात्रीको आरधना अस्वीकार गरे तापनि त्यहाँका पुजारीले पापबाट मुक्ति गराउने आफू भएको भन्दै यात्रीलाई दान दक्षिणा दिन आग्रह गरेका छन् । यसबाट के प्रष्ट हुन्छ भने भगवानकै मन्दिरमा बसेर पनि धनको निमित्त मरिमेट्ने वा कुकर्म अँगाल्ने व्यक्ति पनि तमाम रहेका छन् । जस्तै :
        दक्षिणा हक हो मेरो कृष्णको छैन क्यै कर
        पापमुक्त म गर्दिन्छु दान देऊ सरासर ।

प्रायश्चितको निम्ति सबै धार्मिक क्षेत्रबाट अस्वीकृत तीर्थयात्री अन्तिममा मानसिक सन्तुलन गुमाई अशान्त भई गङ्गामा हाम फलेर आत्महत्या गर्दछ । जीवनभरि कुकर्म गरेर अन्तिममा प्रायश्चित गर्नुको कुनै अर्थ छैन, कालो धनले भगवानको पूजा गर्दैमा, आरती घुमाउँदैमा र तीर्थयात्रा गर्दैमा पापबाट मुक्ति मिल्दैन त्यसकारण सधैं सुकार्यहरू गर्नु पर्ने सन्देश यस काव्यमा प्रवाहित भएका छन् । 
    कवितामिलन खण्डकाव्यमा तीर्थयात्री काव्यका साथै अन्य १९ ओटा फुटकर कविता पनि समावेश गरिएका छन् । कवितामा अन्याय अत्याचारको विरोध, मानवीय गुणको खोजी, भातृत्व, स्वतन्त्रता, पारस्पारिक सद्भावको लागि आग्रह जस्ता कुराहरू समावेश भएका छन् । हालसम्म प्रकाशित मध्ये पूर्णानन्द भट्टको यो अन्तिम प्रकाशित हो ।
    माथि छोटो रुपमा चिनाइएका कृतिवाहेक पूर्णानन्द भट्टका अर्तनाद खण्डकाव्य २०३९ र विलापी खण्डकाव्य २०४० र शान्ति विज्ञान महाकाव्य (२०५३) पनि प्रकाशित छन् । यस पङ्तिकारले कृति प्राप्त नगरेको कारण सामान्य परिचय पनि उल्लेख गर्न नसकेको हो । प्रस्तुत कृतिवाहेक कवि पूर्णानन्द भट्टका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशन हुनुका साथै सञ्चार माध्यमबाट प्रशारण पनि भई सकेको पाइन्छ ।
अप्रकाशित कृति
क) दोस्रो शान्ति विज्ञान, महाकाव्य
ख) शक्तिदेवी खण्डकाव्य
ग)    रघुनाथ खण्डकाव्य
 लेखक भट्टका लेखकीय विशेषता
शास्त्रीय वर्णमात्रिक छन्दको प्रयोग
ग्राम्य परिवेश र गरीबिका कारणले उत्पन्न दुःख, पीडाको चित्रण,
शोषण, दमन, अन्याय, अत्याचार एवम् सामन्ती प्रवृतिको विरोध,
मानवभित्र मानवीयताको खोजी,
 प्रकृतिको सजीव चित्रण,
हत्या, हिंसा, विभेदले आजित भई स्थायी शान्तिको खोजी,
प्रजातन्त्र, र स्वतन्त्रताका पक्षधर,
राष्ट्र, प्रकृति र संस्कृति प्रति मानवीय कतव्र्यको बोध,
आदर्श, उपदेश, धर्म र नीति चेतना प्रवाह,
सरल सरस र सहज भाषशैलीको प्रयोग,
बिम्ब, प्रतीद्दक र अलंकारको समुचित प्रयोग,
लोकोत्ति, उखान टुक्का तथा डोटेली भाषाका शब्द प्रयोगमा रुचि
मानसम्मान
२०५५ साल भानुजयन्तीमा सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढीबाट सम्मानित हुने प्रथम कवि,  २०५६ सालमा सुदूर पश्चिमाञ्चल साहित्य पुरस्कारबाट पुरस्कृत हुने प्रथम कवि, २०५६÷०१÷२५ मा जनमत प्रकाशन बनेपाबाट अभिनन्दित, २०५६ सालमा कैलाली जनपुस्तकालय धनगढीबाट अभिनन्दित, २०६७÷०९÷२९ मा घण्टेश्वर गा.वि.स. परिषद्बाट अभिनन्दित र पुरस्कृत, २०७२ सालमा ‘देवकान्त पन्त राष्ट्रिय पं्रतिभा पुरस्कार’ प्राप्त गर्ने कवि, अलइन्डिया रेडियोबाट प्रथम पुरस्कार, (२०३४) संस्कृति पर्यटन ना. उ. मन्त्रालयबाट भानुभत्त आचार्य सत वार्षिक समारोह (२०७१) मा पुरस्कृत, कृष्ण उच्च मा.वि. (२०७१) बाट सम्मान, नेपाल सांस्कृति संघ कैलालीबाट सम्मानित (२०७१) आदि ।
निधन
 अध्ययन र लेखनमा अत्यन्तै सक्रिय पूर्णानन्द भट्ट यही कारणले खाना र सुत्नमा लापर्हवाही गर्ने गर्दथे । २०७१ माघ मसान्तको रातभरि लेखनमाव्यस्त रहे भने त्यसैको दोस्रो दिन एक्कासी बेहोस हुनपुगे । अस्पतालमा चेकजाँच गर्दा पक्षघातको समस्या देखियो । उपचारका निमित्त डिल्लीको शारद हस्पिटलमा भर्ना गरी डाक्टरको सल्लाह अनुसार नियमित औषधी सेवन गराउँदा गराउँदै वि.स. २०७३ भाद्र २० गते निधन भयो ।
अन्त्यमा,
कविका गहन काव्यिक अभिव्यक्ति तथा उच्चस्तरका कृतिमाथि कलम चलाउन खोज्नु मेरो क्षमता र योग्यता बाहिरको कुरा हो । रहरको लेखाइमा तमामौ अपरिपक्वता भेटिएला यसप्रति क्षमा चाहन्छु । कृति उपलब्ध गराई मेरो रहरलाई पूरा गरिदिन सहयोग गर्नुभएकोमा कवि पूर्णानन्द भट्टका नाति टेकराज भट्टज्यूप्रति अति नै कृतज्ञताका साथै काव्य जगतका सशक्त प्रतिभा पूर्णानन्द भट्टप्रति हार्दिक श्रद्धा सुमन !
 

कमेन्ट लोड गर्नुस