सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका २४ स्थानीय तहमा ४१६ किलोमिटर सडक कालोपत्रे गर्ने योजना

२०७७ चैत्र ४, ०६:०६ जनक विष्ट

धनगढीः सुदूरपश्चिममा संघीय सरकारले कार्यान्वयन गर्ने स्थानीय विकास पूर्वाधार आयोजना अन्तरगत कालोपत्रेका लागि ४ सय भन्दा बढि किलोमिटर लम्बाइका २४ वटा सडक छनोटमा परेका छन्।

प्रदेशको राजधानी समेत रहेको कैलाली सहितका विभिन्न जिल्लाका २४ वटा स्थानीय तहमा ४ सय ९ किलोमिटर लम्बाइका २४ वटै सडक छनोटमा परेको स्थानीय विकास पूर्वाधार आयोजना कार्यालय धनगढीले जनाएको छ।

हालै स्थापना गरिएको उक्त कार्यालयका अनुसार पालिकाको केन्द्रदेखि राष्ट्रिय सडक सञ्जाल रहेको ठाउँसम्म कालोपत्रे सडक निर्माण गर्ने योजना अन्तरगत कैलालीमा ७२ किलोमिटरसहित स्थानीय तहकै सिफारिसमा सडकहरु छनोटमा परेका हुन्।

कैलालीमा ५२ किलोमिटरको मोहन्याल गाउँपालिकाको सिमली–बडीखर्क–बजाडी–पाण्डौन–खिमडी र  चुरे गाउँपालिकाको २० किलोमिटर लम्बाइ रहेको सहजपुर–निगाली–खैराला–चौमाला सडक कालोपत्रेका लागि छनोट गरिएको छ।

स्थानीय विकास पूर्वाधार आयोजनाका इन्जिनीयर सागर नेपालले स्थानीय तहकै सिफारिसमा ती सडक छनोट भएको  जानकारी दिए।

उनकाअनुसार कञ्चनपुरका लालझाडी गाउँपालिकामा १२ किलोमिटर, डोटीको आर्दश गाउँपालिका सहितका ५ स्थानीय तहमा १ सय २ किलोमिटर, दार्चुलाको लेकम गाउँपालिकासहितका ४ स्थानीय तहमा ५७ किलोमिटर, डडेल्धुरामा २९ किलोमिटरका ३ वटा सडक स्थानीय तहबाट छनोट भएका छन्।

यस्तै, बाजुरामा ५१ किलोमिटरका ३ सडक, बझाङमा २० किलोमिटरको एउटा, बैतडीमा ३४ किलोमिटरका २ सडक र अछाममा ५३ किलोमिटरका ३ वटा सडक कालोपत्रेका लागि स्थानीय तहबाट छनोट भएर आएका छन्।

स्थानीय विकास पूर्वाधार आयोजना अन्तरगत कालोपत्रेका लागि छनोट भएर आएका सडकमा दोहोरो लागत लगायतका विषयमा यकिन गरेर अर्को वर्षदेखि निर्माणको प्रक्रिया थालिने बताइएको छ।

ती सडकमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले संयुक्त रुपमा लगानी गर्ने भएका छन्।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस