कञ्चनपुरकी बंगुर पाल्ने बाहुनी चेली ‘कला’को कमालः लोभलाग्दो आम्दानीसँगै नेपालकै उत्कृष्ट कृषक
धनगढीः नेपाली समाजमा बाहुनले बंगुर पाल्नु त परै जाओस् छुन समेत हुँदैन भन्ने सामाजिक र धार्मिक मूल्य मान्यता रही आएको छ। तर कञ्चनपुरकी एक बाहुन समुदायकी चेलीले सो सामाजिक मूल्य र मान्यताको पर्खाललाई भत्काउँन सफल भएकी छिन्।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ अमरपुर भागवती टोलकी ३५ वर्षीया कलावती भट्ट तथा उनका श्रीमान गगनराज भट्टले तिनै सामाजिक मूल्य मान्यतालाई चुनौती दिएका हुन्।
२०७० साल माघ २८ गतेदेखि व्यावसायिक बंगुर पालन व्यवसाय गर्दै आएका उनीहरूले हाल पैसा मात्रै कमाएका छैनन्, विभिन्न क्षेत्रीय तथा राष्ट्रिय स्तरको सम्मानसमेत प्राप्त गर्न सफल भएका छन्।
उनीहरूले स्थानीय सुनबारा नदी किनारमा एक विघा जग्गामा 'रिभर साइड पिग एण्ड एग्रो फर्म’को सुरुवात गरेका छन्। ४५ लाखको लगानीबाट सुरुवात गरेको उनीहरुको लगानी हालसम्म ३ करोड नाघेको छ। भने व्यवसायबाट मासिक डेढ लाख बढी बचत हुँदैआएको कलावती बताउँछिन्।
उत्कृष्ट कृषकको सम्मान
उनै कलावती र गगनले सञ्चालन गरेको फर्म आज देशकै उत्कृष्ट कृषकको रुपमा सम्मानित भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहिबार काठमाडौँमा एक कार्यक्रमकाबीच सो पुरस्कारबाट सम्मानित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फर्मको तर्फबाट उनलाई उत्कृष्ट कृषकको रुपमा सम्मानित गरका हुन्। उनीहरुको फर्म सुदूरपश्चिम प्रदेशबाट सम्मानित भएको हो। मन्त्रालयले सबै प्रदेशबाट १/१ जनाको दरले ७ फर्मलाई उत्कृष्ट कृषकको रुपमा सम्मानित गरेको हो।
उनी तथा उनको फर्म यसअघि क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भएको छ। त्यस्तै नेपाल भेटनरी एशोसिएसनले ‘एनभिए बेष्ट पिग फर्म अवार्ड’बाट पनि सम्मानित गरेको छ।
बाहुनको चेली भए पनि तपाईमा बंगुर पालन नै गर्नुपर्छ भन्ने प्रेरणा कसरी मिल्यो भन्ने जिज्ञासामा उनी भन्छिन्, 'पहिला दमाईले मात्रै लुगा सिउँथे, आजभोलि सबैले सिउँछन्। सुनचाँदीको काम पनि सबैले गर्छन्। ठूला–ठूला उद्योग खोल्छन, भने हामीले बंगुरपालन किन गर्न नहुने ? काम गरेर कोही पनि सानो हुँदैन। नहुने काम गर्नु भएन।'
बंगुर पालनको सुरुवात
उनी होटल व्यवसायी पनि हुन्। होटलबाट खेर जाने खानेकुरालाई सदुपयोग गर्न एकताका उनले एउटा पोथी बंगुर पालेकी थिइन्। पोथीबाट जन्मिएका पाठाबाट केही आम्दानी पनि लिइन्। कम समय र कम लगानीमा आएको आन्दानीबाट उत्प्रेरित भइ उनी सामाजिक मान्यतालाई पन्छाउँदै बंगरपालनतर्फ अग्रसर बनेकी हुन्।
उनको फर्ममा हाल ल्याण्डरेस, ड्युरोक, योर्क सायर, हेम्प सायर, पाख्र्रीबासलगायत उन्नत प्रजातिका बंगुर पालन गर्दै आएकी छिन्। उनको फर्ममा हाल साना ठूला गरि करिब ३ सय बंगुर रहेका छन्।
रोजगारी सिर्जना
व्यवसायले आकार लिदै गएपछि उनले ४ जनालाई रोजगारी पनि दिन सफल भएकी छिन्। योसँगै बंगुर पालन गर्न चाहाने कृषकहरुको लागि उत्प्रेरणाको माध्यम समेत कलावती बनेकी छिन्। आफ्नो फर्मबाट पाठापाठी लग्नेदेखि आफुहरुको फर्मलाई नमुना बनाएर व्यवसायको सुरुवात समेत अरुले गर्दै आएको उनी सुनाउँछिन्।
बंगुरको बजारको सम्भावना बढी भएको बताउँने उनी बंगुर बजार प्रवद्र्धन सँगै बंगुरको मासुबारे पनि सचेतीकरण गर्दै आएकी छिन्।
आफ्नो घरका सबैले बंगुरको मासु उपभोग गर्दै आएको बताउँदै उनले भनिन्–“बंगुरले सबै किसिमको पौष्टिक तत्वसहितको आहार पाएको हुन्छ। जसकारण पनि यसको मासुबाट मानव शरीरलाई चाहिने पौष्टिक तत्वहरु पाइन्छ। म त भन्छु, यसको मासु पौष्टिक तत्वको हिसाबले सर्वोत्तम हो।”
उनले फर्मबाट निस्कने कम्पोष्ट मलको प्रयोग व्यावसायिक तरकारी खेतीमा प्रयोग गर्दै आएकी छिन्।