कैलालीमा युवतीको मृत्युः पेटमा प्रहरीको गोली लागेर घाइते भएका एकको अवस्था जटिल
धनगढीः बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन्।
गोली लागेर सोही ठाउँका ३० वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दिपक सन्ज्याल घाइते भएका हुन। कृष्णको पेटमा गोली लागेको छ भने दिपकको खुट्टामा गोली लागेको बताइएको छ।
दुवैजना कोहलपुर अस्पतालमा उपचाररत छन्। खुट्टामा गोली लागेका दिपक सामान्य रहेको तर पेटमा गोली लागेका कृष्णको अवस्था जटिल रहेको उनका साथमा रहेका आफन्त रामबहादुर चलाउनेले बताए। ‘पेटबाट गोली निकाल्न सकिएको छैन। लगातार रक्तस्राव भइरहेकाले थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लग्ने कुरा भइरहेको छ’ उनले भने।
रामबहादुर चलाउनेका अनुसार इलाका प्रहरी कार्यालयका इन्चार्जले ठाडो आदेश दिएपश्चात प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली प्रहार गरिएको थियो।
यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले भने प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय लम्की घेराउ गर्न खोज्दा भिडलाई तितर–बितर गर्न हवाई फायर गरेको बताए।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ख८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।
सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन्।
ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
कैलालीमा युवतीको मृत्युः चौकी घेराउन गर्न गएका प्रदर्शनकारीमाथि गोली चलाउँदा २ जना घाइते
युवतीको मृत्युपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा गोली चल्यो
युवतीको मृत्युपछि कैलालीको लम्की तनावग्रस्त
कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध