कैलालीबाट दुई सहति तीन जना सडक आश्रित मानवको उद्धार
अत्तरिया : कैलालीबाट दुईसहित तीन जना सडक आश्रित मानवको उद्धार गरिएको छ। मेची–महाकाली राष्ट्रिय उद्धार यात्राले बिहिवार तीन जनाको उद्धार गरेको हो।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सडक आश्रित मानवको उद्धार गरिएको छ। बर्दियाको बारबर्दिया नगरपालिका– ७ बाट एक जना तथा कैलालीको घोडाघोडी नगरपालिका–२ बाट एक जना र गौरीगंगा नगरपालिका–८ बढैपुरबाट एक जना गरेर बिहिवार तीन जना पुरुषको उद्धार गरिएको हो। उनीहरूलाई मानव सेवा आश्रम, धनगढी सेवा केन्द्रमा गृहप्रवेश गराइएको छ।
झापाको मेचीनगरदेखि असोज २८ गतेबाट सुरु भएको यात्रा बिहीवार कैलालीसम्म आइपुग्दा १४५ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए। एक सय ११ पुरुष र ३४ महिलाको उद्धार गरिएको हो। उनीहरूमा दुई २ बालिका र एक बालक पनि छन्।
जानकी गाउँपालिका, बडैयाताल गाउँपालिका, गुलरिया, तारा ताल, भुरिगाउँ, चिसापानी, घोडाघोडी, बौनिया, अत्तरिया क्षेत्रको सडकमा बिहिवार सडक आश्रित मानवको खोजी गरिएको थियो
उक्त टोलीले धनगढी पुगेर शिवपुरीधाममा देउसीभैलो खेल्ने कार्यक्रम रहेको छ। साथै शुक्रवार साँझ पनि धनगढीस्थित पार्कमोडमा देउसीभैलो खेलिनेछ। मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी, वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मासहित ४७ जनाको समूह धनगढी पुगेको हो।