सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल स्तरोन्नतिको गुरुयोजना कहाँ पुग्यो ?

२०७७ चैत्र ८, ११:४३ जनक विष्ट

धनगढीः गत वर्षको माघ २५ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको उपस्थितिमा धनगढी विमानस्थल स्तरोन्नति सम्बन्धी २० वर्षे गुरुयोजना सार्वजनिक गरिएको थियो। 

नागरिक उड्यन प्राधिकरणले गुरुयोजना सार्वजनिक गर्दै स्वीकृत समेत गरिसकेको अवस्थामा अन्य प्रक्रिया थाल्न भने ढिलाइ भइरहेको छ। 

खासगरि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएपछि थप प्रक्रिया अघि नबढेको भन्दै प्राधिकरणले अर्को वर्ष बजेट विनियोजन भए काम थालिने जनाएको छ।  

नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनीयर प्रदीप अधिकारीले गुरुयोजना स्वीकृत भएपनि बजेट अभावकै कारण थप काम नथालिएको बताएका छन्। उनले चालु वर्षमा काम अघि नबढेपनि अर्को वर्ष विनियोजन भए आवश्यक प्रक्रिया सुरु हुने जनाए। 

 २२ अर्ब लगानी प्रस्ताव गर्दै काठमाडौँको रियल पाथ इन्जिनीयरिङ कन्सल्टेन्सीले गुरु योजना तयार पारेर प्राधिकरणलाई बुझाएको थियो। गुरु योजनाअनुसार विमानस्थलको स्तर बृद्धि एवंम क्षेत्रफल विस्तारका लागि २ सय ९७ बिघा जग्गा आवश्यक पर्नेछ। 

हाल विमानस्थलसँग ७० बिघा जग्गा मात्र रहेकाले २ सय २७ बिघा अधिग्रहण गर्नुपर्ने देखिन्छ। तर प्राधिकरणले गुरुयोजनापछि अधिग्रहरण गरिने जग्गाको रेखाङ्कन लगायतका काम नगरेपछि त्यस क्षेत्रका स्थानीयमा अन्यौलता बढेको छ। 

हाल कायम रहेको विमानस्थलको केन्द्रदेखि के–कति दूरीसम्मको जग्गा अधिग्रहण हुने हो भन्ने कुरा यकिन नगरिएकै कारण समस्या भएको गुनासो गरिएको छ भने ऐलानी तथा नम्बरी जग्गामा माटोको उत्खनन्को काम तीव्र बनेको छ। 

धनगढी उप–महानगरपालिका–१३ का स्थानीय जगदिश रानाले सरकारले अधिग्रहण गरिने जग्गाको चाडो रेखाङ्कन गर्नुपर्ने बताए। उनले जग्गाको रेखाङ्कन भए त्यसक्षेत्रका स्थानीयले पनि सोहीअनुसार योजना बनाउने जनाए। जग्गाको रेखाङ्कन नगरिएपछि ऐलानी र लालपूर्जा भएको जग्गामा समेत धमाधम माटो खनेर बिक्रि गर्ने क्रम बढेको उनी बताउँछन्। 

गुरुयोजना स्वीकृत भइसकेको अवस्थामा विमानस्थल स्तरोन्नतिका आधारभुत प्रक्रिया समेत नथालिएपछि यसक्षेत्रका उद्योगी तथा व्यवसायीहरु पनि चिन्तित भएका छन्। विमानस्थल स्तरोन्नति भए सुदूरपश्चिमको पर्यटन विकाससँग आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएका बेला सरकारी निकायबाट हुने ढिलासुस्तीमाथि खबरदारी गर्नुपर्ने माग गरिएको छ।

नेपाल उद्योग वाणिज्य संघ कैलालीका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले विमानस्थलको स्तरोन्नतिका लागि सरोकारवाला सबै पक्षले खबरदारी गर्न जरुरी रहेको बताए।

उनले निजी क्षेत्रसँगै स्थानीय तह, प्रदेश सरकार लगायतका निकायले स्तरोन्नतिको कामलाई अगाडि बढाउन सरकारलाई दबाब दिनुपर्ने जनाए। त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहलकदमी चाल्नुपर्ने सुझाव उनको छ। 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग रहेको धनगढी विमानस्थल सुदूरपश्चिमको प्रमुख विमानस्थल हो। 

अहिले कायम रहेको १८ सय मिटरको धावनमार्गलाई बढाएर साढे २५ सय बनाउन प्रस्ताव गुरु योजनामा गरिएको छ भने चौडाइ ४५ मिटर रहनेछ। 

त्यसका लागि हाल कायम रहेको विमानस्थलको केन्द्रदेखि झण्डै १ किलोमिटरसम्मको जग्गा अधिग्रहण हुनसक्ने अनुमान गरिएपनि रेखाङकन भएको छैन।

विमानस्थल स्तरोन्नतीका आधारभुत प्रक्रिया पूरा गरेर गुरुयोजनाअनुसार काम थाल्नुपर्ने माग गरिएको छ। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस