सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्की दुर्घटना: सुदूरपश्चिमका सडकमा मानिसको ज्यान किन जान्छ?

२०७७ चैत्र ११, ११:३८ नारायण अवस्थी

धनगढीः पूर्व-पश्चिम राजमार्गको लम्कीमा मंगलबार बिहानै भएको सडक दुर्घटनाले सुदूरपश्चिममा हुने गरेका अन्य दुर्घटना पनि सम्झाइदिएको छ। 

लम्कीमा भएको दुर्घटनामा एक महिलाको ज्यान गयो भने दुर्घटनापछि बजारमा तनाव बढ्दा प्रहरीको गोली लागि दुई जना घाइते हुन पुगे।

लम्कीको अवस्था सामान्य भइसकेपनि सडक दुर्घटनाको घटना नेपालमा नौलो होइन। त्यस्तो दुर्घटना प्रदेशमा पनि नौलो होइन।

किन असुरक्षित छ सडक यात्रा?

देशका अन्य भूभागमा जस्तै सुदूरपश्चिम प्रदेशमा पनि हरेक वर्ष सडक दुर्घटनाको संख्यामा वृद्धि भइरहेको पाइएको छ।   

गत वर्षभन्दा यो वर्ष सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटना, दुर्घटनामा परी मृत्यु हुने र घाइते वा अपाङ्ग हुनेको संख्यमा समेत बढिरहेको पाइएको छ। 

पछिल्ला वर्षहरुमा राजर्माग र सडक नजिक विकास भइरहेको बस्ती र सडक प्रयोगकर्ताको लापरबाही, सवारीको तीव्र गति, चालकको मापसे र लापरबाही, साँघुरो सडक र पुराना सवारी साधनको कारण दुर्घटना बढिरहेको  ट्राफिक प्रहरीको भनाइ  छ।

ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष सडक दुर्घटना बढ्दो क्रममा छ।  दुर्घटनामा परेर ज्यान गुमाउने र घाइतेको संख्या समेत बढेको पाइएको छ। 

सुदूरपश्चिममा आखिर किन दोहोरिईरहन्छन् लम्कीमा भएको जस्तो सडक दुर्घटना?

ट्राफिक प्रहरीका अनुसार तराईका साँगुरो राजमार्गमा तीव्र गति र पैदलयात्रु र अन्य चालकको लापरबाही दुर्घटनाको प्रमुख कारण हो। अपर्याप्त सडक सुरक्षा सावधानीका कारण दुर्घटना कम हुने कुनै संकेत छैन।

पहाडी क्षेत्रमा पनि तीव्र गति, क्षमताभन्दा बढी भार तथा बिग्रिएका सवारी साधनको प्रयोगका कारण दुर्घटनाहरू दोहोरिने गरेका छन्।    

झन्डै ५०० दुर्घटना

गत आर्थिक वर्षको साउनदेखि फाल्गुनसम्म प्रदेशभर २ सय १७ वटा  सडक दुर्घटना भएकोमा यो वर्षको सोही अवधिमा सडक दुर्घटनाको संख्या बढेर  ४ सय ४२ पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

गत वर्षको आठ महिनाको अवधिमा सडक दुर्घटनाको कारण  १ सय ७ जनाको मृत्यु भएको छ भने यो वर्ष त्यो संख्यामा बृद्धि भएर १ सय ३५ पुगेको छ। यसैगरी दुर्घटनाको कारण घाइते हुनेको संख्यामा समेत बढेको पाइएको छ। प्रहरी तथ्यांक अनुसार गत वर्षको फागुनसम्म सडक दुर्घटनामा परेर ३ सय २६ जना घाइते भएका छन् भने यो वर्ष ८ सय ७३ जना घाइते भएको प्रहरी अभिलेख छ। 

 

प्रदेश ट्राफिक  प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेब गौतमले भने, “दुर्घटना हुने कयन कारण हुन्छन् तर मुख्य कारण भनेको पैदल सडक प्रयोगकर्ताको असावधानीलाई मान्न सकिन्छ। साँघुरा सडक, पुराना सवारी साधन, तीव्र गति पैदलयात्रीको असावधानी र क्षमताभन्दा बढी भारका कारण समेत सडक दुर्घटना हुने गरेका छन्।”

लम्कीको दुर्घटना 

मंगलबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुर जाँदै गरेको  बसको ठक्करबाट लम्कीचुहा नगरपालिका वडा नम्बर १ घर भएकी २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको छ।

मृतक देवकोटालाई बसले ठक्कर दिएर घाइते बनाएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ भने मृतकका आफन्तले भने चालकले गाडी पछाडि ल्याएर हत्या गरेको आरोप लगाएका छन्। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ। 

देवकोटाको मृत्युपछि आक्रोशित भएका स्थानीयले प्रदर्शन गर्दा सो प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर ३० वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दिपक सन्ज्याल र थप एक जना गरी ३ जना घाइते भएको स्थानीयले बताउका छन्।  

कृष्णको पेटमा तथा दिपकको खुट्टामा गोली लागेको छ भने अर्का व्यक्तिको कानमा गोली लागेको स्थानीयको भनाइ छ। 

गत वर्षको तुलनामा भन्दा चालु आर्थिक वर्षको फागुनसम्मको विबरण हेर्दा दोब्बरको संख्यामा सडक दुर्घटना भएको प्रहरीको तथ्यांकले देखाएको छ। सडक दुर्घटना पनि राजमार्ग क्षेत्रमा अन्यको तुलनामा बढी हुने गरेको प्रहरीले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस