सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ‘बदनामित प्रधानमन्त्री स्वरोजगार’ मन जित्दै, विपन्न महिलाको सहारा

२०७७ चैत्र ६, १२:११ लखन चौधरी

धनगढीः कैलालीको गोदावरी नगरपालिका ८ फकलपुरका स्थानीय माधव चौधरी आफ्नै घर आँगन भएर सडक निर्माणको कार्य धमाधम हुन थालेपछि उनी दंग छन्।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबारे अन्य ठाउँमा निष्प्रभावी भएको सुन्दै आएका उनी सोही कार्यक्रममार्फत घर अगाडि बनिरहेको सडक देखेर खुशी छन्।

उनी भन्छन्, “यो कार्यक्रम अन्य ठाउँमा भत्ता पचाउने र झारो टार्ने कार्यक्रमको रुपमा मात्रै चिनिन्छ। म विभिन्न कार्यक्रमको शिलशिलामा धेरै घुमिरहन्छु। तर देशभरिको स्थिति हेर्दा यहाँ त धेरै राम्रो काम भएको लाग्यो।”

चालु आर्थिक वर्षमा मात्रै गोदावरी नगरपालिका वडा नं. ८ मा मात्रै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत ३ वटा सडक र १ वडा पार्क निर्माण हुँदैछ। वडास्थित जमुनानगरदेखि फकलपुरसम्म डेढ किलोमिटर, खुटिया मटियारी रोडदेखि समैजी माध्यमिक विद्यालयसम्म ८ सय मिटर र खुटिया मटियारी रोडदेखि खुटिया रोयल्टी चोकसम्म डेढ किलोमिटर सडक निर्माण भइरहेको छ।

वडा कार्यालयका अनुसारसो सडक पटानीको काम फागुन ३ गतेदेखि थालिएको छ। कार्यक्रमबाट एकातिर विकासको काम राम्रो भएको र अर्कोतिर विपन्न परिवारको जिविकोपार्जनको माध्यम बनेपछि खुशी लागेको बताउँछन् फकलपुरका भलमन्सा यमबहादुर चौधरी। अरु ठाउँभन्दा राम्रो काम भएको पनि उनको भनाइ थियो।

वडा अध्यक्ष नरेशबहादुर अधिकारीले माटो पटानी लगत्तै ग्राबेल गरेर पानी पीचसम्मको सडक स्तरोन्ती गर्ने योजना रहेको सुनाए। 

अध्यक्ष अधिकारीले भने, “सायद मलाई लाग्छ, मेसिनले यो काम गराएको भए यतिसम्मको काम हुन्दैनथ्यो कि ? तर यहाँ कार्यरत विपन्न समुुुुुुुदायका दिदी बहिनीहरुको मेहनतले काम राम्रो भएको जस्तो लागेको छ।”

सो वडामा अधिकांश विपन्न दलित समुदायका महिलाहरुले निर्माणको काममा खटिएका छन्। कोदालो र बेल्चाकाको भरमा उनीहरु निर्माणको कार्यमा जुटेका हुन्। स्थानीय विपन्न समुदायका गृहणी महिलाहरुले निर्माण गरेको सडकले एकातिर स्थानीयको मन जितेको छ। भने अर्कोतिर स्वरोजगार कार्यक्रमले आफुहरुको गुजारा चलेको भन्दै सडक निर्माण कार्यमा संलग्न महिलाहरुले खुशी व्यक्त गरेका छन्।

विपन्नको सहारा
गोदावरी नगरपालिका–८ जमुनानगर टोलकी ५० वर्षीया तारा भुल सोही कार्यक्रम अन्तरगत दिनभरि सडक निर्माणमा लाग्छिन्। नातिनातिनासँगै खेल्ने उमेरमा उनी बेल्चासँगै खेल्छिन्। तर उनको रहर नभएर बाध्यता हो।

उनले मनको पीडा फुकाइन्, “घरमा २ छोरा र ३ छोरी छन्। तर सबै विरामी छन्। कमाउने मान्छे सबै विरामी भएको र आयआर्जनको केही स्रोत नभएपछि युवा स्वरोजगार कार्यक्रमको सहारा लिनुपरेको छ। यसैले जुजारा चल्छ।”

सो सडक बनाउँने कार्यमा रहेकी ५३ वर्षीया मीना दमाइको व्यथा पनि कम पीडादयी छैन। उनको छोराहरुको वेवास्ता र उनका श्रीमान ३ वर्षदेखि विरामी भइ थला परेका छन्।

निर्माधिन एक घरको छायाँमा सुस्ताउँदै गरेकी दमाइले भनिन्, “कमाउने मान्छे पनि कोही छैन। हामी दुईटा सौता छौ। दुवै जनाको गरि ४ जना छोराहरु छन्। सवै इन्दिया बस्छन्। आफै कमाउँछन्, खान्छन्। दिदी (सौता) खुटिया नदीमा गिट्टी कुट्छिन्। बुढा ३ वर्षदेखि विरामी भएर घर बाहिर जान्न। उसलाई पाल्नलाई पनि काम गर्नुपर्छ।”

सो वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत अधिकांश विपन्न समुदायका महिला तथा युवाहरु नै छनोटमा परेका छन्।

गोदावरी नगरापलिकास्थित हरिनगर मुक्तकमैया शिविरका २२ वर्षीय अशोक चौधरीको बुवाले कमैया मुक्तीपछि सरकारबाट पाएको सानो जमिनमा ओत लाग्ने झुप्रो छ। अन्य रोजगारी नहुँदा उनी पनि सडक निर्माणको कायमा लागेका छन्।

जमुनानगरदेखि फकलपुरसम्मको सडक निर्माणमा १४ अति विपन्न वर्गका महिला तथा केही युवाहरु छन्। उनीहरुको जुजाराको माध्यम नै त्यही कार्यक्रम बन्न पुुगेको वडा अध्यक्ष अधिकारी बताउँछन्। वडाको अन्य स्थानमा जारी कार्यक्रममा पनि विपन्न वर्गलाई नै प्राथमिकतामा राखिएको बताएका छन्।

तर सो कार्यक्रम अन्तरगत समयमा ज्यालाबाफतको पैसा भुक्तानी नदिँदा खर्च जोहो गर्न अप्ठेरो पर्ने गरेको गुनासो गरिएको छ। सो कार्यक्रममार्फत काम गर्दै आएकी पुष्पा मडैले धेरै ढिलो गरि ज्याला दिँदा आफुहरु जस्तै ज्यालादारी गरि खाने व्यक्तिलाई समस्या हुने गरेको दुखेसो सुनाइन्।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस