शिक्षाका लागि साइकल यात्रामा बस्नेत
धनगढीः काठमाण्डौँका देवेन्द्र बस्नेत शिक्षका लागि साइकल यात्रा अभियानका क्रममा धनगढी पुगेका छन्।
गत फागुन २९ गते दोलखा जिल्लाको भिमेश्वरबाट सुरु भएको बस्नेतको साइकल यात्रा डोटी जिल्लाको दिपायलमा पुगेर समापन हुनेछ।
हेल्प नेपाल नेटवर्क नामक संस्थालाई जनसहभागिताबाट आर्थिक सहयोग जुटाउन साइकल यात्रा सुरू गरेको बस्नेतले बताएका छन्।
हेल्प नेपाल नेटवर्कले शिक्षा, स्वास्थ्य र दैवि प्रकोपमा सहयोग गर्दै आइरहेको छ, तर कोरोना भाइरस महामारीको कारण गत वर्षदेखि विदेशमा रहेका नेपालीहरुबाट सहयोग प्राप्त गर्न नसकिएको हुँदा स्वदेशमा रहेका नेपालीहरुबाटै सकेजति आर्थिक सहयोग गर्न प्रेरित गर्न साइकल यात्रा थालेको बस्नेतले दिनेशखबको नागरिक सवाल कार्यक्रममा बताएका छन्।
बस्नेतले सर्वसारणलाई समाज सेवाका लागि आर्थिक सहयोग निम्ति प्रेरित गर्न साइकल यात्रामा निस्किएको बताएका छन्।
हेल्प नेपाल नेटवर्कले दोलखा जिल्लामा २०७२ सालको भूकम्पमा भत्किएको राजकुलेश्वर विद्यालयको ३६ कोठे भवन निर्माण गरेको छ, तर आर्थिक आभावका कारण सो विद्यालयको पुरै काम सम्पन्न हुन नसकेको थाहा पाएपछि सहयोग जुटाउन साइकल यात्रामा निस्केको उनले बताए।
साइकल यात्राको क्रममा डडेल्धुराको अजयमेरु गाउँपालिका १ मा रहेको बहादुर खडक स्मृति प्रतिष्ठानले स्थापना गर्ने पुस्तकालयका लागि समेत सहयोग संकलन गर्न डोटीसम्मको यात्रा तय गरेको उनको भनाइ थियो।
शिक्षाका लागि साइकल अभियानमा जोडिन बस्नेतले सबैलाई अनुरोध गरेका छन्। जसका लागि इच्छुकले खल्ती एप मार्फत आर्थिक सहयोग गर्न सक्ने छन्।
त्यसैगरी सानिमा बैंकको चावहिल शाखामा रहेको हेल्प नेपाल नेटवर्कको खाता नम्बर ००१०१००१००००७९१ मा समेत सक्दो सहयोग रकम जम्मा गर्न सकिने उनले बताएका छन्। तर बस्नेतले नगद पैसा आफूले भने नलिने बताएका छन्।